शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि लकडाउन ? सरकार भन्छ– ‘के गर्ने तपाईंकै हातमा छ’

आइतबार, १८ साउन २०७७, १५ : २८
आइतबार, १८ साउन २०७७

सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपछि यतिबेला जनजीवन सहज बनेको छ । सार्वजनिक बस चल्न थालेका छन् । उद्योग कलकारखाना, व्यापार, व्यवसाय पूर्ववत् अवस्थामा फर्किंदै छन् ।

साउन १५ गतेदेखि पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, ट्राभल एजेन्सीहरू पनि खुला गरेको छ । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना र हवाई उडान पनि सुरु गर्ने सरकारको तयारी छ ।

तर राजधानी काठमाडौँसहित देशका केही भागमा कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यसको जोखिम कम नभएको विज्ञहरूले बताउँदै आएका छन् । काठमाडौँस्थित प्रहरी मुख्यालयमा ७२ जना प्रहरीलाई सङ्क्रमण भएको छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखामा २ जनामा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा प्रमुख एसएसपीसहित ३ सय ७५  प्रहरी क्वारेन्टिनमा बसेका छन् । पहिलेभन्दा काठमाडौँमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको  छ ।

नेपालमा हालसम्म २० हजार ८६ जनामा कोरोना सङ्क्रमण भएकोमा  १४ हजार ४ सय ९२ जना उपचारपछि फर्किएका छन् । ५६ जनाको निधन भएको छ भने ५ हजार ५ सय ३८ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

सबैले मास्क लगाए लकडाउन हुँदैन : सीसीएमसी प्रवक्ता

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का प्रवक्ता महेन्द्र गुरागाईं फेरि लकडाउन हुने हल्ला चले पनि लकडाउन गर्ने सम्भावना नभएको बताउँछन् । उनले लकडाउन गर्ने कि नगर्ने भन्ने कुरा नागरिको हातमा रहेको बताउँछन् । उनले मास्क लगाउने, दूरी कायम गर्ने, स्वास्थ्य सुरक्षा सावधानी अपनाउने हो भने सङ्क्रमणको दर कम हुने र लकडाउन नहुने बताए । यसका लागि सबै पक्ष सचेत हुनुपर्ने प्रवक्ता गुरागाईंले रातोपाटीलाई बताए ।

उनले भने– ‘सबैले मास्क लगाएको छ कि छैन पुलिसले मात्र हेर्न सक्दैन, तपाईं हामी सबै सिपाही हुनुप¥यो । प्रहरीले हेरिरहेको छ, सीडीओबाट जरिवाना गराउने काम पनि भइरहेको छ । झन्डै ४० लाख जनसङ्ख्या छ, सबै प्रहरीले रुँघेर पनि सक्दैन । सबै प्रहरी बन्नुपर्ने अवस्था छ  ।  आफू सुरक्षित हुने अरूलाई पनि सुरक्षित राख्नुपर्ने भएको छ ।’

यस्तै खुला गरिएका सेवाहरू मापदण्डका आधारमा चलाउन सरकारले अनुगमनको काम थालेको उनले बताए । होटल रेस्टुराँहरू, पर्यटन क्षेत्र साउन १५ देखि खुला गरेपछि ती क्षेत्रमा मापदण्ड पूरा गरे नगरेको बारे अनुगमनका लागि पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । यस्तै बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको बारे अनुगमन गर्नका लागि वाणिज्य विभागलाई जिम्मेवारी दिइएको छ । त्यसका लागि गृहमन्त्रालयले सघाउने उनले बताए । सरकारले कोरोना सङ्क्रमण फैलिएको क्षेत्रबाट राजधानी प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण गरी मापदण्ड पूरा गरेर मात्र राजधानी भित्रिन दिने उनको भनाइ छ ।

उनले भने– ‘सङ्क्रमणको सम्भावना भएकाहरूको स्वाब सङ्कलनको काम भइरहेको छ  । सङ्क्रमण भएकाहरू अस्पताल जान्छन् । त्यो भएपछि सङ्क्रमण फैलिँदैन तर सबै यता र उता गर्ने हो भने भीडभाडमा बस्ने, मास्क नलगाउने, स्वास्थ्य प्रोटोकललाई पालना नगर्ने हो भने आफू पनि जोखिममा हुने भयो अरूलाई पनि जोखिममा पार्ने भयो । यसका लागि सबै सचेत हुन जरुरी छ ।’

भारतबाट आउनेहरूलाई सिमानामै पीसीआर परीक्षण गरेर क्वारेन्टिनमा राख्ने र त्यसो गर्दा कोरोना नफैलिने अपेक्षा लिएको प्रवक्ता गुरागाईंले बताए ।

दैनिक १० हजारसम्म स्वाब सङ्कलन गर्ने, बाहिरबाट आएकाहरूको कन्ट्याक्ट ट्रसिङका आधारमा परीक्षण गर्ने र सङ्क्रमण फैलिन नदिने सरकारले नीति लिएको उनले बताए । अहिले नेपालमा औसत दैनिक ३ सय हाराहामीमा सङ्क्रमित फेला परिरहेका छन् ।

भदौ १ बाट विद्यालय भर्ना मात्रै, विश्वविद्यालयको परीक्षा हुन सक्छ

सरकारले कोरोना भाइरस नियन्त्रणमा नआएसम्म बिद्यालयमा पठन पाठनको कामलाई अघि नबढाउने भएको छ । विद्यालयमा भर्ना गर्ने तर परिस्थिति सामान्य भएपछि मात्रै पढाइ सुरु गर्ने प्रवक्ता गुरागाईंले बताए । उनले भने– ‘कति विद्यार्थी हुन्छन् भनेर अभिलेखीकरण गर्नका लागि मात्रै विद्यालयलाई छोडिएको छ । पठनपाठन अब जोखिम छैन भन्ने बेलासम्म हुँदैन ।’

तर विश्वविद्यालयको बाँकी परीक्षा भने सुरक्षा सतर्कता अपनाएर गर्न सकिने उनले बताए ।

लकडाउनबारे जनस्वास्थ्यविद्का फरक फरक तर्क

सरकारले पूर्वतयारी बिना एकैचोटि लकडाउन खुला गरेका कारण सङ्क्रमण समुदाय स्तरमा फैलिएको र त्यो भयावह रूपमा अघि बढ्ने जनस्वास्थ्यविद्हरूले चिन्ता प्रकट गरेका छन् । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे सङ्क्रमण बढेको क्षेत्रमा १५ दिन कफ्र्यु लगाउनुपर्ने तर्क गर्छन् । यता डा. समीरमणि दीक्षित भने लकडाउनले मात्र समस्या समाधान नगर्ने भएकाले मास्क अनिवार्य गर्ने, व्यक्तिबिचको दूरी कायम गरेर यसको सामना गरेर जानुपर्ने तर्क राख्छन् ।

१५ दिन कफ्र्यु लगाउनुपर्छ : डा. रवीन्द्र पाण्डे

कोरोना सङ्क्रमण बढ्न थालेपछि जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले १५ दिन कफ्र्यु लगाउनुपर्ने बताएका छन् ।

उनले अधिकांश जिल्लामा सङ्क्रमण बढेको उल्लेख गर्दै नेपालका सिमाना जोडिएका भारतको उत्तर प्रदेश, बिहार तथा पश्चिम बङ्गालमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएकाले यस्तो अवस्थामा सिमाना सिल नगर्नु प्रत्युत्पादक बन्ने उल्लेख गरेका छन् । विराटनगर, इटहरी, कपिलवस्तु, कैलाली पहाडी जिल्ला बझाङ, दैलेख लगायत जिल्लाहरू क्लस्टर अफ केसेसबाट सङ्क्रमण अघि बढेकाले ठूलो मात्रामा सङ्क्रमण फैलिएको स्थानमा कफ्र्यु लगाउनुपर्ने बताउँछन् ।

सङ्क्रमित क्षेत्रबाट सुरक्षित ठाउँ खोज्दै काठमाडौँ उपत्यकामा मान्छेहरू आइरहेको हरेक व्यक्तिको पीसीआर परीक्षण गरेर रिपोर्ट आउनेबेलासम्म होल्डिङ सेन्टरमा राखेर प्रवेश गर्न अनुमति दिने, लुकेर आउने बाटोमा आवतजावत प्रतिबन्ध लगाउने तथा गम्भीर बिरामीलाई सीधै अस्पताल पुर्याउने व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।

काठमाडौँ उपत्याका, काठमाडौँ आउने बाटोका क्षेत्र, भारतसँग सिमाना जोडिएका जिल्लाहरू तथा सङ्क्रमण फैलिएका पहाडी जिल्ला तथा अन्य ठूलो जनघनत्व भएका सहरमा १५ दिन कफ्र्यु लगाउनु जरुरी रहेको उनको धारणा छ ।

डा. समीरमणि दीक्षित : लकडाउनले समस्या समाधान हुँदैन

लकडाउन खुकुलो पारेपछि सङ्क्रमण फैलिनु स्वाभाविक भए पनि त्यसलाई अतिरञ्जनाको रूपमा लिन नहुने डा. समीरमणि दीक्षित बताउँछन् । वीरगञ्ज, विराटनगरमा देखिएको सङ्क्रमण लकडाउन खुला गरेको कारण नभई पहिलेदेखि रहेको सङ्क्रमण देखा परेको उनले बताए । उनले सुरक्षा सतर्कता अपनाउनु महत्त्वपूर्ण भएकाले सङ्क्रमण बढ्दैमा लकडाउन गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको रातोपाटीलाई बताए ।

उनले भने– ‘लकडाउनले झन् पछि धकेल्छ, हामीले त यसको सामाना गरेर अघि बढ्नुपर्छ । अब भयावह हुन्छ, मान्छे मर्छ भनेर डराएर हुँदैन । अब सावधानीका उपायहरू अपनाएर यसको सामना गरेर जानुपर्छ ।’

सरकारले अब नाकामा कडा गर्ने भने पनि व्यवस्थित गरेर जानुपर्ने उनको सुझाव छ । राजधानी आएका मान्छेहरूको स्वाब लिने, परीक्षणको दायरा बढाउने, राज्यले सबैलाई मास्क लगाउन अनिवार्य गरिदिनुपर्ने, पसलमा कोही मास्क नलगाई आएको छ त्यसलाई रोक्ने उपायहरू अपनाउनुपर्ने उनको सुझाव छ ।

उनले भने– ‘यो सङ्क्रमण पहिले पनि थियो, पछि पनि रहिरहनेछ । व्यापक रूपमा बढेको छैन, पहिलेकै अवस्थाको निरन्तरता हो । दैनिक एक हजार दुई हजार त पुगेको छैन । सङ्क्रमणको दर पहिलेकै अवस्थामा रहेको छ । राज्यले परीक्षणको दायरा बढाएर लैजानुपर्छ । सरकारले नागरिकलाई पनि मास्क लगाऔँ, दूरी कायम गरौँ भन्नुप¥यो ।’

गृहमन्त्रालयले सार्वजनिक स्थलमा मास्क नलागाउनेलाई १ सय रुपैयाँ जरिवाना गर्ने कारबाही पनि अघि बढाएको छ । तर कोरोना रोकथामका लागि सर्वसाधारणले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पूरा गरेको नगरेको हेर्ने संयन्त्र भने प्रभावकारी हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप