केन्द्रीय संस्करण
मेरो जीवन

कलाकार लक्ष्मी गिरीको जीवन : छुच्चीको अभिनयले बुहारी पाउन गाह्रो भयो

person explore access_timeसाउन १७, २०७७ chat_bubble_outline0

काठमाडौँ । उमेरले छ दशक पार गरिसके पनि लक्ष्मी गिरीको कलाकारितामा जोश, जाँगर अहिले पनि उत्तिकै छ । रङ्गमञ्चदेखि टेलिचलचित्र हुँदै चलचित्र अभिनयसम्म उनी अबिराम यात्रामा छिन् । नेपाली, भोजपुरी, मैथली र नेपाल भाषाका फिल्म अभिनय गरेकी लक्ष्मीले एक सयभन्दा बढी चलचित्रमा, ५ सयभन्दा बढी टेलिचलचित्र र दुई दर्जनभन्दा बढी मोघा सिरियलका अलवा थुप्रै विज्ञापन, नाटक अभिनय गरिसकेकी छन् ।

गिरीले मह जोडीको उत्कृष्ट नाटक विज्ञापन ३ सय ८९ प्रदर्शन हुँदा २ सय ८९ पटक अभिनय गरेकी छन् । ‘विज्ञापन’ नाटककै प्रदर्शन र अन्य कार्यक्रमको सिलसिलामा अमेरिकाका ३५ राज्य, बेलायतका ३ राज्य, हङ्कङका धेरै भाग, भारत लगायत देशको भ्रमण गरेकी गिरी अहिले पनि अभिनयमा ‘छुच्ची आमा’को भूमिका निर्वाह गर्दै आएकी छन् ।

प्रष्ट बोल्ने, लक्पन छप्पन नजान्ने र अभिनयमा छुच्चीको भूमिका निर्वाह गर्दै आएकी उनलाई नचिन्ने, नभेट्नेले धेरैले त्यस्तै नै ठान्ने गरेको उनको अनुभव पनि छ । छोराका लागि बुहारी खोज्दा आफूले निर्वाह गरेको छुच्ची भूमिकाको कारण छोरी नदिएको केही उदाहरण पनि उनले सुनाइन् । ‘सासू त्यस्तो छुच्ची छे । यस्तो घरमा कसरी छोरी दिनु’ केहीले भनेको शब्द उनले दोहोर्याइन् । यी शब्दले अभिनयमा आफू सफल भएको अनुभूति हुने उनी बताउने कलाकार लक्ष्मी गिरीको जीवनका विभिन्न पाटा रातोपाटीको मेरो जीवन स्तम्भमा उनकै शब्दमा ।

मेरो खाना

सबै प्रकारको खाना खाने गरेको छु । खानामा नेवारी डिस अलि फेबरेट लाग्छ । मन नपर्ने त्यस्तो खाना केही छैन । कलाकार भएपछि सुटिङको सिलसिलामा धेरै ठाउँमा जानुपर्छ । सबै प्रकारको खाना खानुपर्ने हुन्छ । त्यहीअनुसार म अभ्यास्त भइसकेकी छु ।

धेरै रेस्टुरेन्ट घुमेर हिँड्ने बानी छैन । साथीभाइसँग साधारण, शान्त वातावरण भएको  रेस्टुरेन्ट केहीलेकाहीँ जान्छु । सजिलो, मीठो, तातो, हाइजेनिक भएकोले रेस्टुरेन्टमा मम मनपर्छ । पकाउन जाँगर लाग्छ । सबै प्रकारको परिकार पकाउन सक्छु ।

मेरो फिट्नेस

फिट्नेसका लागि सजग छु र अहिले पनि कलाकारिता गरिरहेकी छु । नियमित योग गर्छु । धेरै व्यक्तिले चिन्ने भएकाले बोलेर हैरान हुनुपर्छ । त्यसैले मर्निङवाक गर्दिनँ ।

मेरो पोसाक

सिम्पल पहिरन मनपर्छ । हाइफाई गरेर हिँड्नु पर्छ भन्ने कहिल्यै लागेन । जे पहिरन सजिलो लाग्छ त्यही लगाउँछु ।

कुनै औपचारिक कार्यक्रम, सभासमारोह, पार्टी भोजभतेर जानुपर्नेछ भने सारी, सकभर चौबन्दी चोलो मिसाएर लगाउँछु । अन्य समय सफारी ठीक लाग्छ ।

गुलाबी, पहँेलो र सेतो पहिरन मनपर्ने कलर हुन् । पहिरन ब्रान्डेड खोज्ने बानी छैन । जे राम्रो लाग्छ लगाउँछु । भोलि यहीँ रहनुछ । सधैँ ब्रान्डेड लगाउने औकात पनि हुनुपर्यो नि ।

वर्षमा ४, ५ जोर नयाँ भए पुग्ने भएकाले धेरै पहिरन खर्च छैन । त्यस्तै १५, १६ हजार होला ।

मेरो अध्ययन

नेपाली अक्षर चिन्छु । त्यसैले अध्ययन गर्न मनपर्छ । यो लकडाउनको समय मैले २८ वटा किताब पढे । ती पनि सबै पुराना खालको खोजेर पढे ।

जसमा भैरव अर्यालको जागिरे को ?, जय भुँडी लगायत, नगेन्द्रराज शर्माको मङ्किस्केट  र अन्य लेखकका पनि किताब पढेँ ।

पछिल्लो समय शिवपुरी बाबाको विषयमा माधव र गोविन्दले तयार पारेको ‘जीवन र जिन्दगी’ भन्ने किताब पढ्दैछु । उपन्यास पढ्न मन पर्दैन । फुर्सद भयो भने किताब पल्टाउन मनपर्छ ।


केही पहिले मोबाइलबाट सामाजिक सञ्जाल समेत चलाउँथे । हामी कलाकारले कहिलेकाहीँ सामाजिक सञ्जाल चलाउँदै जाँदा कसैको बारे केही लेखिएला । कमेन्ट गरिएला । त्यसले विवाद निम्त्याउँदो रहेछ । यस कारण सामाजिक सञ्जाल चलाउन छाडिदिए ।


मेरो खेलकुद

अहिले बूढेसकालमा खेलकुद रहर गरेर हुन्न । पहिला त म खेलाडी पनि हो । २०२६ सालमा खेलकुद परिषद् स्थापना भएको हो । सो समय म हाइजम्प, क्यारिम, ब्याडमिन्टन खेल्थेँ ।

त्यतिबेला मसँग ब्याडमिन्टन खेल्ने साथीहरु अहिले केही टिचर, कोही खेलाडी भएका छन् । म कलाकार भएँ । अहिले खेल्न नसके पनि क्रिकेट, फुटबल हेर्न मनपर्छ ।

मेरो मोबाइल

अहिले मसँग सिम्पल खालका दुईवटा मोबाइल छन् । ब्रान्ड थाहा छैन । महँगा खालका हराएपछि सिम्पल बोक्न थालको हो । फोन गर्न र उठाउन मिलिहाल्छ । अरू किन चाहियो ।

केही पहिले मोबाइलबाट सामाजिक सञ्जाल समेत चलाउँथे । हामी कलाकारले कहिलेकाहीँ सामाजिक सञ्जाल चलाउँदै जाँदा कसैको बारे केही लेखिएला । कमेन्ट गरिएला । त्यसले विवाद निम्त्याउँदो रहेछ । यस कारण सामाजिक सञ्जाल चलाउन छाडिदिए ।

मेरो टिभी

टिभी मेरो साथी हो । फुर्सद भयो कि हेर्छु । समाचार, एनिमल प्लानेट, डिस्कभरी, हिस्टोरीकल कार्यक्रम, क्रिकेट, फुटबल लगायत टिभीमा हेर्न मनपर्छ ।

एनिमल प्लानेटबाट जीवन र जगत बुझ्न पाइन्छ । हामी दर्शनका किताब पढ्छौँ । एनिमल प्लानेटबाट दर्शन हेर्न मिल्छ । बोटबिरुका जीवन, चरा चुरुङ्गीको जीवन र सङ्घर्षलगायत धेरै कुरा यस्तो च्यानलबाट बुझ्न सकिन्छ ।

टिभी म प्रायः बिहान हेर्छु । घरमा फरक फरक साइजका केही टिभी छन् । ब्रान्डहरु थाहा भएन । कमाइको अन्तरसँगै राम्रा टिभी घरमा भित्रिँदै गयो ।

मेरो चलचित्र

मेरो कर्म, पेसा नै चलचित्र हो । त्यसैले नहेर्ने कुरौ भएन । धेरै हेर्छु । आफ्नो अभिनय भएका, नभएका हिन्दी, नेपाली सबै प्रकारका चलचित्र हेर्छु । हिन्दीमा पुराना खालका चलचित्र मनपर्छ । ती चलचित्रबाट धेरै कुरा सिक्न मिल्छ ।

अहिले उमेर बुढ्यौली भएर पनि हो कि दिमागमा बसिरहने गीतसङ्गीत, कथा राम्रा भएका फिल्म मनपर्छ । मधुवाला, माधुरी, गोविन्दाका फिल्म खोजेर हेर्छु ।

नेपालीमा गौरी मल्ल, सुभन्द्रा अधिकारी, बसुन्धरा भुसालका पुराना फिल्मसमेत खोजेर हेर्छु ।


राष्ट्र बैङ्कका कार्यक्रममा गरेको नाटकबाट औपचारिक अभिनय करियर रूपमा सुरु भएको थियो । यसको केही समयपछि नेपालमा टेलिभिजन आयो, नेपाल टेलिभिजन । टेलिभिजनका लागि विभिन्न टेलिशृङ्खला अभिनय गरेँ । चलचित्र पनि हात पर्न थाल्यो ।


मेरो प्रेम

२०४२ सालमा मेरो विवाह भयो । मेरो आधा प्रेम विवाह, आधा होइन । प्रेम गर्ने तरिका समय अनुसार फेरिएको छ । अहिलेको प्रेम गर्ने तरिका एड्भान्स छन् ।

हाम्रो पालामा एकजनाले दिदी तपाईंलाई फलानोले मनपराउँदो रहेछ । हेर्दै गइरहेको छ भनेर मलाई भन्ने । उता त्यसैले त्यो केटासँग दाइ तपाईंलाई त्यो केटीले सम्झिरहेकी छ भन्ने चलन थियो ।

त्यसरी अर्काेले भनेको कुरामा पनि माया पलाउँदो रहेछ । मेरो पनि त्यस्तै भयो । पछि आमाजूले थाहा पाएर कुरा मिलाउनु भयो । हामीले विवाह गर्यौँ । मेरो श्रीमान् डाक्टर हुनुहुन्छ । उहाँसँगको त्यसरी अन्जानमा बसेको प्रेम विवाह पछि झन् गाढा भयो । त्यो प्रेम अहिले पनि जारी छ ।

मेरो पेसा

मेरो कर्म, धर्म जे भने पनि अहिले कलाकारिता हो । मेरो पहिलो पेसा नोकरी थियो । २०२८ सालबाट मैले राष्ट्र बैङ्कको जागिर सुरु गरेकी थिएँ । २०५०, ०५१ मा स्वेच्छिक अवकाश लिएँ ।

त्यस्तै २०३८ सालतिर होला । राष्ट्र बैङ्कले रजत महोत्सव आयोजना भएको थियो विभिन्न संस्कृतिक कार्यक्रमसहित । उक्त अवसरमा मैले पनि नाटक अभिनय गरेकी थिएँ ।

त्यही थियो मेरो पहिलो कलाकारिता । त्यो नाटकको सिलसिलामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य दाइसँग पनि चिनजान भयो । यो नाटक अगाडि पनि मैले कलाकारिता गरेको थिएँ  बालकै छँदा । म सानो छँदा पशुपति क्षेत्र लगायत देशको विभिन्न ठाउँमा जात्रा, मेला पर्वमा डबली नाटक आयोजना हुन्थे । त्यसमा म भाग लिन्थेँ ।

स्कुलमा पनि हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थे । यो सिलसिलामा पनि म नृत्य, गायन लगायत विभिन्न विधामा सहभागी जनाउँथे ।

राष्ट्र बैङ्कका कार्यक्रममा गरेको नाटकबाट औपचारिक अभिनय करियर रूपमा सुरु भएको थियो । यसको केही समयपछि नेपालमा टेलिभिजन आयो, नेपाल टेलिभिजन । टेलिभिजनका लागि विभिन्न टेलिशृङ्खला अभिनय गरेँ । चलचित्र पनि हात पर्न थाल्यो । टेलिचलचित्र, चलचित्र, वृत्तचित्र, विज्ञापन चलचित्र लगायत अभिनय गर्दागर्दै आजसम्म पनि अनवरत अभिनयमै छु । कतिपय कलाकारको केही वर्ष अभिनयमा ग्याप होला । तर मेरो आजसम्म कुनै वर्ष पनि ग्याप भएको छैन ।

आजसम्म आइपुग्दा मेरो हिट फिल्म १५ वटा होला, फ्लप धेरै छन् ।  चलचित्रका एक सयभन्दा माथि अभिनय गरेको छु । मेघा सिरियल, टेलिसिरियल सबै गरेर ६, ७ सयमाथि होला । नाटक पनि करिब दुई दर्जनभन्दा बढी अभिनय गरेको छु ।

नेपालीको अलवा भोजपुरी, मैथली, नेपाल भाषाका फिल्मसमेत अभिनय गरेको छु ।

मेरो सपना

जतिबेला सपना देख्थेँ त्यो बेला देखेको सपना पूरा नहुँदा फ्रस्टेसन जस्तो भयो । त्यसैले अहिले सपना देख्न छोडँे । मेरो विचारमा मानिस न्युटलाइज भएर बाँच्यो भने डिप्रेसनमा जाँदैन ।

२०५४ देखि ०५६ सम्मका ५९ फिल्म अवार्डका लागि छानिए । त्यसमा मेरा फिल्म पनि धेरै थिए । तर अवार्डका लागि लक्ष्मी गिरीको नाम कहिल्यै आएन ।

त्यतिबेलाको उपकार, तँ त सारै नै बिग्रिस नि बन्द्रीदेखि अहिलेको ‘छक्का पन्जा’ सिरिजसम्म आउँदा कुन फिल्ममा मैले गरेको भूमिका दर्शकको मनमा नबसेको होला र ?

अबका दिनमा पनि निर्माता निर्देशकले बोलाए भने कलाकारिता गर्ने हो । हैन भने राष्ट्र बैङ्कको पेन्सन खाने, बस्ने हो ।


हामी आन्दोलन लगायत महत्त्वपूर्ण परिवर्तनका समयमा सडकमा उत्रिएको सबै पार्टीका मानिसले देखेकै विषय हो । तर निष्पक्ष कलाकारले कहीँ प्रथामिकता नपाउने रहेछ । यो अवस्थामा दुःख लाग्छ । पार्टीको टीका लगाएर कुनै स्थानमा पुग्न कहिल्यै रहर पनि भएन । कलाकार सबैका हुन् । सबैको भएर रहे ।


मेरो दुःख

२०३८ सालदेखि निरन्तर कलाकारितामा छु । कति कलाकारले कुनै वर्ष अभिनयमा ग्याप भए होलान् । तर मेरो भने निरन्तर छ । वर्षको एक फिल्म र केही सिरियल मैले अभिनय गरेकै छु ।

बेलाबेलाको देश निर्माणको आन्दोलनमा कलाकारको प्रतिनिधित्व भएर होमिएकै हो । चर्चा पनि हुन्थ्यो ।

तर चलचित्र विकास बोर्डलगायत विभिन्न ठाउँमा अवसर पाउने बेलामा जोजो राजनीतिक पार्टीका टीका लगाउन सफल छन् । तिनले मात्र पाउँदा रहेछन् ।

हामी आन्दोलन लगायत महत्त्वपूर्ण परिवर्तनका समयमा सडकमा उत्रिएको सबै पार्टीका मानिसले देखेकै विषय हो । तर निष्पक्ष कलाकारले कहीँ प्रथामिकता नपाउने रहेछ । यो अवस्थामा दुःख लाग्छ । पार्टीको टीका लगाएर कुनै स्थानमा पुग्न कहिल्यै रहर पनि भएन । कलाकार सबैका हुन् । सबैको भएर रहे ।

कलाकारितामा मैले धेरैजसो अभिनयमा छुच्चीको भूमिका निर्वाह गरेको छु । यो भूमिकामा म सफल छु । किनभने कतिपयले मलाई साँच्चिकै छुच्चीको रूपमा पनि हेर्दा रहेछन् । एक किसिमले हेर्ने हो भने यो मेरो अभिनयको सफलता हो ।

तर कहिलेकाहीँ यसले वास्तविक जीवनमा असर पनि गर्दाेरहेछ । अभिनयमा म जस्तो देखिन्छु रियलमा पनि त्यस्तै होली भनेर सोच्नुहुँदो रहेछ । छोराका लागि बुहारी खोज्दा कतिपयले छुच्ची सासू भएको घरमा कसरी छोरी दिनु ? समेत भन्नुभयो । यस कारण बुहारी खोज्नसमेत गाह्रो भयो ।


मेरो गीतसङ्गीत

गीतसङ्गीत धेरै मनपर्छ, सुन्छु पनि । पुराना हिन्दी, नेपाली गीतहरु सुन्छु । भाव लुकेको, शब्द गहन भएको तर नरुवाउने खालका गीत मनपर्छ । नेपालीमा नारायण गोपाल, बच्चुकैलाश लगायत पुराना गायक गायिकाका धेरै गीत मनपर्छ । मुडअफ भएको समय गीत सुनेपछि फ्रेस मात्र हुन्छु ।

मेरो मापसे

मापसे कहिल्यै गरिनँ । मापसे गरेर को ठूलो भएको छ र ? नगरेर पनि कोही सानो भएको पनि पाइएको छैन रे । मापसे ठीक होइन । अचेल नखाए पनि घरमा सजाएर राख्ने चलन छ । मैले भने त्यस्तो गरेकी छैन ।

मेरो विचारमा घरमा सजाउनु भनेको त्योप्रति आकर्षित हुनु हो । त्यो मेरो रोजाइमा कहिल्यै परेन ।

मेरो भुल

मानिस हुँ जानी नजानी धेरै भुल भए होलान् तर जानेर होस् नजानेर होस् अरूका लागि दुःख पुग्ने भुल गरेको छैन । अहिलेसम्म फटाइँ बोलिन होला । जीवनमा पछुताउनुपर्ने भुल पनि भएको छैन ।

मेरो रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो रोग केही छैन । फिट एन्ड फाइन छु । रोग नै नभएपछि औषिध खाने कुरै भएन ।

मेरो राशि 

मेरो राशि वृश्चिक हो । ग्रहदशामा विश्वास लाग्दैन । किनभने तीन करोड जनतालाई जाबो १२ वटा राशि कतिलाई मिल्छ र ? घन्टी बजाएर, ठूलाठूला टीका लगाएर पूजापाठ गर्ने बानी पनि छैन । तर धर्मप्रति भने आस्था रहेको छ । धार्मिक स्लोक धेरै आउँछ ।

मेरो मृत्यु

मृत्यु सुखद् जीवनको अन्त्य हो, सत्य पनि हो । कसैले टार्न सक्दैन । कुनबेला, कहाँ र कसरी मृत्यु हुन्छ, कसैले थाहा पाउन पनि सक्दैन ।

अभिनय गर्दागर्दै, हिँडडुल गर्दैगर्दा मृत्यु होस् भन्ने चाहना हो मेरो । केही महिना थलिनुपरे कसलाई दुःख दिनु । भगवान्ले मलाई सजिलैसँग लानुपर्ने हो, हेरौँ । जिउँदो छँदा गरेको कर्मले भौतिक शरीर ढलेपछि पनि बाँच्न सकिन्छ । त्यो कर्म मैले पनि गरेकी छु ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.