शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केरुङ नाकामा नाकाबन्दीको झल्को, किन गर्दैछ चिनियाँ पक्षले अवरोध ?

शनिबार, १७ साउन २०७७, २० : १५
शनिबार, १७ साउन २०७७

काठमाडौं । २०७२ मा भारतले लगाएको नाकाबन्दीको झल्को यतिबेला चिनियाँ नाकामा देखिएको छ । विगतमा चीनको केरुङ नाकामा नेपालतर्फ आउन लागेका कन्टेनरहरुको लस्कर हुन्थ्यो । तर यतिबेला नाकाबाट दैनिक ४ वटा कन्टेनर मात्रै नेपाल भित्रिने गरेका छन् । त्यसमाथि पनि अधिकांश ट्रकहरु स्याउ लगायत दैनिक उपभोग्य वस्तु मात्रै छन् । 

करिब ५ महिनादेखि ठप्प भएको उक्त नाका गत असार २२ गतेदेखि निरन्तरको सञ्चालनमा आएको थियो । तर, नाका सञ्चालनमा आएदेखि नै दैनिक ४ वटा भन्दा बढी कन्टेनर चिनियाँ पक्षले छोडेको छैन ।

सामान्य अवस्थामै दैनिक औसत ३० वटा कन्टेनर प्रवेश गर्ने गरेकोमा अहिले सयौं कन्टेनर सामान नाकामा रोकिएको छ । तर आभरफ्लो व्यवस्थापन गर्नुको सट्टा चिनियाँ पक्षले साधारण अवस्थामा एक दिनमा आउने गाडी नेपाल भित्रनै १ साता लाग्ने अवस्था सिर्जना गरिदिएको छ । 

किन गर्दैछ चिनियाँ पक्षले अवरोध ?

चिनियाँ पक्षले कोरोना भाइरस संक्रमणको जोखिम र कामदारको अभावको कारण देखाएर निकै कम मात्रै ट्रक छोड्ने गरेको हो । धेरै आवतजावत गर्दा रोग सर्नसक्ने भन्दै नाकापारिका स्थानीयले अवरोध गरेको र त्यसलाई चिनियाँ भन्सार प्रशासन, स्थानीय सरकार र तिब्बत सरकारले समेत साथ दिएको बताइएको छ । 

अहिले नेपाली पक्षले भन्सार कार्यालयदेखि परराष्ट्र मन्त्रालय तहसम्म पनि छलफल गरिसकेको छ । तर अहिलेसम्म कुनै उपलब्धि भएको छैन । 

चीनतर्फ सामान लोड अनलोड गर्ने कामदारको अभाव भएको जानकारीसँगै स्वास्थ्य मापदण्ड पालना गरेर १४ दिन क्वारेन्टिनमा बसेका ३० जना नेपालीलाई आउने अनुमति दिन नेपाली पक्षले आग्रह गरेको थियो । तर यो प्रस्तावलाई पनि उनीहरुले मानेनन् । 

'हामीले ३० जनालाई प्रवेश गर्ने अनुमति दिन भन्यौं, अझै संख्या घटाउन लेवरको समेत काम गर्नसक्ने ड्राइभरलाई पठाएर १५ जनाले व्यवस्थापन गर्नेगरी तयारी गर्यौं । तर उहाँहरुले हाम्रो कुनै कुरा सुन्न चाहनुभएन । अहिले त छिमेकीदेखि थाकेको अवस्था छु,' रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले भने । 

खड्काले ४ वटा ट्रकमात्रै छाड्नुको कुन‌ै अर्थ नभएको भन्दै यसो गर्नुभन्दा वरु नाका नै ठप्प गरिदिए राम्रो हुने समेत बताए । 

तातोपानीको रोकिएपछि झनै तनाव

सिन्धुपाल्चोकमा आएको बाढी पहिरोपछि कोदारी राजमार्ग अवरुद्घ हुँदा तातोपानी नाकाबाट हुने आयात समेत ठप्प भयो । सो नाकामा रोकिएका ७० ट्रक स्याउ पनि त्यसपछि त्यही नाका भएर आउने भए ।
 
चाँडै बिग्रिने भएकोले त्यसलाई प्राथमिकता दिएर ल्याउन नेपाली पक्ष तयार भयो । तर चीनले एउटा गाडी पनि बढी छाड्न मानेन । त्यही भएर सुरुका दिनमा आइरहेको लत्ताककपडा लगायत सामानहरु आउन छाडेका छन् । दशैं तिहारको मुखमा सामान आउन नसक्दा बजारमा सामानको अभाव हुने अवस्था समेत देखिएको छ । 

सामान आउन छाड्यो, समस्यामा पर्यौं : व्यवसायी

महिनौंदेखि पारिपट्टि रोकिएका सामान नै आउन नसकेपछि व्यवसायीहरु हतोत्साहित भएका छन् । लामो समयपछि लकडाउन खुल्दा पनि व्यापार शुन्यप्राय रहेका व्यापारीहरुले दशैं तिहारदेखि अवस्थामा सुधार आउने अपेक्षा गरेका थिए । अहिले नाकामा सामान अड्किन थालेपछि उनीहरूको अर्को भरोसा पनि टुटेको छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउन खुलेको र भन्सार नाका पनि एकतर्फी रुपमा खुलेको खबर सुन्दा उत्साहित भएका व्यवसायी फेरि निराश बन्नुपर्ने अवस्था आएको बताए । 


'लकडाउन खुलेपछि व्यवसाय पुरानै गतिमा फर्किएला भन्ने सोचेका थियौं, त्यो पनि सोचेजस्तो भएन । नाका खुलेपछि सामान  आउला, दशैं तिहारमा भने पनि व्यापार होला भनेको, यो गतिले त्यो पनि सम्भव देखिएन, हामीलाई साह्रै अप्ठ्यारो पर्यो,' कटुवालले भने । 

केरुङ र रसुवागढीबीच २४ किलोमिटरको फरक छ । तर चीनले नेपालीलाई २४ किलोमिटर पारि जान समेत दिएको छैन । सामान लिएर उनीहरु आउँदा पनि उनीहरुले कोही पनि मान्छे देख्न नहुने शर्त राख्ने गरेका छन् । 

रसुवागढी नाकालाई चीनसँग नेपाल जोड्ने एकमात्र अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरिएको छ । नेपाली पक्षले यसलाई अन्तराष्ट्रिय नाकाकै मापदण्डमा सञ्चालन गरेको छ । त्यही अनुसार जोखिम न्युनीकरणका मापदण्ड समेत

 लागू गरिएको भन्सार प्रमुख खड्काको भनाइ छ । तर चीनले नेपालको मापदण्डलाई मान्यता नदिँदा समस्या भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप