शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिन

आइतबार, १८ साउन २०७७, ०७ : १६
आइतबार, १८ साउन २०७७

हरेक वर्षझैँ यो वर्ष पनि नेपालीको विशेष चाड जनैपूर्णिमा यही १९ गते परेको छ । यो दिन विभिन्न रङहरुले भरिएका राखी दाजुभाइ तथा दिदीबहिनीको रक्षाका निम्ति नडीमा बाँधिदिने चलन छ । यो दिन ब्राह्मणहरुले पनि आफ्ना जजमानकहाँ गएर रक्षा बन्धन बाँधिदिने चलन पनि छ । खासगरी व्रतबन्ध गरेका ब्राह्मण तथा क्षत्रियहरूले जनै फेर्ने दिन पनि यही हो । जनै फेर्ने दिन भएर नै यस पर्वलाई जनैपूर्णिमा भनिएको हो । यो दिन विशेषगरी नेवार जातिमा क्वाँटी खाने प्रचलन प्रसिद्ध छ ।

अर्कोतर्फ परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । ‘क्वाँटी’ नेपालभाषाको ‘क्वाति’ शब्दबाट व्युत्पत्ति भएको र ‘क्वा’को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप हो । क्वाँटी बनाउँदा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ नौ प्रकारका गेडागुडी टुसा उम्रेने गरी पानीमा चार दिनसम्म भिजाइन्छ । टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई न्वाँगी पनि भनिन्छ ।

हरेक चाडवाडको आआफ्नै महत्त्व हुन्छ । आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो ९६ सुते धागोलाई दुई बेग्लाबेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छवटा धागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्काे शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

रक्षाबन्धनको दिन यो मन्त्र उच्चारण गर्दै धारण गर्ने गरिन्छ ।

"येन बद्धो बलीराजा दानवेन्द्रो महावल।।
तेन त्वां प्रतिबध्नामि र क्षे मा चल मा चल।।
र जनै यस मन्त्र प्रयोगबाट धारण गरिन्छ....!!!
"यज्ञो पवितं परमं पवित्रंं प्रजापतेर्यत्सहजं पुरस्तात्।।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवितं बलमस्तु तेजः।।

र जनै बिसर्जन अर्थात त्याग गर्ने मन्त्र :

"एतावद्दिनपर्यान्तं ब्रम्हंंत्व धारितं मया ।।
जिर्णत्वात्तपरित्यागो गच्छ सूत्र यथासुखम्।।

जुन रक्षा (काँचो धागो)ले दानवहरुका महान राजा बलिलाई बाँधिएको थियो म तिमीलाई त्यही धागोले बाँध्दछु । यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्ने छ । रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन पनि छ । हिन्दु परम्पराअनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास छ । कतिपयले आफै गुरु पुरोहित अथवा मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यस दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइका दाहिने नाडीमा दीर्घायु र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन पनि निकै प्रचलित छ । नेपालको तराई क्षेत्रलगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।

आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि छ । आज काठमाडौँको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।

विशेषगरी ब्राह्मण, क्षत्रिय वा अन्य कुनै वैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग नाडीमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ । सनातन हिन्दू वैदिक ग्रन्थअनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र कर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नका लागि ग्रहण गर्न मन्त्रिए र तयार पारिएको ६ सुते धागोको समूह हो जसलाई तयार पार्दा ३÷३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्काे जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ ।

परिवर्तित परिपेक्ष्यमा चूडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रिय मात्रभन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात जनै अरूलाई लगाइदिन र आफूले पनि लगाउन सक्छन् । स्मरण रहोस मन्त्रिएका यज्ञोपवितहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त हुने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र अध्यात्मिक सामथ्र्य वृद्धि हुने विश्वास गरिन्छ ।

साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहरिँदै आएको पाइन्छ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछूतका रूपमा लिइने चलन छ, जुन अत्यन्त सङ्कुचित कुण्ठा मात्र हो ।

यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशीलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रूपमा मात्र हेर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भए पनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्छन् ।

आजको यो सांस्कारिक काँचो धागो वा दाजुभाइ, दिदीबहिनीबीचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालीन परम्पराको निरन्तरतालाई युगौँयुगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप