शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समृद्ध जनकपुरको लागि राजनीतिक प्रतिवद्धताको यस्तो छ होडबाजी

मङ्गलबार, २७ भदौ २०७४, १८ : २८
मङ्गलबार, २७ भदौ २०७४

हिमांशु चौधरी


जनकपुरधाम – आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत जनकपुर उपमहानगरपालिकामा मनोनयन दर्ता गराएका उम्मेदवारहरूले जनकपुरधामलाई समृद्ध शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । 

प्राचीन मिथिलाको राजधानीका रहेको जनकपुरधामलाई प्रदेश नं २ को पनि राजधानी बनाउने, धार्मिक, पर्यटकीय र सांस्कृतिक केन्द्रका रूपमा प्रवद्र्धन गर्न सडक र नाला व्यवस्थापनको मुद्दालाई अघि सार्दै उम्मेदवार तथा समर्थकहरूले मतदातालाई आ–आफ्नो पक्षमा तान्न घरदैलो अभियानलाई तीव्र पारेका छन् । 

चुनावमा जित हात पार्न विभिन्न दलका शीर्ष नेता पनि उम्मेदवारद्वारा आयोजित कार्यक्रममा सहभागी भई जनकपुरलाई समृद्ध शहर बनाउने भावी योजना बताउँदै आ–आफ्ना पक्षका उम्मेदवारको प्रचारप्रसारको अभियानलाई निरन्तरता दिइरहेका छन् । 

नगरका प्रमुख स्थल, चिया पसल, टोल र चोकमा सर्वसाधारण कसले जित्ने र हार्ने, कसले मत दिने र नदिने गफमा व्यस्त देखिन्छन् । विगतमा नेपाली काँगे्रसका विद्रोही उम्मेदवारका लागि उर्वर नगरजस्तो बनेको जनकपुरमा यसपटक कांग्रेस नगर प्रमुखमा विद्रोही उम्मेदवारले मनोनयन दर्ता नगराएका कारण दलीय उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने सर्वसाधारणको बुझाइ छ । 

यसअघि जनकपुर नगरमा कांग्रेसबाट विद्रोह गरेका वृषेशचन्द्र लाल र बजरंग साहले नगर प्रमुखमा चुनाव जितेका थिए । चुनावी प्रचारप्रसारका क्रममा कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार मनोज साह जनकपुरलाई उत्कृष्ट धार्मिक शहर, प्रदेशको राजधानी बनाउन उम्मेदवारी दिएको बताए भने राष्ट्रिय जनता पार्टीबाट नगर प्रमुखका उम्मेवार लालकिशोर साह शहरको पुरानो महत्व पुनःस्थापित र नयाँ विकासको थालनीमा जोड दिन उम्मेदवारी दिएको प्रष्ट गर्नु हुन्छ । 

नेकपा (एमाले) बाट नगर प्रमुखका उम्मेदवार लक्ष्मीनारायण भगत जनकपुरलाई प्रदेशको राजधानी र वर्षौँदेखि अलपत्र परेको राजर्षि जनक विश्वविद्यालय सञ्चालन गर्ने प्रतिबद्धता गर्छन, भने माओवादी केन्द्रबाट नगर प्रमुखका उम्मेदवार चन्द्रशेखर साह जनकपुरलाई नमूना शहर बनाउने भनी चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

संघीय समाजवादी फोरम नेपालका नगरप्रमुखका उम्मेदवार विष्णुदेव साह मुलुककै उदाहरणीय शहर बनाउन उम्मेदवारी दिएको बताउनुहुन्छ भने लोकतान्त्रिक फोरमका नगर प्रमुखका उम्मेदवार हंशराज साह शहरलाई सफा पार्नै एकल एजेण्डा हो भन्दै उम्मेदवारीको औँचित्य औँल्याउनुुहुन्छ । 

नयाँ शक्तिबाट नगर प्रमुखमा उम्मेदवार उमेश साह जनकपुरलाई आधुनिक शहर बनाउन उम्मेदवारी दिएको बताउनुहुन्छ । जनकपुर उपमहनगरपालिकामा नगर प्रमुखमा १९ जना चुुनावी मैदानमा रहेका छन् । 

विगतमा १६ वटा वडामात्र रहेकामा हाल २५ वटा वडा रहेको छ । स्थानीय तहको पुनःसंरचना गरी जनकपुरलाई उपमहानगरपालिका बनाउँदा पछिल्लो समयमा केही ग्रामीण भेग थपिएका छन् । 

मुख्य निर्वाचन अधिकृत राधाकुष्ण उप्रेतीका अनुसार ७५ हजार ५ सय ९४ मतदाता भएको जनकपुर उपमहानगरपालिकामा असोज २ गते हुने निर्वाचनबाट १३० जनप्रतिनिधि निर्वाचित हुने छन् । नगरप्रमुखमा १९, उपप्रमुखमा १५, वडाध्यक्षमा २२७, वडा सदस्यमा ३०५, महिला सदस्यमा १४० र दलित महिला सदस्यमा ११७ जना चुनावी मैदान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप