शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालीगण्डकी नदीको कटानका कारण बेनीबजार जोखिममा

आइतबार, २५ साउन २०७७, १० : १८
आइतबार, २५ साउन २०७७

उत्तरी क्षेत्रबाट बगेर आउने कालीगण्डकी नदीको कटानका कारण म्याग्दीको सदरमुकाम बेनीबजार जोखिममा परेको छ । कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको हो । करिब १० मिटर दूरीमा लगाइएको ग्यावियन पर्खाल बगाएर नदीले बजारतर्फ कटान गर्न थालेको छ । 

नदीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काउने खतरा बढेको स्थानीय रमेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष रुपाताल एकीकृत संरक्षण परियोजनाले उपभोक्ता समितिमार्फत निर्माण गरेको तटबन्ध भत्काएको हो । 

यसअघि सो ठाउँमा निर्माण भएको पक्की पर्खाल २०७५ भदौ २७ गते रघुगङ्गा नदी थुनिएर आएको बाढीले भत्काएको थियो । गणेशटोलको पछाडिको भागमा कटानको जोखिम बढेको छ । तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको जनाउँदै बजारबासी चिन्तित भएका छन् । 

कटान रोकथामका लागि रुपाताल एकीकृत विकास परियोजनासँग समन्वय गरेर संरक्षणको काम शुरु गरिने बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । कालीपुल क्षेत्रमा कटान भएको ठाउँमा ग्यावियन पर्खाल निर्माणको काम भइरहेको छ । 

यसैबीच बेनी नगरपालिका–८ क्याम्पसचोकका बासिन्दा बाढीको त्रासमा छन् । बस्तीमाथिको पाखोबाट बाढी आउन थालेपछि सदरमुकाम बेनीको मुख्य बजार क्षेत्र क्याम्पसचोक जोखिममा परेको हो । यसअघिका दुई वर्ष रोकिएको बाढी यसपालि आउन थालेपछि त्रास बढेको स्थानीयवासी रवि शर्माले जानकारी दिए । 

पाखोबाट ढुङ्गा, माटो र काठका टुक्रासहित आउने बाढीले नाली बुझिएर सडकमा निस्कने गरेको छ ।  नाली फुटेपछि सडक हिलाम्मे हुने, घर र पसलभित्र पसेर सामान नष्ट गर्ने गरेको छ । बाढीबाट क्याम्पसचोकका १२७ घरधुरी प्रभावित भएका छन् । बेनी नगरपालिका र विभिन्न निकायबाट ग्यावियन जाली र वृक्षरोपण गरेपछि २०७५ र २०७६ को बर्खामा बाढी आएको थिएन । 

यसपालि दुईपटक बाढी आइसकेको छ । अर्थुङ्गेस्थित सेनाको ब्यारेक तलको घुम्तीबाट सडकको नालीबाट आउने बाढी पाखोमा पहिरो गएपछि आयतन बढेर आएपछि क्याम्पसचोकमा डुबान हुने गरेको छ । क्याम्पसचोकको बाढीको व्यवस्थापनका लागि दीर्घकालीन योजनाको आवश्यकता रहेको स्थानीयवासी तथा व्यवसायीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप