शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु हुने वृद्धवृद्धाको संख्या बढी, बालबालिका पनि जोखिममा

शुक्रबार, २३ साउन २०७७, ०७ : ०६
शुक्रबार, २३ साउन २०७७

काठमाडौं – नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३ जना (०.३५ प्रतिशत)को मृत्यु भएको छ।

‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर निकै ठूलो हो। कोरोनाले बालबालिकालाई केही असर गर्दैन भन्ने सन्देश सुरुआती दिनमा गयो। त्यो सच्चिनुपर्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारीले भने, ‘बालबालिकालाई सुरक्षित राख्न अभिभावकीय कर्तव्य हुनुपर्छ। जनस्वास्थ्यका दृष्टिले यो विशेष सन्देश हो।’

वृद्धवृद्धामा भने रोग प्रतिरोधात्मक क्षमता नै न्यून हुन्छ। ‘संख्यात्मक हिसाबले २ जनाको मृत्यु भए पनि अन्य उमेरसमूहभन्दा यो उच्च मृत्युदर हो। ६० वर्षभन्दा माथिका व्यक्तिको स्वास्थ्यलाई ख्याल गर्दा मानवअधिकारभन्दा पनि जनस्वास्थ्य अधिकारका दृष्टिले पनि हेरिनुपर्छ’, डा. तिवारीले भने, ‘यो उमेरसमूहमा मृत्युदर अधिक छ। सरकार र नागरिकले विशेष रूपमा ध्यान दिन जरुरी छ।’ लक्षणसहितको संक्रमितबाट वृद्धवृद्धामा रोग स¥यो भने त्यसले मृत्युदर अझ बढाउने उनको भनाइ छ।

६१ वर्षमाथिको समूहमा संक्रमण न्यून देखिन्छ। तर, मृत्युदर बढी छ। ६१ देखि ७० वर्ष समूहमा ११ जनाको ज्यान गएको छ। यो समूहमा ३ सय १० जना संक्रमित छन्। यो झन्डै ३.२३ प्रतिशत हो। ७१ देखि ८० वर्षसम्मका ५ जनाको मृत्यु भएको छ। यो उमेर समूहमा ९४ जना संक्रमित छन्। मृत्युदर ३.१९ प्रतिशत हो।

संक्रमितको संख्याका दृष्टिले ६० भन्दा कम उमेर समूहका व्यक्ति धेरै छन्। डा. तिवारीका अनुसार चलायमान उमेर समूहका व्यक्तिलाई कोरोना संक्रमण बढी देखिएको हो। यो समूहका व्यक्ति चलायमान हुने हुँदा संक्रमण र मृत्यु संख्यात्मक रूपमा बढी देखिएको उनको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप