शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तारे होटलको तयारी तीव्र : आन्तरिक प्रतिस्पर्धा नै अबको चुनौती

शनिबार, १७ साउन २०७७, १५ : १३
शनिबार, १७ साउन २०७७

बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन् । सरकारले साउन १५ देखि होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य प्रोटोकल अपनाइ आवश्यकताअनुरुप जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी गरेका हुन् ।
    
चार महिना प्रायः ठप्प होटलको विजनेश विदेशी पर्यटकमा निर्भर रहने हँुदा अझै केही समय समस्यामा पर्ने देखिएको छ । खासगरी तीन तारेदेखि पाँचतारे होटललाई समस्या हुने देखिन्छ । एकातिर पर्यटक कम आएमा व्यवसाय बढ्ने अवस्था छैन भने अर्कोतर्फ होटलबीचको प्रतिस्पर्धाले व्यावसायिक पक्कड जमाउन जटिल हुने व्यवसायीको बुझाइ छ । सरकारले भदौ १ गते देखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।
    
खर्बौं लगानी रहेका एक दर्जनबढी पाँचतारे होटलको आन्तरिक प्रतिस्पर्धा नै अबको चुनौती भएको सम्बद्ध व्यवसायी बताउँछन् । नेपालमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम रहेको सन्देश दिन र अन्तरराष्ट्रिय उडान सञ्चालन भएपछि केही सङ्ख्यामा विदेशी पर्यटक आउनसक्ने अनुमानसहित ती पर्यटकलाई आफ्नो होटलमा तान्न पाँचतारे होटलबीच प्रतिस्पर्धा हुनसक्ने उनीहरुको बुझाइ छ ।
    
होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले पाँचतारे होटलबीच शुल्कमा अस्वस्थ्य प्रतिस्पर्धा हुनसक्ने सम्भावना रहेको बताइन् । सेवासुविधामा अस्वस्थ प्रतिस्पर्धा भएमा होटल क्षेत्रलाई नकारात्मक असर पुग्ने उनको भनाइ छ । उनले होटलको सेवालाई गुणस्तरीय बनाइ सेवा शुल्कमा एकरुपता ल्याउनसके उद्योगलाई दिगो बनाउन सहज हुने विश्वास व्यक्त गरिन् ।
    
कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण पूर्ण क्षमतामा होटल सञ्चलन गर्ने अवस्था छैन । अहिले पूर्ण क्षमताको एक तिहाइमात्रै सेवा सञ्चालन हुने हानले जनाएको छ । त्यसैले खर्च उठाउनका लागि पनि होटलबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना छ ।
    
पाँचतारे सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चपागाईंले बन्दाबन्दीपछि होटल व्यवसाय सञ्चालनमा आन्तरिक प्रतिस्पर्धा मुख्य चुनौती रहेको बताए । उनले होटलबीच अस्वस्थ्य प्रतिस्पर्धा भएकाले होटलको सुविधा कटौती हुनसक्ने सम्भावना रहेको भन्दै सरकारले नै न्यूनतम स्ट्याण्डर्ड तोकेर होटललाई निर्देशन दिनसके सम्भावित प्रतिस्पर्धा कम हुने उल्लेख गरे ।
    
पाँचतारे होटलका लागि मुख्य बजार छिमेकी मुलुक भारत र चीन भएकाले ती देशको स्थिति सामान्य नहुँदासम्म पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने अवस्था छैन । त्यसैले होटल सञ्चालन गर्न दिएपछि सरकारले कसरी ‘सर्भाइभ’ गर्ने भन्ने चुनौती देखापरेको उपाध्यक्ष सापकोटाले बताए । धेरैजसो होटलको सञ्चालन खर्च ठूलो भएकाले त्यसलाई कभर गर्न चुनौती छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बनाइएको मापदण्ड पूरा गर्दा कम्तीमा पनि ३० देखि ५० प्रतिशतसम्म सञ्चालन खर्च बढ्ने व्यवसायीको भनाइ छ । 
    
नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए पनि मृत्युदर धेरै कम भएकाले नेपाल पर्यटनका लागि सुरक्षित गन्तब्य हो भन्ने सकारात्मक आधार रहेकाले पर्यटक बढ्नेमा व्यवसायी आशावादी छन् । तीन तारेसम्मका होटल आन्तरिक पर्यटकले सर्भाइभ गराउन सक्नेगरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि उनीहरुको जोड छ । सरकारले यही साउन १५ देखि होटल व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै व्यवसाय सञ्चालन गरेका छन् ।
    
बन्दाबन्दीको करिब चार महिना व्यवसाय प्रायः ठप्प भएको होटल व्यवसायलाई गतिशील तुल्याउन अबका दिन निकै कठिन हुनेछन् । तीन तारेसम्मका होटल आन्तरिक पर्यटनले धान्न सकिने र अन्तरराष्ट्रिय उडान खुलेसँगै विदेशी पर्यटक आउने आशमा व्यवसायीले सञ्चालनको पूर्वतयारी गरिरहेका हुन् । हानका प्रथम उपाध्यक्ष विनायक शाहले शुरुमा पूर्ण क्षमताको १० प्रतिशत मात्र होटल व्यवसाय सञ्चालन गरिने र क्रमशः अवस्था हेरेर क्षमता बढाउँदै लगिने बताए ।
    
तीनतारे एयरपोर्ट होटलका प्रबन्ध निर्देशकसमेत रहेका उपाध्यक्ष शाहले अगाडिको बुकिङका लागि पूर्वअभ्यसका रुपमा होटल सञ्चालनमा ल्याइएको बताए । उनले केही साना बैठक, सभा तथा पारिवारिक जमघटका लागि उपयोगी भए पनि हामी तयारी अवस्थामा छौँ भन्ने सन्देश दिन पनि सेवा शुरु गरिएको उल्लेख गरे । 
    
विदेशी पर्यटकको आत्मविश्वास बढाउन विमानस्थलमा पिसिआर सेन्टर स्थापना गरेर चाँडो रिपोर्ट लिन सकिन व्यवस्था मिलाउनसके उपयुक्त हुने व्यवसायीको अपेक्षा छ । साथै अनअराइभल प्रवेशाज्ञा जस्ता योजना ल्याउन सकेको खण्डमा पर्यटन व्यवसाय छिट्टै लयमा फर्कने उपाध्यक्ष शाहले बताए । 

नेपालमा हाल १५ वटा पाँचतारे होटल रहेकामा बन्द रहेको पोखराको फूलबारी रिसोर्टबाहेक १४ होटल सञ्चालनमा छन् । हानमा आबद्ध देशभर पर्यटकस्तरदेखि पाँचतारेसम्मका तीन हजार ५०० होटल सञ्चालनमा छन् । सरकारी तथ्याङ्कअनुसार हाल होटल क्षेत्रमा ४४ हजार श्यया छन् । हालको अवस्थामा २५ लाख पर्यटकलाई सेवा दिन सकिने व्यवसायी बताउँछन् । होटल क्षेत्रमा १५ खर्बभन्दा बढी लगानी रहेको छ । नेपाल  पर्यटन बोर्डले हालै गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको चार महिनामा होटल तथा हवाई क्षेत्रमा रु ४१ अर्ब नोक्सानी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप