बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारको आरोप लागेपछि छोरालाई पत्र लेखेर देश छोडेका स्पेनमा पूर्व राजा अबुदाबीमा भएको खुलासा

आइतबार, २५ साउन २०७७, ०७ : १८
आइतबार, २५ साउन २०७७

स्पेनका पूर्व राजा जुआन कार्लोस अबुदाबीमा देखिएको खुुलासा भएको छ । केही दिनअघि उनी कथित भ्रष्टाचारको अनुसन्धानको क्रममा स्पेन छोेडेर कतै गएका थिए ।

स्पेनिश मिडिया ग्रुप एनआईयूएसले एक तस्बिर जारी गर्दै पूर्व राजा अबुदाबी पुगेको जानकारी दिएको छ ।

एकातिर कथित भ्रष्टाचारको अनुसन्धान भइरहेको छ भने अर्कोतर्फ पूर्व राजाले कुनै प्रकारको गलत काममा संलग्न नभएको दाबी गरेका छन् । यद्यपि, उनी कता जाँदै छन् कसैलाई केही जानकारी थिएन तर अनुमान भने लगाएका थिए ।

तर अब जुआन कार्लोसले अबुदाबीको एक पाँचतारे होटल एमिरेट्स प्यालेसको एउटा पूरा फ्ल्याट बुक गरेको खबरमा उल्लेख छ ।

पूर्व राजा कार्लोस अबुदाबीका युवराज मोहम्मदबिन जायेद अल नाहयानका निकै नजिक भएको बताइन्छ ।

यद्यपि, अहिलेसम्म उनको लोकेशनको पुष्टि भने गर्न सकिएको छैन । यस्तै स्पेनका शाही परिवार र सरकारले यसबारे केही टिप्पणी दिन अस्विकार गर्दै आएको छ ।

अहिलेसम्मको घटनाक्रमः

केही दिन अघि स्पेनका पूर्व राजा जुआन कार्लोस देश छोडेर कुनै अपरिचित स्थानमा गए । त्यसको केही हप्ता अघि नै कथित रुपमा उनको नाम भ्रष्टाचारसँग जोडिएको थियो ।

८२ वर्षीया जुआन कार्लोसले यसको कुनै घोषणा गरेका थिएनन् तर उनले आफ्ना छोराको नाममा एउटा चिट्ठी भने लेखेका थिए । जुआनले ६ वर्ष अघि नै आफ्ना छोरा फेलिपलाई सत्ता सुम्पिइसकेका छन् ।

जून महिनामा स्पेनको सर्वोच्च अदालतले साउदी अरबमा एक द्रूत गतीको रेल सम्झौतामा जुआनको संलग्नताको अनुसन्धान सुरु गरेको थियो ।

स्पेनको ईआई पाइस समाचार पत्रका अनुसार पूर्वराजा जुआनको पत्र सार्वजनिक हुनु अघि नै उनले देश छोडिसकेका थिए । अहिलेसम्म उनी कहाँ छन् भनेर पत्ता लाग्न सकेको थिएन । यद्यपि, केही मिडिया रिपोर्टले उनी डोमिनिक रिपब्लिकमा भएको दाबी गरे ।

बीबीसी यूरोपका संवाददाता निक बिकका अनुसार यस्तो कदम उठाउनु पूर्व राजाका लागि लज्जाको विषय हो । उनी एक यस्ता राजा थिए जसलाई इतिहासमा याद गरिँदै थियो । उनले सन् १९७५ मा जनरल फ्र्याङ्कोको मृत्युपछि तानाशाही स्थितीलाई लोकतन्त्रका लागि स्पेनलाई मार्ग निर्देशन गरेका थिए ।

आफ्नो शासनकालको समयमा लामो समयसम्म जुआन कार्लोसको गिन्ती संसारको सबैभन्दा लोकप्रिय राजामा हुन्थ्यो । तर पछिल्लो समयमा स्पेनवासीको एउटा वर्गले उनीमाथि विश्वास गर्न सकिरहेका थिएनन् ।

सन् २०१४ मा उनकी छोरी र ज्वाईंमाथि लामो समयदेखि चलिरहेको भ्रष्टाचार सम्बन्धित अनुसन्धानका कारण राजाको लोकप्रियता कम भएको थियो ।

देश आर्थिक संकटसँग जुधिरहेका बेला राजा बोत्सवानामा हात्तीको शिकार गर्न गएका थिए भन्ने सुनेपछि मानिसहरु उनीसँग झनै रिसाएका थिए ।

यसैकारण उनले सन् २०१४ मा नै आफ्ना छोरा फिलिपलाई राजगद्दी सुम्पिएका थिए ।

के लेखिएको थियो पत्रमा ?

उक्त पत्रमा राजाले आफूले यस्तो निर्णय लिनुपरेको कारणबारे जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘मेरो नीजि जीवनका पछिल्ला केही घटनाका कारण जनताबाट आइरहेको प्रतिक्रियालाई मद्देनजर गर्दै र जनताले मेरो छोरालाई शान्तिपूर्वक राजाको हैसियत काम गर्न मौका दिन्छन् भन्ने आशामा यस्तो निर्णय लिएको हुँ । ’

उनले थपेका छन्, ‘स्पेनका जनता, उनीहरुको संस्था र एक राजाको हैसियतले तपाईंहरुको सबैभन्दा उत्कृष्ट तरिकाले सेवा गर्ने दृढ निश्चयका साथ म तपाईंहरुलाई यतिबेला स्पेन छोड्ने सूचना दिइरहेको छु । म निकै भावुक तर निकै शान्ति र स्थिर भएर यो निर्णय लिइरहेको छु ।’

शाही महलबाट जारी बयानमा किंग फेलिप चतुर्थले यो निर्णयका लागि आफ्नो पिता प्रति मनैदेखि सम्मान र आभार व्यक्त गरिएको बताइएको छ ।

के हो भ्रष्टाचरको मामिला ?

स्पेनको सर्वोच्च अदालतले यो अनुसन्धानको उद्देश्य जून २०१४ मा जुआन कार्लोसका साउदीको परियोजनासँग सम्बन्धित भएको जानकारी दिएको छ ।  

स्पेनिश फर्म मक्का–मदिनामा रेल लिङ्क बनाउने ठेक्का पाएको थियो जुन करिब ५ अर्ब पाउन्डको थियो ।

यो मामिलामा स्विस बैंकको भूमिकाको पनि अनुसन्धान भइरहेको छ ।

स्पेनका भ्रष्टाचार विरोधी अधिकारीलाई पूर्व राजाले स्विटजरल्याण्डमा अघोषित सम्पत्ति राखेका छन् कि भन्ने शंका छ ।

स्पेनको सरकारले न्याय सबैका लागि बराबर भएको भन्दै अनुसन्धानमा कुनै हस्तक्षेप नगरिने बताएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप