बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘लकडाउन खोलेपछि सावधानी नअपनाउँदा थप जोखिम बढ्यो’

आइतबार, २५ साउन २०७७, २० : १८
आइतबार, २५ साउन २०७७

महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा ७ लाख २४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । यसैगरी सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड पुग्न लागिसकेको छ । गत वर्ष डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित मुलुकमा अमेरिका छ । 
 चीनपछि युरोपमा फैलिएको कोरोना सङ्क्रमण कम भइसके पनि अहिले पुनः दोस्रो पटक फैलने खतरा बढ्न थालेको छ । युरोपका जर्मनी, स्पेन, फ्रान्स, बेलायत लगायत मुलुकमा पछिल्ला दिन नयाँ सङ्क्रमण थपिन थालेका छन् । बेलायतमा पनि कतिपय सहरमा कोरोना महामारी रोक्न पुनः लकडाउन घोषणा गरिएको छ । कोरोनाको दोस्रो लहर आएको खण्डमा बेलायतमा पहिलाको भन्दा बढी झण्डै एक लाख २० हजार मानिसको मृत्यु हुने चेतावनी विज्ञहरुले दिँदै आएका छन् ।
कोरोनाको पछिल्लो अवस्था र दोहोरिने सम्भावनाबारे बेलायतको बर्मिङ्गहम विश्वविद्यालयमा औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक तथा युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्यालसँग गरिएको कुराकानी यस प्रकार छः

 
अहिले विश्वमा फैलिरहेको कोरोना सङ्क्रमणलाई कसरी नियाल्नुभएको छ ?
यो एउटा महामारीको रूपमा फैलिएको भाइरस हो जसको कुनै पनि औषधि पत्ता लागेको छैन । यसलाई नियन्त्रण गर्न स्वयं सतर्कता र सचेत रहनुपर्ने हुन्छ । विश्व स्वास्थ्य सङ्गठन र सरकारद्वारा जारी गरिएको नियमको पालना गर्नुपर्दछ । सरसफाइ, सामाजिक दूरी, मास्कको प्रयोग, ह्यान्ड स्यानिटाइज इत्यादिको प्रयोग नै यसबाट बच्ने उत्तम उपाय हो ।
 
अहिले कस्तो छ कोरोनाको अवस्था ?
कतिपय मुलुकमा अहिले कोरोना सङ्क्रमण पिकमा पुगेको छ भने कतिपय मुलुकमा दोस्रो लहर आउने सम्भावना देखिएको छ । विशेषगरी युरोपतिर दोस्रो लहर सुरु हुन थालेको छ । युरोपका जर्मनी, स्पेन, फ्रान्स, बेलायत लगायत मुलुकमा नयाँ सङ्क्रमण देखिन थालेको छ । अमेरिका, भारत, ब्राजिल लगायत मुलुकमा अहिले कोरोनाको प्रभाव उच्च विन्दुमा पुगेको छ । पछिल्लो समय सङ्क्रमण कम हुँदै गएका मुलुकमा पनि पुनः सङ्क्रमण देखिनुले अवस्था निकै जटिल छ । तर अन्य विकल्प नभएकाले सावधानीपूर्वक नै रहनुपर्दछ ।
 
बेलायतमा कोरोनाको दोस्रो लहरविरुद्ध तयारी पनि सुरु भएको छ । तपाईं के सम्भावना देख्नुहुन्छ ?
बेलायतले कोरोना सङ्क्रमणको पहिलो तरङ्ग पार गरिसकेको छ । तर अहिले नयाँ सङ्क्रमण बढ्न थालेपछि दोस्रो तरङ्गका लागि सचेत रहनुपर्ने देखिन्छ । यसअघि पनि समयमा नै सचेत हुन नसकेकाले बढी क्षति बेहोर्नुपरेको बेलायतले अब भने समयमा नै तयारी हुनुपर्दछ । 
दोस्रो लहरको सङ्क्रमणका लागि बेलायत तयारी अवस्थामा छ । प्रधानमन्त्री बोरिस जोन्सनले केही समय अगाडि नै कोरोनाको दोस्रो लहर आउने जानकारी गराउँदै सचेत रहन आग्रह गरिसकेका छन् । पहिलो पटक कोरोना सङ्क्रमण फैलिँदा धेरै कुराको जानकारी नभएको तथा पूर्वतयारी नभएकाले समस्या जटिल बन्यो । तर अब हुने सङ्क्रमणका लागि धेरै कुराको अनुभव भइसकेकाले पहिला जस्तो समस्या हुँदैन जस्तो लाग्छ । भौतिक पूर्वाधारदेखि जनचेतनासम्मका विषयमा सबैले अनुभव बटुलिसकेको हुँदा सबै आआफ्नो क्षेत्रमा सचेत र तयारी अवस्थामा रहेका छन् ।  बेलायतमा मिश्रित समुदाय रहेको, यहाँका मानिसहरु बढी भ्रमण गर्न जाने भएकाले बढी आवतजावतका कारण सुरुमा कोरोना भाइरस सङ्क्रमणले उग्र रूप लिएको हो ।
 
कोरोनाको दोस्रो लहर (वेभ) आउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
युरोपियन मुलुकमा बिस्तारै पर्दै गएको प्रभावका कारण बेलायतमा पनि कोरोना सङ्क्रमणको दोस्रो लहर आउने सम्भावना देखिन्छ । पछिल्लो समय बेलायतमा पनि सङ्क्रमण दर बढ्दै गएको छ । विशेषगरी जाडो महिनामा कोरोना सङ्क्रमण बढ्ने सम्भावना देखिन्छ । युरोपसँग नजिकको सम्बन्ध रहेका कारण युरोपपछि बेलायतमा प्रभाव पर्नु स्वाभाविक देखिन्छ । यसअघि पनि युरोपमा सङ्क्रमण फैलिएको दुई हप्तापछि बेलायतमा सङ्क्रमण फैलिएको थियो । दोस्रो लहरका लागि जाडो महिनामा केकस्तो सतर्कता अपनाउने भन्ने बारेमा बेलायत सरकारले पूर्वतयारी गरिरहेको छ । बिरामीलाई रोगको प्रकृति हेरेर अलग अलग स्थानमा राख्ने, सरसफाइ र आवश्यक प्रविधि लगायतका विषयलाई निकै महत्त्वका साथ हेरिएको छ । निश्चित स्थानहरुमा अनिवार्य मास्कको प्रयोग, सामाजिक दूरी, अनावश्यक चहलपहल बन्द तथा स्वास्थ्यसम्बन्धी विशेष सावधान अपनाएर आफै सुरक्षित रहनुपर्दछ ।

 ढुक्क भएर बस्ने अवस्था छ कि छैन ?
हालसम्म यसको कुनै औषधि पत्ता नलागेको र अनुसन्धानकै क्रममा भएकोले ढुक्क भएर बस्ने अवस्था छैन । आत्मबल मजबुत बनाएर विश्व स्वास्थ्य सङ्गठनले दिएको निर्देशन तथा सरकारद्वारा जारी नियमको पालना गर्नु नै बेस हुन्छ । 
 
विश्वमा नेपालीहरुको अवस्था कस्तो छ ?
पछिल्लो समयमा विदेशमा रहेका नेपालीहरुको अवस्था खासै नराम्रो छैन । हामी नेपालीहरु समूहमा बस्न रुचाउने भएको र एकआपसमा बढी भेटघाट गर्ने बानी भएकाले यसलाई सबैले कम गर्नुपर्दछ । नेपालीहरु विशेषगरी सर्भिस सेक्टरहरुमा बढी काम गर्ने भएकाले सङ्क्रमणको सम्भावना धेरै हुने हुँदा कार्यक्षेत्रमा सावधानी अपनाउनुपर्दछ । पहिलाको तुलनामा सङ्क्रमण तथा मृत्युदरमा कमी आएको छ । कतिपय मुलुकमा सङ्क्रमण थपिएको भए पनि आर्थिक क्षेत्र र बेरोजगारीको समस्या नै बढी जटिलता बढ्दै  गएको छ । यद्यपि नेपाल सरकारले समस्यामा परेका नेपालीहरुको उद्धार कार्यलाई प्रथामिकताकासाथ  काम गर्दै आएको छ । 
 
कोरोनाविरुद्ध भ्याक्सिनको विकास कुन अवस्थामा पुगेको छ ?
अहिले कोरोनाको भ्याक्सिन उत्पादनमा विश्वका  विभिन्न मुलुक लागिपरेका छन् । तर यस्ता भ्याक्सिन तुरुन्तै बजारमा आउन सम्भव छैन् । विभिन्न तहका परीक्षण गरेर त्यसको नतिजा हेर्न वर्षाैं कुर्नुपर्ने हुन्छ । हतारमा भ्याक्सिन बनाएर भविष्यमा हुने अन्य जोखिमको बारेमा पनि सावधान हुनुपर्दछ । बेलायत लगायतका विभिन्न मुलुकका वैज्ञानिकहरुले केही चरणको सफलता भएको दाबी गर्दै आएका छन् तर यसको दीर्घकालीन असरको बारेमा भने निकै समय लाग्न सक्छ । भ्याक्सिनले रोगको प्रतिरोधात्मक क्षमता बढाउने तर भाइरस सङ्क्रमणलाई घटाउने बारेमा अझै अनुसन्धानकै विषय छ । तसर्थ भ्याक्सिन आउन र यसको सफल र सकारात्मक नतिजा हेर्न अझै वर्षाैं लाग्न सक्छ ।  

नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई कसरी बुझ्नु भएको छ ?
नेपालमा कोरोना सङ्क्रमण अन्य देशको तुलनामा अलि ढिला सुरु भयो र समयमै नेपाल सरकारले सतर्कता अपनाएको थियो । समयमै लकडाउन गरी अन्तर्राष्ट्रिय उडानमा रोक लगाएर सङ्क्रमण दरलाई नियन्त्रण गर्ने प्रयास गरे पनि भारतबाट नेपाल फर्कनेहरूको व्यवस्थापन गर्न नसक्दा सङ्क्रमणको थप जोखिम बढ्न पुग्यो । लामो समयपछि लकडाउन खुला गरिएलगत्तै सङ्क्रमण दरमा वृद्धि हुँदै गएको छ । लकडाउनका कारण उत्पन्न हुने विभिन्न नकारात्मक पक्षले गर्दा त्यसको अन्य विकल्प पनि थिएन । पछिल्लो समयमा सङ्क्रमणदर मृत्युदर दुवै बढ्दै गएको छ । क्वारेन्टिनको उचित व्यवस्थापन नहुँदा, क्वारेन्टिनप्रति मानिसहरूको नकारात्मक सोच बढ्न जाँदा सङ्क्रमणले झन् विकराल रूप लिँदै गएको छ । सङ्क्रमण दर बढेसँगै सरकारले आवश्यक स्थानमा लकडाउन, आवतजावतमा रोक जस्ता बारेमा सतर्कता अपनाउँदै आएको छ । यसलाई सरकारको मात्र दायित्व नठानी हरेक समाज, वर्ग र व्यक्तिले नै आफ्नो दायित्व ठानेर अगाडि बढ्नुपर्दछ । 
 
सरकारले लकडाउन खोल्न हतार गरेको हो ? 
लकडाउन खोल्न हतारभन्दा पनि बाध्यता भएको हो । लामो समय लकडाउन गर्दा स्वास्थ्यमा पनि असर पर्ने र जनस्तरबाट पनि दबाब आएका कारण लकडाउन खोल्न सरकार बाध्य भएको हो । तर लकडाउन खोलेपछिको अवस्थामा आवश्यक सावधानी नअपनाएका कारण थप जोखिम बढ्यो । 
 
अन्त्यमा नेपाल सरकारले कोरोना सङ्क्रमण नियन्त्रणका लागि केकस्तो प्रक्रिया अपनाउन जरुरी ठान्नुभएको छ ?
सर्वप्रथम त बोर्डर क्षेत्रमा विशेष सावधान अपनाउनुपर्दछ । क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा पनि ध्यान दिन जरुरी छ । स्वास्थ्य क्षेत्र र आवश्यक भौतिक पूर्वाधारमा बजेट तथा लगानीमा जोड दिनुपर्दछ । स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरुको क्षमता विस्तार गर्ने, अन्य क्षेत्रको बजेट कटौती गरी कोरोना सङ्क्रमण क्षेत्रमा लगाउने, सुरक्षाकर्मीलाई बढी सक्रिय गराउने जस्ता कामा विशेष चासोपूर्वक ध्यान दिनुपर्दछ । त्यसैगरी कन्ट्याक्ट ट्रेसिङलाई पनि थप व्यवस्थापन गरेर समयमा नै थप सङ्क्रमण नियन्त्रण गर्नुपर्दछ । 

अर्काे महत्त्वपूर्ण कुरो सर्फेसबाट कोरोना सङ्क्रमण सर्ने बारेमा कम प्रचार प्रसार भएको देखिन्छ । कुनै पनि वस्तु छोएपछि त्यही हातले नाक, मुख तथा आँखामा छोयो भने कोरोना सङ्क्रमण हुनसक्ने ठूलो सम्भावना रहन्छ । सार्वजनिक स्थानमा धेरै व्यक्तिको संसर्ग हुनसक्ने भएकाले त्यस्ता वस्तुको सम्पर्क गर्दा ग्लोब्स, स्यानिटाइजरको प्रयोग गर्ने, हात सफा गरेर मात्र शरीरका अन्य अंगमा छुनुपर्दछ । ढोकाका ह्यान्डिल, एटीएम मेसिन लगायतका बाह्य सर्फेसहरुमा पनि बढी सतर्कता अपनाउनु पर्दछ । कोरोना सङ्क्रमित व्यक्तिले छोएको ७२ घण्टासम्म यस्ता ठाउँमा कोरोना भाइरस रहन सक्छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप