शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिप्पोपोटामस : ‘रगत’ जस्तै पसिना निकाल्ने प्राणी

आइतबार, १८ साउन २०७७, १३ : ४८
आइतबार, १८ साउन २०७७

तपाईंले हिप्पोपोटामस देख्नुभएको छ ? झट्ट हेर्दा सुँगुर जस्तो देखिने तर निक्कै ठूलो शरीर हुने यो जनावर आफ्नो धेरै समय पानीमा नै बस्ने गर्छ । खास गरेर यो अफ्रिकामा पाइने जनावर हो । लाखौं वर्षअघि चाहिँ यो यूरोप, एशिया र अफ्रिकामा पनि पाइने गथ्र्यो । अहिले यसको संख्या डेढ लाख जति मात्रै छ । नेपालमा पनि यो जनावर जावलाखेलको चिडियाखानामा हेर्न पाइन्छ । किताब टेलिभिजनहरुमा यसको चित्र देख्न पाइन्छ ।

हिप्पोपोटामसले मानिसले जस्तो पसिना निकाल्न सक्दैन । तर यसको छालाबाट रातो रातो चिल्लो पदार्थ निस्कने गर्छ । त्यसलाई मानिसहरु हिप्पोपोटामसको पसिना आएको ठान्छन् । कसै कसैले चाहिँ हिप्पोपोटामसले रगतको पसिना निकाल्छ भन्ने पनि सोच्छन् । तर त्यो कुरा साँचो होइन ।

हिप्पोपोटामसको छालाबाट निक्लने तेलजस्तो चिल्लो पदार्थले लोसनको काम गर्छ । जीउडाल ठूलो भएपनि यसको छाला पातलो हुन्छ। त्यसैले त्यो चाँडै सुख्खा हुने गर्छ । त्यसको छालाबाट निक्लने चिल्लो पदार्थले छालालाई सुख्खा हुन र घामको तातोले फुट्नबाट जोगाउँछ।

हिप्पोपोटामस पनि दुईथरिको हुन्छ । सानो खालको हिप्पोपोटामस ६ फिट अग्लो र २७० किलोसम्म तौलको हुन्छ । यो हिप्पोपोटामस नदीको छेउछाउतिरको जंगलमा बढी समय बिताउने गर्छ । यो हिप्पोपोटामसको छालाको रंग कालो कालो, हरियो हरियो खालको हुन्छ। तर ठूलो खालको हिप्पोपोटामस चाहिँ ठूला ठूला नदीहरुमा पाइने गर्छ । धेरै समय नदीभित्रै डुबेर बिताउने ठूलो हिप्पोपोटामस १६ फिट अग्लो र ४ हजार किलोसम्म तौल भएको हुन्छ । ठूलो खालको हिप्पोपोटामसको छालाको रंग चाहिँ कालो कालो रातो रातो खालको हुन्छ । नदीमा बस्ने ठूलो खालको हिप्पोपोटामसले आधा घण्टासम्म सास रोकेर पानीभित्र बस्न सक्छ ।

दिनभरि पानीमा वा एकान्तमा बस्न रुचाउने हिप्पोपोटामस रातको समयमा खानेकुरा खोज्न बाहिर हिँड्डुल गर्छ । यो समूहमा बस्ने जनावर हो । एउटा समूहमा १० देखि १५ वटासम्म हिप्पोपोटामसहरु हुन सक्छन् । यो शाकाहारी जनावर हो । तर पनि आफ्नो छेउछाउ अरु जनावर आयो भने यसले टोक्न सक्छ ।  यसको निक्कै ठूलो मुख र तीखा दाँत हुन्छन् । यसको शरीरमा शक्ति पनि निक्कै धेरै हुन्छ । यसले नदीमा चल्ने डुंगालाई पल्टाउन सक्छ। यसले टोक्न पायो भने एउटै टोकाइमा सिंगो गोहीलाई दुई टुक्रा पारिदिन सक्छ ।

अफ्रिकामा वर्षैपिच्छे धेरै मानिसहरु हिप्पोपोटामसले टोकेर मारिने गर्छन् ।

Title photo: https://content.eol.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप