शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१५ लाख डिम्याट खाता दोस्रो बजारको पहुँच बाहिर

कारोबार खातामा कुन ब्रोकर अगाडि ?
सोमबार, १९ साउन २०७७, १४ : ५७
सोमबार, १९ साउन २०७७

काठमाडौं । सेयर खरिदबिक्रीका लागि खोलिएका १५ लाख भन्दा बढी खाताहरु अझै पनि दोस्रो बजारको पहुँचमा पुग्न सकेका छैनन् । दोस्रो बजारबारे ज्ञानको अभाव र जोखिम लिन नचाहने प्रवृत्तिका कारण धेरैको रोजाई बन्न नसकेको दोस्रो बजारमा जोडिनेको संख्या मात्रै पनि २ लाख ६४ हजारमा सीमति भएको हो । जबकी हालसम्म पौने १८ लाखले डिम्याट खाता खोलिसकेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार दोस्रो बजारमा गत शुक्रबारसम्म २ लाख ६४ हजार लगानीकर्ताले कारोबार खाता खोलेका छन् । जुलाई महिनाको अन्त्य (साउन १६) गतेसम्म २ लाख ६४ हजार ६ सय ३३ जना लगानीकर्ता बजारसँग प्रत्यक्ष रुपमा जोडिएका हुन् । सेयरको खुला कारोबारका लागि  नेप्सेको अनुमति पाएका ५९ वटा दलाल कम्पनीमार्फत् सो संख्याका लागनीकर्ताहरु दैनिक बजार कारोबारसँग जोडिएका हुन् । 

अभौतिक सेयरको केन्द्रीय निक्षेप प्रणाली र क्लियरिङको काम गर्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा डिम्याट खाता खोल्नेको संख्या भने  १७ लाख ७६ हजार पुगेको छ । ७६ वटा निक्षेप पार्टनर (डीपी) मार्फत् सो संख्यामा डिक्याट एकाउन्ट खुलेको हो । यद्यपि यसमा दोहोरो खाता (एउटै व्यक्तिले दुईवटा डिम्याट खाता) पनि समावेश हुने गरेको छ । 

डिम्याट खाता र कारोबार खाताको तुलना गर्दा १५ प्रतिशत सेयरधनी मात्रै दोस्रो बजारसँग जोडिएको पाइएको छ । अर्थात् अझै करिब १५ लाख १२ हजार लगानीकर्ताले दोस्रो बजारबाट सेयर किन्न वा बेच्न सक्दैनन् । आकर्षक कम्पनीहरुको सेयर खुल्दा अहिले पनि ४ लाख ५० हजारको हाराहारीमा आवेदन पर्ने गरेको छ । त्यसरी निरन्तर रुपमा आवेदन दिनेमध्ये आधाले पनि दोस्रो बजारमा प्रत्यक्ष संलग्नता नजनाएको पाइएको छ । 

कारोबार खातामा कुन ब्रोकर अगाडि ? 
प्रत्यक्ष बजार कारोबारमा संलग्न ५९ ब्रोकरमध्ये सबैभन्दा धेरै कारोबार खाता दिपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नम्बर ३८) ले खोलेको छ । सो ब्रोकरले १३ हजार २ सय ३३ जनाको सेयर खाता खोलेको छ । सबैभन्दा कम कारोबार गर्ने ब्रोकर भो अरुण सेक्युरिटिज (ब्रोकर नम्बर ३) छ । सो ब्रोकरले हालसम्म जम्मा ९ सय ९० जनाको मात्रै कारोबार खाता खोलेको छ । 

त्यस्तै, इम्पेरियल सेक्युरिटिज (ब्रोकर नम्बर ४५), सुमेरु सेक्युरिटिज (ब्रोकर नम्बर ३९), सानी सेक्युरिटिज (ब्रोकर नम्बर ४२), नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८), अनलाइन सेक्युरिटिज (ब्रोकर नम्बर ४९) जस्ता ब्रोकरहरु पनि बढी कारोबार खाता खोल्नेमा परेका छन् ।

४७ हजार अनलाइन प्रयोगकर्ता
नेप्सेले करिब २ वर्ष अघि ल्याएको अनलाइन कारोबारका लागि हालसम्म ४७ हजार प्रयोगकर्ता आएका छन् । अनलाइन कारोबारका लागि युजरनेम र पासपोर्ट लिनेको लगानीकर्ताको संख्या ४७ हजार २६ जना रहेको नेप्सेले जनाएको छ । ती प्रयोगकर्ताहरुले ब्रोकरसँग प्रत्यक्ष सम्पर्कबिना नै सेयर खरिद वा बिक्री गर्न सक्छन् । 

अनलाइन कारोबारका लागि युजरनेम र पासपोर्ट उपलब्ध गराउने कम्पनीको संख्या भने यसमा सानी सेक्युरिटिज (ब्रोकर नम्बर ४२) सबैभन्दा अगाडि रहेर हालसम्म ३ हजार २ सय ३९ जनालाई त्यस्तो युजरनेम र पासपोर्ट उपलब्ध गराएको छ । सगरमाथा सेक्युरिटि (ब्रोकर नम्बर १८) ले भने अहिलेसम्म सबैभन्दा कम १ सय ३८ जनालाई यस्तो युजरनेम र पासपोर्ट उपलब्ध गराएको छ । 

हालसम्म नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८), भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४), कोहिनुर सेक्युरिटिज (ब्रोकर नम्बर ३५), दीपशिखा धितोपात्र कारोबार कम्पनी (ब्रोकर नम्बर ३८) लगायत पनि अनलाइन कारोबारमैत्री ब्रोकरको रुपमा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप