शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भ्याक्सिन निर्माणको दौड- अक्टुबरमा रुस, डिसेम्बरमा अमेरिका

बुधबार, २१ साउन २०७७, १४ : २१
बुधबार, २१ साउन २०७७

एजेन्सी । विश्वभर १ करोड ८७ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ र ७ लाखभन्दा धेरैले संक्रमणकै कारण ज्यान गुमाइसकेका छ । त्यसैले अहिले पुरै विश्व महामारी नियन्त्रणका लागि भ्याक्सिनको खोजीमा जुटेको छ । 

रुस,अमेरिका,चीन,बेलायत,अस्ट्रेलिया,जर्मनी, भारतलगायतका देश कोभिड–१९ भ्याक्सिनको निर्माणमा जुटेका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार अहिले १ सय ३० भन्दा बढी कम्पनीहरु भ्याक्सिन बनाउने दौडमा छन् र त्यसमध्ये २० भन्दा बढी भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ । 

रुस 

रुसी वैज्ञानिकहरुको दाबी पत्याउने हो भने कोरोना भाइरसको भ्याक्सिनको परीक्षण सफल भइसक्यो । यसले औपचारिकता पाउनमात्रै बाँकी हो । अगस्टको मध्यसम्म भ्याक्सिनलाई स्वीकृति दिने र त्यससँगै ठूलो संख्यामा स्वास्थकर्मीहरुलाई भ्याक्सिन लगाउने योजना रुस सरकारले बनाएको छ । त्यसैगरी, अक्टुबरको मध्यसम्म आम सर्वसाधारणलाई भ्याक्सिन लगाउने कार्यक्रम अघि बढाउने योजना रुसको छ ।

रुसका केही विशिष्ट व्यक्तिहरुले यो भ्याक्सिन लिइसकेका छन् र नतिजा प्रभावकारी तथा सुरक्षित देखिएको वैज्ञानिकहरुको ठहर छ रुसका अनुसार गामालिया इन्स्टिच्युटले तयार गरिरहेको यो भ्याक्सिन कोरोना भाइरसविरुद्धको यो पहिलो भ्याक्सिन हुनेछ । यद्यपि, विश्व स्वास्थ संगठनले रुसलाई हतार नगर्न सतर्क गराएको छ । यसबाहेक रुसले अन्य भ्याक्सिनको क्लिनिकल ट्रायल पनि गरिरहेको छ । रुसमा ८ लाख ५० हजारभन्दा धेरैमा कोरोना भाइरस देखिइसकेको छ ।

चीन 

चिनियाँ कम्पनी सिनोभाक बायोटेकले गरिरहेको क्लिनिकल ट्रायल तेस्रो चरणमा छ । तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु गर्ने यो पहिलो भ्याक्सिन हो । परीक्षणका क्रममा १५ हजार स्वयंम्सेवकलाई अबुधाबीमा पहिलो डोज दिइएको थियो । उनीहरुलाई २८ दिनभित्र २ पटक भ्याक्सिन दिइएको थियो र अनुसन्धानकर्ताहरुले यी स्वयंम्सेवकमा एन्टी बडिज विकास भइरहेको जनाएका छन् ।

चीनमा कोभिड–१९ का चारवटा भ्याक्सिन विकास हुँदैछ । विश्वको सबैभन्दा ठूलो जनसंख्या चीनमा कोरोना भाइरस धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ । ८४ हजारभन्दा धेरैमा संक्रमण देखिएकोमा अहिले यहाँ ८ सय १० जनामात्रै सक्रिय संक्रमित छन् । 

अमेरिका 

अमेरिकी बायोटेक कम्पनी मोर्डनाले तेस्रो चरणको परीक्षण जुलाई २७ देखि सुरु गरेको छ । अमेरिकाका विभिन्न ८७ ठाउँमा ठूलो परिमाणमा यसको परीक्षण हुँदैछ । अमेरिकी सरकारले यस योजनाका लागि साथ दिएको छ । अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीकाअनुसार पूर्ण प्रभावकारी र सुरक्षित भ्याक्सिन २०२० को अन्त्यमा मात्रै आउनेछ ।

अमेरिकामा मोर्डनाबाहेक अन्य कम्पनीका भ्याक्सिन पनि क्लिनिकल परीक्षणमा छन् । अमेरिका कोरोना भाइरसबाट सर्वाधिक प्रभावित देश हो । यहाँ ४९ लाख १८ हजारभन्दा धेरैमा कोरोना भाइरस देखिइसकेको छ । कोभिड–१९ कै कारण १ लाख ६० हजारभन्दा धेरैको मृत्यु भइसक्यो ।  

बेलायत 
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको भ्याक्सिन पनि अन्तिम चरणको परीक्षण अर्थात् तेस्रो चरणमा छ । इम्पेरियल कलेजले दोस्रो चरणको परीक्षण गरिरहेको छ । नोभेम्बरसम्म इम्पेरियल कलेजले तेस्रो चरणको परीक्षण सुरु गर्ने जनाएको छ, जहाँ ६ हजार मानिसमा सहभागी हुनेछन् ।   महामारीबाट सर्वाधिक प्रभावित पश्चिमी युरोपका देशमध्ये बेलायतको नाम अगाडि आउँछ, यहाँ ३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । ४९ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । 

भारत 
भारतले पनि कोभिड–१९ भ्याक्सिन निर्माणको काम सुरु गरिरहेको छ । तर, यो पूरा हुन आगामी वर्षको मार्च लाग्ने अपेक्षा गरिएको छ । हैदरावादस्थित भारत बायोटेकले निर्माण गरिरहेका कोभासिन नामक भ्याक्सिन पहिलो चरणको परीक्षण र गुजराती कम्पनी जाइदुसले तयार गरिरहेको जाई कोभ–डी नामक भ्याक्सिन दोस्रो चरणको परीक्षणमा छ ।

यी परीक्षण पूरा भएपछि १ मार्चसम्म १ सय मिलियन डोज भ्याक्सिन तयार गर्ने अनुमान गरिएको छ । अमेरिका र ब्राजिलपछि महामारीबाट सर्वाधिक प्रभावित देशको सूचीमा भारत तेस्रो नम्बरमा छ । यहाँ १९ लाखभन्दा धेरैमा कोरोना देखिइसकेको छ ।  यता, जर्मन कम्पनीले तयार गरेको भ्याक्सिन दोस्रो चरणको परीक्षणमा छ भने अस्ट्रेलियाले तयार गरेको भ्याक्सिन पहिलो चरणको परीक्षणमा छ ।  (-एजेन्सीहरुको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप