शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड– १९ को कहर : बज्दैछ खतराको घण्टी !

उपत्यकाका कोभिड अस्पतालमा लक्षणसहितका बिरामी बढे
शनिबार, १७ साउन २०७७, ०४ : ०१
शनिबार, १७ साउन २०७७

कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यकामा लक्षणसहितका बिरामी धमाधम देखिन थालेका छन् । पछिल्लो समय उपत्यकाका कोभिड अस्पतालमा लक्षणसहितका संक्रमित बढेको पाइएका छन् । त्यसैगरी, मुलुकका अन्य शहरहरुमा पनि लक्षणसहितका  संक्रमितको संख्य बढ्न थालेपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  यसअघि  लक्षणसहितका कोरोना संक्रमित ०.३  प्रतिशत मात्रै थियो । 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ‘३० प्रतिशत लक्षणसहित कोरोना संक्रमित उपचाररत रहेको’ प्रवक्ता डाक्टर अनुप बास्तोला बताउँछन् ।   ‘अस्पतालमा उपचाररत ३० प्रतिशत संक्रमितलाई कोरोना विभिन्न किसिममा लक्षण देखेका परेको’ उनले बताए ।

यता ललितपुरस्थित पाटन अस्पताल भर्ना भएका मध्ये ‘२५ प्रतिशत लक्षणसहितका कोरोना संक्रमितको उपचार भइरहेको’ अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्मा बताउँछन् । ‘पछिल्लो समय अस्पतालमा उपचाररत संक्रमित बिरामीमा कोरोनाका लक्षण देखिन थालेको’ उनी बताउँछन् । ‘लक्षणसहितका संक्रमितलाई सामान्य ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने आदि समस्या देखा पर्ने गरेको’ उनको भनाइ छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा हाल ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ‘उपचाररत ६ जनामै कोरोनाका विभिन्न खालका लक्षण देखापरेको’ अस्पतालका कोभिड (१९) व्यवस्थापन समितिका संयोजक डाक्टर सन्तकुमार दासले बताउँछन् ।

विगतमा  नेपालमा भेटिएका संक्रमितहरुमा लक्षणरहितको बाहुल्यता थियो । लक्षणसहितका कोरोना संक्रमित भेटिएपनि उनीहरुको संख्या न्यून थियो । सामान्यतः लक्षणसहितका भन्दा लक्षणरहितबाट संक्रमण सर्ने सम्भावना न्यून हुने विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । तर पछिल्लो समयमा आएर  ‘लक्षणसहितका बिरामी बढ्दै गएको’  काठमाडौंको बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी अस्पतालका डाक्टर प्रविन नेपाल बताउँछन् ।  उनका अनुसार, नेपाल सशस्त्र प्रहरी अस्पतालमा १८ प्रतिशत कोरोना संक्रमितमा लक्षण देखिएको  पाइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचाररत ‘संक्रमितमध्ये करिब ३० प्रतिशत लक्षणसहितका अस्पतालमा बिरामी रहेको’ अस्पताल प्रवक्ता डाक्टर   बाँस्तोला बताउँछन् । सरकारले संक्रमितको संख्या बढ्दै गएपछि टेकु अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको थियो । ‘हालसम्म टेकु अस्पतालमा १ सय ६४ जना कोरोना संक्रमित उपचारको लागि भर्ना भएकोमा १ सय २६ जना कोरोना संक्रमित डिस्र्चाज भएको’ डाक्टर बाँस्तोलाले बताए । उनका अनुसार, टेकु अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ३४ आइसोलेसन शय्या छ भने  २० आइसियु रहेका छन् । यस्तै अस्पतालमा ९ वटा भेन्टिलेटरको व्यवस्था गरेको छ । ‘अहिलेसम्म कुनै पनि संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने अवस्था सृजना नभएको’ डाक्टर बाँस्तोलाले बताए ।

नेपाल सशस्त्र प्रहरी अस्पताल

काठमाडौंको बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी अस्पतालमा शुक्रबारसम्ममा ८६ जना संक्रमित उपचारत छन् । ‘हालसम्मबाट १ सय ४७ जना निको भएर घर फर्किएको’ डाक्टर प्रविन नेपालले बताए । ‘अस्पतालमा लक्षणसहितका १८ प्रतिशत बिरामी रहेको’ उनले बताए । तीमध्ये ‘एक जना कोरोना संक्रमितको आईसियुमा उपचार भइरहेको’ उनले जानकारी दिए ।  ‘सशस्त्र प्रहरी अस्पतालले संक्रमितको उपचारका लागि १ सय २० शय्याको आइसोलेसन छुट्याएको’ पनि उनले बताए । डाक्टर नेपालले जानकारी दिएअनुसार, उक्त अस्पतालमा लक्षणसहितका गम्भीर खालका कोरोना संक्रमितको उपचारको लागि २० वटा आइसियु शैय्याको व्यवस्था गरिएको छ । साथै अस्पतालमा १ सय २० आइसोलेसन शैय्या रहेको छ ।  

त्रिवि शिक्षण अस्पताल (टिचिङ)

त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा महाराजगञ्जमा हाल ६ जना कोरोना संक्रमित उपचाररत छन् । ‘शुक्रबारसम्ममा यस अस्पतालमा भर्ना भएका संक्रमित सबैजना  लक्षणसहितका बिरामी भएको’ अस्पतालका कोभिड (१९) व्यवस्थापन समितिका संयोजक डाक्टर सन्तकुमार दासले बताए । ‘टिचिङमा अस्पतालमा ३९ जना संक्रमित भर्ना भएकामध्ये ३३ जना  निको भएर घर फर्किसकेको’ डाक्टर दासले बताए । ‘हालसम्म टिचिङ अस्पतालमा उपचारको क्रममा ५ जना कोरोना संक्रमितको मृत्यु भएको’ उनले बताए । डाक्टर दासले दिएको जानकारीअनुसार, टिचिङ अस्पतालले २६ आइसोलेसन वार्डको व्यवस्था गरेकोमा १३ आइसोलेसन शैय्या संक्रमितका लागि र १३ आइसोलेसन शैय्या शंकास्पदका लागि छुट्याइएको छ ।  त्यसै गरी, त्रिवि शिक्षण अस्पतालले ४ वटा आइसियु शंकास्पदका लागि भनेर छुट्याएको छ भने कोरोना संक्रमितका लागि ५ आइसियु शैय्या व्यवस्था गरेको उनले बताए । यस्तै, कोभिड–१९ कै विरामीको उपचारको लागि भनेर उक्त अस्पतालले ९ वटा भेन्टिलेर छुट्याएको छ । कोभिड इमरजेन्सीका लागि   छुट्टै १६ शय्याको  व्यवस्था समेत अस्पताल गरेको डाक्टर दासले बताउँछन् ।

पाटन अस्पताल

ललितपुरस्थित पाटन अस्पतालमा ४० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ‘अस्पतालमा उपचाररतमध्ये २५ प्रतिशत बिरामी लक्षणसहितका रहेको’  अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए ।

 पाटन अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ४५ शैय्याको व्यवस्था गरिएकोे उनले बताए । उक्त अस्पतालमा १५ वटा आइसोलेसन, १४ वटा भेन्टिलेटर र २१ वटा आइसियुसहितको शैय्याको व्यवस्था रहेको उनको भनाइ छ । यस्तै  पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको  शुक्रबार मृत्यु भएको उनले जानकारी दिए ।  स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि ती महिलालाई  साउन ६ गते पाटन अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । 

संक्रमितको पछिल्लो तथ्यांक

नेपालमा संक्रमितको संख्या शनिवार बिहान ४ बजेसम्म १९ हजार ७ सय ७१ पुगेको छ । शुक्रबार एकैदिनमा साँझ ४ः२६ बजेसम्ममा देशभरिमा २२४ जना नयाँ संक्रमितहरु फेला परेका छन् । तीमध्ये उपत्यकामा मात्रै शुक्रबार ३८ जनामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाको मृत्यु समेत जोडेर  ‘कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ५६ पुगेको’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । कोरोना संक्रमित १९ हजार ७ सय ७१ जना मध्ये १४ हजार ३ सय ९९ जना निको भएको उनले बताए । हालसम्म ५ हजार ३ सय १६ जना आइसोलेसनमा छन् भने १२ हजार १ सय ११ जना क्वारेन्टाइनमा छन् । सरकारी तथ्यांकअनुसार अहिलेसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप