शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारमा ओली र प्रचण्डबीच वार्ता शुरु

सोमबार, १९ साउन २०७७, १० : ३६
सोमबार, १९ साउन २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल शुरु भएको छ । आजको छलफलमा पनि सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई साथमा राखिएको छ ।

साउन १३ गते बसेको स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले हिजोदेखि प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेका छन् । हिजो भएकै वर्ताको निरन्तरता आजको वार्ता रहेको बालुवाटार स्रोतले जनाएको छ ।

हिजो भएको वार्तामा पनि दुवैजना अध्यक्ष आ–आफ्नो अडानमा अडिग भए पनि वार्तालाई निरन्तरता दिनेमा दुवैजनामा सहमति भए अनुसार छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले महाधिवेशन गराएर पार्टीको विवादलाई निकास दिनुपर्छ भन्ने अडानमा छन् भने अध्यक्ष प्रचण्डले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट निकास निकाल्नुपर्ने अडानमा छन् ।

अध्यक्ष प्रचण्डले हिजोको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई स्वेच्छाले निकास दिन आग्रह गरेको स्रोतले जनाएको छ । अर्थात् प्रधानमन्त्री वा अध्यक्ष एउटा कुनै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष प्रचण्डको आग्रह थियो ।

प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भने कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको छ । अध्यक्ष ओलीले आफू कुनै पनि हालतमा राजीनामा नदिने बरु महाधिवेशन गरेर महाधिवेशनबाट नेतृत्व चयन गरौँ भन्ने प्रस्ताव गरेका छन् ।

तर अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य माधवकुमार नेपाललगायतका नेताहरुले दुईटा पदमध्ये एउटाबाट राजीनामा दिनुपर्ने भन्दै आएका छन् तर प्रधानमन्त्री ओली त्यसप्रति कुनै ध्यान दिएका छैनन् । यसले गर्दा प्रधानमन्त्री अ‍ोली र अध्यक्ष प्रचण्डबीच दुरी बढ्दै गइरहेको थियो ।

साउन १३ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री ओलीले स्थगित गरेका थिए तर अध्यक्ष प्रचण्डले सोही दिन आफ्नो अध्यक्षतामा बैठक बसाएका थिए सो बैठकमा २९ जना स्थायी कमिटीका सदस्यको उपस्थिति थियो ।

प्रधानमन्त्री अ‍ोलीले स्थायी कमिटीको बैठक स्थगित गर्नु गलत भएको ठहर बैठकले गरेको थियो । त्यस्तै, सोही दिन पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव दुवै अध्यक्षलाई सम्बोधन गरेर सार्वजनिक गरेका थिए । सो प्रस्ताव प्रधानमन्त्री अ‍ोलीको पक्षमा थियो । अध्यक्ष प्रचण्डको गुटमा रहेका वामदेव गौतम एकाएक ओलीलाई सहयोग पुग्ने गरी ल्याएको प्रस्तावले अध्यक्ष प्रचण्ड रक्षात्मक अवस्थामा पुगेका छन् । वामदेव गौतम लगायतकाा उनका गुटमा रहेका मणी थापा, हरिबोल गजुरेल, रामबहादुर थापा, लेखराज भट्ट लगायतका नेताहरु समेत प्रचण्डको विपक्षमा बोल्न थालेपछि उनीमाथि दबाब बढेको छ ।

हिजोको छलफलमा पनि दुवै अध्यक्ष विगतको भन्दा शान्त थिए आआफ्नो कुरा शान्तपूर्वक राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप