वर्गको अन्त्य नै पितृसत्ताको अन्त्य हो : कमला भासिन

person access_timeभदौ २७, २०७४ chat_bubble_outline0
photo : The Policy Times

दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका लागि आवाज उठाइरहेकी नारीवादी सामाजिक अभिन्यता हुन्– कमला भासिन । सन् १९५६ अप्रिल २४ तारिखका दिन हालको पाकिस्तानमा पर्ने तत्कालीन मन्दिबाहुद्दिन जिल्लामा जन्मिएकी भासिन आफूलाई मध्यरातको बच्चा भन्न रुचाउँछिन् । भारत–पाकिस्तान विभाजनपछि उनको जन्मभूमि पाकिस्तानमा पर्यो भने कर्मभूमि भारतमा । दक्षिण एसियाली मुलुकहरूमा सञ्जाल बनाएर काम गरिरहेको महिला अधिकारवादी संस्था ‘सङ्गत’की संस्थापक भासिनले त्यस अभियानमा लाग्नुअघि सन् १९७६ देखि २००१ सम्म संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनमा काम गरेकी थिइन् । उनका ‘लाफिङ म्याटर्स’ (२००५), ‘एक्स्प्लोरिङ मस्कुलिनिटी’ (२००४), ‘बोर्डर्स एन्ड बाउन्ड्रिज : वुमन इन इन्डियाज् पार्टिसन’ (१९९८) र ‘ह्वाट इज पेट्रियार्क’ र चर्चित कविता ‘क्युँ कि मैं लड्की हुँ मुझे पढ्ना हैं’ (१९६५) प्रकाशित छन् । उनै भासिनसँग रातोपाटीका लागि नरेश ज्ञवाली र दिपेश शाहीले गरेको कुराकानी । 

लामो समयदेखि महिला अधिकार र मानव अधिकारको पक्षमा काम गर्दै हुनुहुन्छ । तपाईंलाई यही क्षेत्रमा काम गर्नुपर्छ भन्ने चेतना कहाँबाट आयो ?
सबैभन्दा पहिलो कुरा म महिलाहरूका लागि मात्र नभएर समग्र मानवका लागि मानव अधिकार, प्रजातन्त्र, शान्तिका लागि समाजमा रहेको जातिवाद, शोषण, विभेदका विरुद्ध लड्छु, काम गर्छु । त्यसपछि म जेन्डरका पक्षमा पनि काम गर्छु । किनभने समाजमा म एउटी महिला मात्र होइन । मेरो आफ्नो जाति, वर्ग, राष्ट्रियता र भाषा पनि छ । त्यही भएर आज म तपाईं पुरुष साथीहरूसँग बसिरहेकी छु, कुरा गरिरहेकी छु । म अहिले महिला मात्र भएर बसेकी होइन । 

म भारतकी दलित र गरिब महिला हुन्थेँ भने तपाईंहरूसँग यसरी बस्न सक्ने थिइनँ । म त अहिले ब्राह्मणहरूको दिशा सफा गरिरहेकी हुन्थेँ । आज म जहाँ छु, त्यसमा मेरो क्लासले, वर्गले मेरो पढाइलेखाइ तथा अङ्ग्रेजी भाषाले फरक पारिरहेको हुन्छ । हाम्रो विभिन्न पृष्ठभूमिलाई एकै ठाउँमा ल्याइपुर्याउने कुरालाई मैले ‘इन्टरसेक्सनालिटी’ भन्ने गरेकी छु । इन्टरसेक्सनालिटी भनेको चौबाटो हो । जहाँ मेरो वर्ग, मेरो रूपरङ्ग, मेरो पढाइलेखाइ अनि मेरो महिला हुनुको अर्थ भेटिन्छ । यही इन्टरसेक्सनालिटीका कारणले प्रत्येक महिला प्रत्येक पुरुषभन्दा कमजोर छैनन् भन्ने मेरो बुझाइ हो । 

यसको अर्थ तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ तपाईंको लिङ्गले भन्दा वर्गले त्यस कुरालाई बढी निर्धारण गरी रहेको हुन्छ भन्न खोज्नु भएको ?
हो, म मेरो वर्गका कारण चालक राख्छु । जसले मैले भनेको कुरा मान्न बाध्य हुन्छ । म विभिन्न कार्यक्रममा हिँड्दा धेरैजसो मेरा पुरुष पियन हुन्छन्, जसलाई म काम लगाउँछु । भन्नुको अर्थ पैसा भएकी कुलीन महिला गरिब पुरुषमाथि पनि राम्रै हुकुम चलाइरहेका हुन्छन् । उनीहरू महिला भनेर हेपिइने होइन कि अरूलाई हेपिरहेका हुन्छन् । कसरी ? यो सबै हुनुमा उनको पैसाले, वर्गले भूमिका खेलिरहेको हुन्छ न कि लिङ्गले । त्यो जेन्डरका कारण होइन, जेन्डरभन्दा मलाई सम्झना भयो नेपालमा जेन्डरलाई लिङ्गको अर्थमा प्रयोग गर्ने गरिन्छ, त्यो सही शब्द होइन । 

जेन्डरलाई लिङ्ग भन्ने हो भने तपाईंले जेन्डरको बहस नै अन्त्य गरिदिनुभयो । किनभने नेपालीमा लिङ्गको दुईटा अर्थ हुन्छ । पेनिस (पुरुषको यौनाङ्ग) र सेक्स अर्थात भाले, पोथी । तर जेन्डर भनेका यी दुवैभन्दा निकै भिन्न हो । जेन्डर भनेको सामाजिक लिङ्ग हो । सामाजिक लिङ्गको हिसाबले नरेश तपाईंको कपाल लामो होइन कि छोटो हुनुपर्ने थियो र मेरो कपाल छोटो होइन कि लामो हुनुपर्ने थियो । समाजले तँ केटा अथवा केटी भएकै आधारमा तैँले सामाजिक मान्यता अनुरूप बाँच्नु पर्छ भन्छ भने त्यो समाजिक लिङ्ग अर्थात जेन्डर हो । तर लिङ्ग भनेको बायोलोजिकल कुरा हो, जुन प्राकृतिक हुन्छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने कपाल पुरुषहरूको पनि ठूलो हुन्छ, महिलाको पनि ठूलो हुन्छ । तर समाजले पुरुषलाई कपाल काट्न भन्छ । महिलालाई कपाल पाल्न भन्छ । पुरुषलाई समाजले पाइन्ट लगाएर हिँड भन्छ तर महिलाले पाइन्ट लगाई भने ल हेर कस्ती आइमाई, पाश्चात्य सभ्यताको असर आदि भन्छ । त्यसैले जेन्डर भनेको समाजले निर्माण गरेको सामाजिक, सांस्कृतिक परिभाषा हो । 

मानव अधिकारकर्मी होस् अथवा महिला अधिकारकर्मी उनीहरूले उठाएको कुरा के हो भने महिला र पुरुषमा जस्तो भेदभाव हुन्छ, त्यो प्राकृतिक होइन । त्यो सबै समाजबाट निर्मित हो । दलित र ब्राह्मणका बीच, धनी र गरिबका बीच, गोरा र कालाका बीच भेदभाव समाजले नै निर्माण गरेको हो । न कि प्रकृतिले । प्रकृतिले गोरा र काला मान्छे चाहिँ बनाएको हो । तर प्रकृतिले कहिल्यै पनि गोराले शासन गर्ने हो र काला शासित हुने हो भनेर भनेन । प्रकृतिले कहिलै पनि अमेरिकी गोराहरूले विश्वभर रइँदालो फैलाउने भनेर कहिलै पनि भनेन । 

प्रकृतिले हजारौँ रङ्ग बनाएको हो । तर उसले गुलाफको फूल र मखमली फूलमा कुन महत्वपूर्ण हो भनेर कहिलै भनेन । उसले कहिलै हात्ती र कमिला आफ्नो अकारका कारण एउटा महत्वपूर्ण र अर्को कम महत्वपूर्ण हो भनेर भनेन । प्रकृतिले कमिला कमिलाको ठाउँमा र हात्ती हात्तीको ठाउँमा उत्तिकै महत्वपूर्ण छन् भनेको हो । महिला महिलाको ठाउँमा र पुरुष पुरुषको ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । त्यसैले पुरुष हुनुको अर्थ महिलामाथि शासन गर्नु हो भन्ने धारणा गलत धारणा हो । यो विभेदलाई समाजले निर्माण गरेको हो । प्रकृतिले भेद बनाएको हो, समाजले भेदलाई विभेदमा परिणत गरेको हो ।
 
प्राकृतिक बनावटले महिला र पुरुषमा केही भिन्नता अवश्य छ, त्यो कुन हदसम्म हो सही हो र कुन हदसम्म मिथक हो ?
त्यही भएरै फेमिनिस्टहरूले सेक्स र जेन्डरको कुरा ल्याएका हुन् । यसलाई छुट्याएर हेर्नुपर्ने हुन्छ । जस्तै, तपाईंकी बहिनीलाई तँ बाहिर जाने होइन भनिन्छ, के उसका खुट्टा छैन र ? तँ केटी होस राति हिँड्न मिल्दैन भनिन्छ, किन उसलाई रतन्धो छ र ? तँ केटी होस् त्यसैले सुसेल्न हुन्न भनिन्छ, किन मेरो भाइले लिङ्गले सुसेल्छ र ? कुरा के हो भने जे काम महिलाको योनी, पाठेघर र स्तनद्वारा हुन्छ त्यो काम पुरुष लिङ्गले कदापी गर्न सक्दैन । त्यसैले मेरो भनाइ के हो भने पुरुष शरीरको कुनै कामको छैन । अनि हिन चाहिँ महिलालाई बनाउने ? यो मिल्दो कुरा भएन । 

गरिबीबारे काम गर्दै गर्दा उनले वर्गलाई बुझ्दै गएँ । वर्गबारे बुझ्दै गर्दा उनले पितृसत्ता बुझ्दै गए । पितृसत्ता बुझ्दै जाँदा उनी महिला पुरुषको सम्बन्ध र त्यसमा जेलिएको सम्पत्तिको उद्भव र सञ्चयमा पुगेँ । करोडौँ वर्षसम्म हामी आदिम साम्यवादमा रहँदा कुनै भेदभाव थिएन ।

यसबाहेक पुरुषले बच्चा काखमा लिन सक्छन् । बच्चाको दिशा सफा गर्न सक्छन् । जे कुरा हातले गर्न सकिन्छ सबै पुरुषहरूले गर्न मिल्छ । त्यसमा हिनता पाल्नु आवश्यक छैन । हामीले पनि जे हातखुट्टाले गर्न सक्छौँ, त्यो गर्दा हुन्छ । जस्तै मोटरसाइकल चलाउने, बन्दुक पड्काउने, हलो जोत्ने, हवाइजाहाज चलाउने आदि । किनभने त्यसको सञ्चालन लिङ्गले गर्ने होइन । त्यसैले मैले सेक्सलाई प्राकृतिक लिङ्ग भन्ने गरेकी छु । 

महिलामाथिको विभेदको जरो वर्ग विभेदमा गएर जोडिन्छ भने वर्गको विभेद र महिलामाथिको विभेद समाजमा कसरी स्थापित भयो ? स्पष्ट पारी दिनुस न ।
हामी पितृसत्तात्मक व्यावस्थाको कुरा गर्छौँ भने हामीले यो कहाँबाट जन्मियो भनेर खोज्नुपर्ने हुन्छ । जतिबेला हामी बाँदरबाट मानव बन्यौँ के त्यति नै बेलादेखि हामीले महिलामाथि कुटपिट गर्न थालिसकेका थियाँै ? के त्यहीँबाट महिलाले पुरुषलाई पति परमेश्वर मान्न थालिसकेका थिए ? यो विषयमा पहिलो अध्ययन फ्रेडरिक एङ्गेल्सले गरेको तथ्य हाम्रोसामु आउँछ । सन् १८८५ मा उनले ‘ओरिजिन अफ प्राइभेट प्रोपटी फेमली एन्ड द स्टेट’ शीर्षकमा एउटा किताब लेखेँ । उनले यो पुस्तक पितृसत्ताको अध्ययन गरेर लेखेका होइनन् । उनी वर्गको उद्भव कहाँबाट हुन्छ भनेर अध्ययन गरिरहेका थिएँ । 

गरिबीबारे काम गर्दै गर्दा उनले वर्गलाई बुझ्दै गएँ । वर्गबारे बुझ्दै गर्दा उनले पितृसत्ता बुझ्दै गए । पितृसत्ता बुझ्दै जाँदा उनी महिला पुरुषको सम्बन्ध र त्यसमा जेलिएको सम्पत्तिको उद्भव र सञ्चयमा पुगेँ । करोडौँ वर्षसम्म हामी आदिम साम्यवादमा रहँदा कुनै भेदभाव थिएन । हामी पनि जङ्गली जनावर सरह जीवन व्यतित गर्दैैथियौँ । करोडौँ वर्षपछि हामीले प्रकतिमाथि नियन्त्रण कायम गर्न सिक्यौँ । जनावरबाट काम लिन थाल्यौँ । फेरि हामीले खेती सिक्याँै । अनि जुन हतियारले हामीले जनावर पक्रन्थ्यौँ त्यही हतियारबाट हामीले मान्छे पक्रन थाल्यौँ अनि दास प्रथाको सुरुवात भयो । 

यो समग्र चक्रलाई अध्ययन गरेर एङ्गेल्सले वर्ग र महिलामाथिको विभेदको कारण व्यक्तिगत सम्पत्ति रहेको पत्ता लगाए । पहिले मानिस दुई चीजलाई पूजा गर्थे पहिलो, प्रकृति । किनभने मानिस प्रकृतिसँग डराउँथे । दोस्रो, महिला । किनभने ऊ मान्छे जन्माउँथी । मानिसले प्रकृतिको पूजा अहिले पनि गर्छ तर महिलामाथि विभेद गर्छ । किनभने सम्पत्तिको स्रोतमाथि उसको नियन्त्रण छ । आदिम साम्यवादी युगमा पुरुषलाई करोडौँ वर्षसम्म पनि बच्चा जन्माउनमा उनीहरूको पनि हात हुन्छ भन्ने थाहा थिएन । त्यसैले बच्चा जन्माउनु भनेको कुनै रोग होइन । यो त प्राकृतिक कुरा हो । यो अशुद्ध रगत पनि होइन कि उनीहरूलाई छाउपडीको नाममा गुफामा पठाइयोस् । 

भन्नुको अर्थ, चेतनाका हिसाबले पुरुषहरू महिलाभन्दा पछि विकसित भए ?
जब पशुपालन पहिलो पटक आरम्भ भयो, त्यसपछि बल्ल मानिसमा इन्टरकोर्स जस्तो केही कुरा हुन्छ । यसले बच्चा जन्मन भूमिका खेल्छ भन्ने चेतना भयो । जसरी हामीलाई बीउ र रूखबीच कुनै सम्बन्ध हुन्छ भन्ने थाहा थिएन । त्यसैगरी त्यसबारे पनि थाहा थिएन । त्यसबेला बच्चा जन्माउने जस्तो प्रक्रियाले पनि महिलाहरू पुरुषहरूको तुलनामा एउँटै ठाउँमा धेरै बस्थे । त्यसरी बसिरहँदा उनले के देखे भने एउटा बीउबाट बिरुवाको जन्म हुँदो रहेछ । त्यसलाई अन्न, फलको रूपमा प्रयोग गर्न मिल्दो रहेछ । 

त्यसपछि कृषिको काम महिलाहरूले सुरु गरे । कृषिको कामसँगै उनीहरू खाद्यान्नको संरक्षणमा लागे । त्यसपछि महिलाहरूले क्र्याफ्टको काम थालेको हामीले अध्ययनमा पाउँछौँ । केही फेमेनिस्टको भनाइ के छ भने महिलाहरूले नै औजार समेत बनाए । तर पुरुषलाई त काम गरेर देखाउने लालसा थियो । त्यसैले फेमिनिस्ट साइकोलोजिस्टहरूले यसको व्याख्या गर्दै पुरुषहरूले आफूलाई सुपेरियर देखाउन ठूला ठूला भवन, बम, मिसाइल, हतियार कारखाना बनाए भन्ने भनाइ छ । जुन लिङ्गझै देखिन्छन् । यी भनेका मुर्दा विम्बहरू हुन् जुन पुरुषहरूले बनाए ।
 
जनजाति परिवार व्यवस्थामा महिलाको जस्तो खाले महत्वपूर्ण भूमिका हुन्छ के त्यसलाई मातृसत्ताको अभ्यास भन्न मिल्छ ?
हुँदैन, त्यसलाई हामीले मातृसत्तात्मक होइन कि मातृवंशीय, मातृस्थानीय भन्न सक्छौँ । उनीहरूको वंश आमाद्वारा चल्छ । जस्तै, भारतको खासी समुदायमा आमाको सम्पत्ति छोरीलाई जान्छ । छोरीको सम्पत्ति उसकी छोरीलाई जान्छ । जुन हाम्रो समुदायमा बुबाको सम्पत्ति छोरामा हस्तान्तरण हुन्छ । त्यस्तो परिवार व्यवस्थालाई तपाईं मातृसत्तात्मक होइन कि मातृवंशीय भन्न सक्नु हुन्छ । त्यस्तो समाजमा केटाको विवाहपछि ऊ केटीको घर जान्छ । किनभने त्यो समाजमा छोरालाई पैतृक सम्पत्तिको अधिकार हुँदैन । सम्पत्तिको अधिकार छोरामा हस्तान्तरण हुने समाजमा छोरी छोराको घर जानुपर्ने हुन्छ । 

जब समाजमा निजी सम्पत्तिको प्रचलन सुरु भयो सबैभन्दा पहिले पुरुषहरूले यो सम्पत्ति कसमा हस्तान्तरण हुने भनेर घिनलाग्दो प्रश्न गरे । यसभन्दा पहिले करोडौँ वर्षसम्म पनि यो घिनलाग्दो प्रश्न उठेको थिएन । त्यति बेला सबैलाई कसरी बाँच्ने भन्ने मात्रै थियो । पुरुषहरूले सम्पत्ति हस्तान्तरणको सवाल उठाए किनभने उनीहरू सत्ताको पछि परेका थिए ।

त्यसो भए मातृसत्ता कस्तो अवस्थालाई बुझ्ने ? के पितृसत्ताको स्थानमा मातृसत्ता हुनुपर्छ, भन्ने तपाईंको भनाइ हो ?
मातृसत्ता त्यतिबेला मात्र हुन्थ्यो जब सरकार, धर्म, सेना आदिको नेतृत्व महिलाले लिने थिए । तर ऐतिहासिकरूपमा यस्तो कुनै समाज रहेको प्रमाण अहिलेसम्म फेला परेको छैन । रह्यो तपाईंको दोस्रो प्रश्न, कि के म पितृसत्ताको स्थानमा मातृसत्ता भएको समाज व्यवस्था चाहन्छुु ? अझ स्पष्ट पारौँ, दक्षिण एसियाकी कुनै पनि महिला यस्ती छैन, जसले पितृसत्ताको ठाउँमा मातृसत्ता चाहिन्छ भनेकी होस् । किनभने पितृसत्ता रोग हो, अन्याय हो, असमानता हो । ठ्याक्कै त्यसैगरी मातृसत्ता हुन्थ्यो भने हामी एउटा रोगदेखि अर्को रोगमा पुग्थ्यौँ । पितृसत्ता चाहियो भन्नुको अर्थ हामीलाई मलेरिया चाहिँदैन, निमोनिया देऊ भने जस्तै हो । 

हामीले भनेको र चाहेको त्यस्तो होइन । हामीले त राम्रो, स्वास्थ समाज चाहियो पो  भनेको हो । भन्नुको अर्थ हामीलाई पितृसत्ताको बदलामा मात्र समानता चाहिएको छ । केटाहरू पनि फलून् फुलून्, उनीहरूको पनि उन्नति होस । केटीहरू पनि फलून् फुलून् उनीहरूको पनि उन्नति होस् । केटाहरूलाई आफ्नो बहिनीको सुरक्षा गर्न नपरोस् । जस्तो अहिलेको समाजमा हुने गरेको छ । यहाँ त पाँच सालको छोरालाई २० वर्षकी छोरीको सुरक्षामा खटाउने चलन छ । त्यस्तो अवस्थाको अन्त्य र समानताको प्रत्याभूति नै स्वस्थ समाजको मानक हो । 

हामीले त्यस्तो समाज निर्माण गर्न खोजेको हो, जहाँ सम्पत्तिको अधिकार छोरा र छोरीमा समान रूपमा वितरण गरियोस । जहाँ न्याय समान रूपमा स्थापित होस । जहाँ महिला भएकै आधारमा कुनै महिला छाउपडीमा बस्नु नपरोस् । तर अहिले त सारा अधिकार र सम्पत्तिमा पुरुषहरूले सर्पलेझैँ कुन्डली बेरेर बसेका छन् । हामी यस्तो कुराको अन्त्य चाहन्छौँ । 

मैले जानेको के हो भने मानिसहरूको जन्म एउटै ठाउँबाट हुन्छ । त्यसको नाम योनी हो । कहिलेकाहीँ योनीबाट समस्या भएमा पेटबाट निस्कने हो । त्यसबाहेकको ठाउँ मलाई त थाहा छैन । यो शासक ब्राह्मणहरूले तयार पारेको भ्रम र शासन जारी राख्ने जुक्ति मात्र हो । 

तपाईंको बुझाइमा पितृसत्ताको सुरुवात कहिले र कसरी भयो ?
जब समाजमा निजी सम्पत्तिको प्रचलन सुरु भयो सबैभन्दा पहिले पुरुषहरूले यो सम्पत्ति कसमा हस्तान्तरण हुने भनेर घिनलाग्दो प्रश्न गरे । यसभन्दा पहिले करोडौँ वर्षसम्म पनि यो घिनलाग्दो प्रश्न उठेको थिएन । त्यति बेला सबैलाई कसरी बाँच्ने भन्ने मात्रै थियो । पुरुषहरूले सम्पत्ति हस्तान्तरणको सवाल उठाए किनभने उनीहरू सत्ताको पछि परेका थिए । एङ्गेल्सको भनाइमा निजी सम्पत्तिको सृजनासँगै पुरुषले आफ्नो सम्पत्ति छोरामा हस्तान्तरण हुनुपर्छ भने । तर त्यसबेलासम्म पुरुषहरूलाई के समेत थाहा थिएन भने मेरो छोरा कुन हो । किनभने त्यसबेलासम्म पुरुष र स्त्री सगोलमा बस्थे । 

सगोलमा बस्दै गरेकाहरू बीच मन परेका एकअर्काको हात समातेर उनीहरू सहवास गर्थे । तर सम्पत्ति हस्तान्तरणको विचारसँगै पुरुषहरूले विवाह नामक संस्थाको विकास गरे र श्रीमतीलाई निजी वस्तुसरह एकनिष्ठ विवाह प्रणालीअन्तर्गत चार पर्खालभित्र कैद गर्न थाले । त्यसबेलाको अवस्था बुझ्न आज पनि कुकुर र बिरालाका छाउरा र उनीहरूको सन्तान उत्पादन प्रक्रियालाई हेरे पुग्छ । तपाईंले घर वरपर कुकुर बिरालाका छाउरा छाउरीको बुबा कुन हो भनेर कहिलै थाहा पाउनु भएको छ ? तपार्इंलाई थाहा हुन्छ त केवल तीनका आमाको । त्यसैले सम्पत्तिको हस्तान्तरण, श्रीमतीलाई कैद गर्न विवाह नामक संस्थाको जन्म र यसको सामाजिक धारणा निर्माण मार्फत नै पितृसत्ता मजबुत भएको हो । 

महिलालाई घरमा कैद गर्नुको निहित उद्देश्य सत्ता र सम्पत्ति हस्तान्तरण मात्र थियो, कि अरू पनि केही ? 
अध्ययन गर्दै जाँदा अरू दरिला तर्कहरू भेटिँदैनन् । जति निजी सम्पत्तिसँग त्यसको सम्बन्ध जोडिन्छ । यही नै वर्ग निर्माणको आरम्भिक चरण थियो । त्यसपछि पुरुषहरूले धेरैभन्दा धेरै जनावर पक्रन थाले । धेरैभन्दा धेरै दास बनाउन थाले । धेरैभन्दा धेरै जमिनमाथिको स्वामित्व स्थापित गर्न थाले । त्यहीँबाट दास र पितृसत्ताको सुरुवात भएको हो । तपाईं दक्षिण एसियाको सन्दर्भमा कुरा गर्नुहुन्छ भने त्यति नै बेला यहाँ जाति व्यवस्थाको पनि सृजना गरियो । 

जाति व्यवस्थाको सृजना गर्नुको कारण स्पष्ट थियो । धेरैैभन्दा धेरै नियन्त्रण । ब्राह्मण टाउकोबाट शुद्र खुट्टाबाट निस्किएको भन्ने कुरा सत्तासँग को नजिक र को टाढा भन्ने कुरासँग जोडिएको थियो । मैले जानेको के हो भने मानिसहरूको जन्म एउटै ठाउँबाट हुन्छ । त्यसको नाम योनी हो । कहिलेकाहीँ योनीबाट समस्या भएमा पेटबाट निस्कने हो । त्यसबाहेकको ठाउँ मलाई त थाहा छैन । यो शासक ब्राह्मणहरूले तयार पारेको भ्रम र शासन जारी राख्ने जुक्ति मात्र हो । 

सुन्दरी प्रतियोगिता कसले चलाउँछ ? कहिल्यै कुनै पनि गरिब महिला सुन्दरी प्रतियोगितामा पुग्न सक्छे ? आज मिडिया र कस्मेटिक उद्योगले सुन्दरताको मानक तय गर्छन् ता कि ती उद्योगका व्यापारीले आफ्ना सामान बेच्न सकून ।

बितेका दस वर्षमा दक्षिण एसियामा महिलाको स्वरूपमा कस्ता परिवर्तन देखा परेको अनुभूत गर्नुभएको छ ?
नेपालबाट यस कुराको सुरुवात गरौँ । संविधानसभाको निर्वाचन मार्फत नेपालले पूरै दक्षिण एसियामै सबैभन्दा राम्रो संविधान निर्माण गर्यो । अब त्यसलाई जनताले कति मान्नेछन्, त्यो जनतालाई थाहा छ । तर संसदमा ३० प्रतिशत महिला प्रतिनिधित्व अन्यत्र कहीँ छैन । सम्पत्ति कानुनमा परिवर्तन देखिएको छ । संविधानले होमो सेक्सुआलिटीलाई स्विकारेको छ । यस्ता अरू पनि केही कुरा संविधानमा समेटिएको छ, जुन सकारात्मक कुरा हुन् । यसको साथै आज यदि कुनै महिला कुटिन्छे भने पूरै साउथ एसियाका महिलालाई के थाहा छ भने कुटिनु उसको भाग्यको कुरा होइन । यो अन्ययाय हो । यो गैरकानुनी हो । अनि ऊ त्यस विरुद्धमा आवाज उठाउँछे । 

आज महिला छाउपडी गोठमा जान त जान्छे तर उसलाई थाहा छ, यो गलत हो । पहिले यो गलत हो भन्ने उसलाई समेत थाहा थिएन । ऊ त्यस कुरालाई भाग्य भनेर स्वीकार गर्थी । आज अन्याय भनेर स्वीकार गरिरहेकी छे । हिजोआज महिला आन्दोलनले पैदा गरेको अक्सिजन सबै ठाउँमा पुगिसकेको छ । त्यही भएर महिलाहरू विद्रोह बोल्न सक्छन् । महिला आन्दोलनले पितृसत्तात्मक ढाँचालाई भत्काउन सकेको छैन तर महिलाहरूले यो गलत हो भन्ने बुझिसकेका छन् । महिलाहरू महत्वपूर्ण ठाउँमा आएका छन् । जस्तै नेपालमा राष्ट्रपति, पूर्व प्रधानन्यायाधीश, न्यायाधीश, संसद, सभामुख आदि । यस्तै मुहार तपाईंले समग्र दक्षिण एसियामा देख्न सक्नु हुन्छ । यो निकै ठूलो परिवर्तन हो । यसका साथसाथै केही नकारात्मक परिवर्तन पनि देखापरेका छन् । पुँजीवादी पितृसत्ता यति व्यापक स्तरमा हावि भएको छ कि एक पाइला अगाडि चाल्दा चार पाइला पछाडि धकेल्ने प्रयास गर्छ । 

दक्षिण एसियाली महिलाहरूमा पुँजीवादको प्रभाव कुन रूपमा देख्न पाइन्छ ?
दक्षिण एसियाका महिलाको मस्तिष्कमा कस्मेटिक उद्योगको सुन्दरताको मानक छिरेको छ । उनीहरूलाई जुनसुकै मूल्यमा पनि गोरो हुनुपर्नेछ । उनीहरूलाई सोकेसमा सजाइएको बारबी डल्समा परिणत गरिएको छ । त्यसैगरी टोयको व्यापार फस्टाएको छ, जसमा महिलाहरूलाई औजारको रूपमा प्रयोग गरिएको छ । समग्र मिडिया उद्योग, हलिउड र बलिउड उद्योग ९५ प्रतिशत सिनेमाले पितृसत्ताको व्यापार गरिरहेका छन् । 

वर्षमा जम्मा एउटा दुईटा मात्र सिनेमा बन्छन्, जसले महिलाका सामाजिक मूल्यहरूलाई बोक्छन् । चालीस वर्षअघि महिलाहरूको तस्करी र ओसारपसार त्यति ठूलो समस्याको रूपमा थिएन तर आज यो सबैभन्दा ठूलो समस्या हो । भन्नुको अर्थ पुँजीवाद मानवीय मूल्यलाई पनि व्यापारका रूपमा विकसित गर्दैछ । पैसा कमाउनु नै उसको एक मात्र उद्देश्य हो । त्यसैले प्रोनोग्राफी आज विलियन डरलको उद्योगमा विकसित भइसकेको छ ।

तीजमा नेपालका महिलाहरूले करोडौँ रुपियाँको चुरा लगाएर भारतीय व्यापारीलई धनी बनाइरहेका हुन्छन् । त्यसको अर्थ के हो भन्ने मैले अझैसम्म बुझ्न सकेकी छैन । भारतालाई गाली गरेर केही हुँदैन । तपाईं के किन्दै हुनुहुन्छ र के बेच्दैहुनुहुन्छ भन्ने बुझनुपर्ने हुन्छ ।

सुन्दरताका मानकहरू कसरी निर्धारण गरिन्छन् ? 
सुन्दरी प्रतियोगिता कसले चलाउँछ ? कहिल्यै कुनै पनि गरिब महिला सुन्दरी प्रतियोगितामा पुग्न सक्छे ? आज मिडिया र कस्मेटिक उद्योगले सुन्दरताको मानक तय गर्छन् ता कि ती उद्योगका व्यापारीले आफ्ना सामान बेच्न सकून । दक्षिण एसियाकालाई गोरो किन हुनुपर्ने हो ? मैले अहिलेसम्म पनि बुझेकी छैन । मेरो कम्मर कस्तो हुनुपर्ने हो भनेर कसले तय गर्ने हो । सुन्दरता भनेको त आन्तरिक कुरा हो । तर मिडिया, सिरियल र सौन्दर्य प्रसाधकहरूले सुन्दरताको मानक बाहिरी छाला बनाइदिएका छन् । खास सौन्दर्य त हाम्रो क्यारेक्टर, हाम्रो स्मार्टनेससँग जोडिएको हुन्छ । सौन्दर्य हाम्रो केही गरौँ भन्ने भोकसँग जोडिएको हुन्छ । सौन्दर्यको शरीरसँग के लिनुदिनु ? त्यो पनि महिलाको शरीरसँग मात्र ?

यी कुराले महिलालाई एउटा पुतला मात्र बनाइदिन्छ । नेपालमा मात्र होइन, समग्र दक्षिण एसियामा केही मिडिल क्लास महिलालाई पुँजीवादले पढेलेखेको आधारमा जागिर दिएको छ । तर पूरै कृषि प्रणाली नष्ट हुँदैछ । क्र्याफ्ट् बनाउने हातहरू खतरामा छन् । दिनमा जसले दस बीस गरेर आफ्नो परिवारको गुजारा चलाइरहेका थिए, आज उनीहरू ठूलो उद्योगले गर्दा विस्तापित भएका छन् । पुँजीवादले एउटा जागिरको बदलामा १० जागिर खोसिरहेको छ । पहिले सानासाना होटेल हुन्थे आज म्याक्डोनल र क्याफे कफी डेले सबैको जागिर खोसी रहेको छ । यहाँकाले रगत पसिना एक गरेर कमाउने तर अमेरिका भारतले लाने भइरहेको छ । 

तीजमा नेपालका महिलाहरूले करोडौँ रुपियाँको चुरा लगाएर भारतीय व्यापारीलई धनी बनाइरहेका हुन्छन् । त्यसको अर्थ के हो भन्ने मैले अझैसम्म बुझ्न सकेकी छैन । भारतालाई गाली गरेर केही हुँदैन । तपाईं के किन्दै हुनुहुन्छ र के बेच्दैहुनुहुन्छ भन्ने बुझनुपर्ने हुन्छ । भन्नुको अर्थ एक पाइला अगाडि बढछौँ दुई पाइला पछाडि हट्छौँ । त्यसैले जति बेलासम्म राजनीतिक अधिकारका साथसाथै आर्थिक अधिकारले सम्पन्न हुँदैनौँ त्यतिबेलासम्म महिलाको वास्तविक स्वतन्त्रता सम्भव हुँदैन । 
 

तस्विर : द हेराल्ड डन

नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ