शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छ करोड नाघ्यो सालको पातको ‘भ्यूज’

सोमबार, २६ साउन २०७७, ०८ : ५१
सोमबार, २६ साउन २०७७

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।

सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो । 

गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर भर्नुभएको छ । युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिएका छन् । स्रोता–दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो । अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ । पछिल्लो एक महिनामा झण्डै दश लाख पटक हेरिएको छ । “स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो”, सङ्गीतकार थापाले भने ।

झ्याउरे लयमा ठेट जनजीब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ । कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ । म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गरेका छन्। हाल अमेरिकामा रहनुभएका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ । “मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो”, उनले भने ।

गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिए । उनको साङ्गीतिक जीवनको मानक गीतका रुपमा सालको पातलाई सधैँ सम्झिने छ । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । 
। 

‘गलबन्दी’का चार करोड बढी

मौलिक लोकदोहोरी गीत ‘गलबन्दी’को म्युजिक भिडियोले पनि युट्युबमा राम्रो भ्यूज पाएको छ । गत वर्ष सार्वजनिक गीतले हालसम्म चार करोड १४ लाख बढी भ्यूज बटुलेको छ । सार्वजनिक भएको केही सातासम्म उक्त गीत युट्युबमा सर्वाधिक हेरिएको मध्ये नं एकमा आएको थियो । 

गलबन्दीमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ । शब्द, सङ्गीत र भिडिओ निर्देशन पनि सपुतकै छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । 

भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ धम्जामा गरिएको छ । गीतले परम्परागत रोधीको झल्को दिन्छ । मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता÷दर्शकले रुचाएका हुन् । कथात्मक शैली, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । उक्त गीत भाका नेपाल प्रालिले निर्माण गरेको हो । सपुतको गत साता सार्वजनिक तीज गीत ‘बदला बरीलै’ पनि अहिले युट्युब ट्रेन्डिङको नं एकमा छ । गीतको भ्यूज २४ लाख नाघेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप