बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना कहर :  नागरिक उड्डयन प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो

शनिबार, २४ साउन २०७७, १४ : ३५
शनिबार, २४ साउन २०७७

 कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ ।
    
हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड– १९ को प्रभावले मुख्य आम्दानी न्यून हुन गई कतिपय कार्यक्रमलाई अगाडि बढाउन नसकिएको प्राधिकरणलले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार आर्थिक वर्ष २०७६÷७७ मा प्राधिकरणको करिब रु चार अर्ब ५० करोड अर्थात् ४३ प्रतिशतले आम्दानी घटेको छ । वायुसेवाको आम्दानी करिब रु छ अर्बले घटेको जनाइएको छ ।
    
प्राधिकरणले नियमित आम्दानीका रुपमा पिएससी, ल्याण्डिङ, पार्किङ, नेभिगेसन, रेन्ट आदिमा आम्दानी गर्छ । त्यस्तै विमानस्थल विकास शुल्कबापतको आम्दानी जोडिन्छ । आम्दानी घटेकै कारण प्राधिकरणले चालू आव २०७७÷७८ का लागि रु ४१ अर्ब ११ करोड तीन लाख बजेट विनियोजन गरेको छ । अघिल्लो आव २०७६÷७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार बजेट विनियोजन गरिएको थियो । यसपटक कोभिड–१९ का कारण विमानस्थलको आय घटेकाले प्राधिकरणले चालू आवका लागि अघिल्लो वर्षको तुलनामा केही कम बजेट विनियोजन गरिएको जनाएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यसपटकको बजेटमा नयाँ कार्यक्रम नभई निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए । प्राधिकरणले संस्थागत सुधार, विमानस्थल विकास तथा स्तरोन्नति, सञ्चार उपकरण, सुरक्षा उपकरण तथा मौसमी उपकरण जडान, अन्तरराष्ट्रिय विमानस्थल विस्तार र जनशक्तिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।
    
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेका सन्दर्भमा प्राधिकरणको आम्दानीसमेत उल्लेख्य अभिवृद्धि हुने अपेक्षा गरेको थियो । कोरोनाको महामारीका कारण नेपालमा झण्डै पाँच महिनादेखि अन्तरराष्ट्रिय तथा आन्तरिक उडान भएन । पछिल्लोपटक बन्दाबन्दी खुलेर भदौ १ देखि दुवैतर्फका व्यावसायिक उडान गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण दिनहुँ बढिरहेकाले अझै उडान निश्चित भएको छैन । यद्यपि, सरकारले घोषणा गरेको उडान मिति भने सरेको छैन । वायुसेवा कम्पनीले सङ्क्रमणरहित सुरक्षित उडानको पूर्वतयारी गरिसकेका छन् ।
    
बन्दाबन्दीका कारण विकास योजनाको काममा समेत नकारात्मक प्रभाव परेको प्राधिकरणले जनाएको छ । निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले एशिया प्रशान्त क्षेत्रमा सन् २०२० मा अन्तरराष्ट्रिय उडानमा ३८ देखि ७० प्रतिशतसम्म र आन्तरिक उडानमा २८ देखि ५० प्रतिशतसम्म हवाई यात्रु घट्नसक्ने प्रक्षेपण गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप