बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयरले सिमरामा ७२ सिटे एटीआर ७२ बाट उडान गर्ने, परिक्षण उडान सफल

शुक्रबार, २३ साउन २०७७, १४ : ५७
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ । 

काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर साउन २१ गते बुधबार बुद्धको जहाजले दक्षिण र उत्तर गरि दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ ।

जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको छ । यसअघि बुद्धका एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो ।

चैत ११ गतेअघि दैनिक ७–९ वटा तालिकाबाट नियमित उडान गर्दै आएको बुद्ध भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ । 

नेपालकै सबैभन्दा पूरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर रहेको छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिडभाड हुने गर्दछ ।

बुद्ध एयरसँग ८ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बीच १९०० ’डी’ जहाज रहेको छ । भदौ १ बाट हुने उडानका लागि बुद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ ।

यात्रुको दोहोरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज, फेसमास्क र फेश शिल्डको अनिवार्य प्रयोग लागु गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाई गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप