शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको प्रभाव : यस वर्ष ‘नाडा अटो शो’ नहुने

शोरुमबाटै दशैँतिहार लक्षित उपहार
सोमबार, २६ साउन २०७७, ०९ : ४०
सोमबार, २६ साउन २०७७

काठमाडौं । यस वर्ष दशैंतिहार लक्षित ‘नाडा अटो शो’ नहुने भएको छ । हरेक वर्ष दशैंतिहारको मुखमा आयोजना हुँदै आएको ‘नाडा अटो शो’ यस पटक कोरोनाका कारण प्रभावित हुने भएको हो ।

अटोमोबाइल क्षेत्रकै वृहत मानिएको ‘नाडा अटो शो’ यस वर्ष कोभिड–१९ का कारण दशैंतिहार अघि आयोजना हुने सम्भावना टरेको आयोजक नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा)ले जनाएको छ । 

‘यस वर्षको नाडा अटो शो दशैंतिहार अघि हुँदैन । अटो शोका लागि आवश्यक वातावरण छैन,’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘अटो शो भइहाल्यो भने पनि यस वर्ष जनवरी, फेब्रुअरीतिर मात्र हुन्छ । त्यो पनि वातावरण सहज भयो भनेमात्र ।’

अध्यक्ष दुलालका अनुसार कोभिड–१९ को संक्रमण कायमै रहेको अवस्थामा बजार र स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर यस वर्षको नाडा अटो शो स्थगन गर्नु परेको हो ।

त्यसो त कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहेको बेला सरकारले समेत सार्वजनिक सभा, सम्मेलन, पार्टी, उत्सवका कार्यक्रम तथा त्यस्ता कुनै पनि प्रदर्शन एवम् सामूहिक भेटघाटका गतिविधि नगर्न भनिसकेको अवस्थामा नाडा अटो शो पनि प्रभावित हुन पुगेको हो ।

योसँगै अब अटो व्यवसायीहरुले यस वर्ष नाडा शोमा विशेष कार्यक्रम, योजना तथा नयाँ प्रोडक्ट प्रदर्शन गर्न नपाउने भएका छन् ।

तर नाडा अटो शो जस्तो साझा मञ्च नमिले पनि व्यवसायीहरुले यस पटक ‘दशैंतिहारको बहार ः शोरुम शोरुमबाटै अटो शोको उपहार योजना’ अघि सार्ने योजना बनाएका छन् ।

नाडा अटो शो नभए पनि गत वर्षहरुमा जस्तै अटो शो कै रौनकलाई निरन्तरता दिँदै ग्राहकलाई आफ्नै शोरुमहरुबाट सेवा–सुविधा र उपहार योजनाहरु पस्किने व्यवसायीहरुले बताएका छन् ।

दशैंतिहारको बहार : शोरुम शोरुमबाटै ‘अटो शो’को उपहार

अटो शोलाई नै लिएर प्रशिद्ध ब्राण्ड सुजुकीले यस वर्ष आफ्नै शोरुमहरुलाई नै अटो शो विशेष बनाएर गाडीहरु प्रदर्शन गर्ने र ग्राहकहरुलाई आकर्षण गर्ने योजना बनाएको छ ।

दशैंतिहारलाई लक्षित गर्दै सुजुकीले व्यापार प्रवद्र्धनका लागि आफ्नै शोरुमहरु प्रयोग गर्ने र सोही शोरुमबाटै सेवाग्राहीहरुलाई सबै खालको सेवा सुविधा तथा छुटका प्याकेजहरु दिने योजना बनाएको कम्पनीका बजार प्रवन्धक करुण शाक्यले रातोपाटीसँग बताए ।

‘यस वर्ष सुजुकीका लागि दशैंतिहार बहार शोरुम शोरुमबाटै अटो शोको उपहार हुनेछ,’ शाक्यले भने, ‘यस पटक कोभिड–१९ का कारण अटो शो नहुने भएपछि हामीले यसखालको रणनीति अघि सारेका हौँ ।’

विगतका वर्षहरुमा अटो शो मार्फत विविध योजना, छुट तथा अफरका स्किमहरु प्रदान गरिन्थ्यो भने यस पटक सो कार्यक्रम आफ्नै शोरुमहरुबाट प्रदान गर्ने उनले बताए । ‘नाडा अटो शो जस्तै त नहोला तर पनि हामीले हाम्रा ग्राहक वर्गहरुका लागि विगतका वर्षहरुमा जस्तै हाम्रो सेवा–सुविधामा कत्ति पनि कमी हुन दिने छैनौँ’ शाक्यले भने ।

शाक्यका अनुसार यस पटक सुजुकीले दशैंतिहार विशेष प्रोडक्टको रुपमा त्यस्तो कुनै नयाँ उत्पादन भित्र्याउने छैन । केही समय अघि मात्र सार्वजनिक भएको भिटेरा बे्रजा डिजेललाई नै यस वर्षको दशैँतिहार विशेष ‘हट केक’को रुपमा सुजुकीले उतार्दैछ । यी बाहेक जति पनि सुजुकीका नयाँ प्रोडक्ट तथा सेग्मेन्टवाइज गाडीहरु छन्, यिनीहरुनै यस पटकको विशेष प्रदर्शनी हुनेछन् । तर दशैंतिहार विशेष अफर तथा स्किमहरु भने ल्याइने शाक्यले बताए ।

यता, सुजुकीकै जस्तै योजना फक्सवागनको पनि छ । यस वर्ष नाडा अटो शो नहुने नै भएपछि फक्सवागनले पनि विशेष रुपमा गाडी प्रदर्शनी र व्यापारका लागि आफ्नै शोरुमलाई प्रयोग गर्ने योजना बनाएको छ ।

अटो शोमा गाडी प्रदर्शन गर्न नपाए पनि यस वर्ष विशेष रुपमा शोरुममै गाडीको प्रदर्शन गर्ने आफुहरुको योजना रहेको पूजा इन्टरनेशनल प्रालिका व्यापार प्रमुख (विजनेश हेड) विशाल घिमिरेले रातोपाटीसँग बताए ।

‘यस पटक नाडा अटो शो त नहुने नै भयो । गाडी प्रदर्शनका लागि नाडा जस्तो त्यस्तो साझा थलो त मिल्ने भएन, र पनि हामीले यस वर्ष आफ्नै शोरुमबाट गाडीको प्रदर्शन गर्ने गरी विशेष योजना बनाएका छौँ,’ व्यापार प्रमुख घिमिरेले भने, ‘यस वर्ष दशैंतिहारलाई नै लक्षित गरेर हामीले फक्सवागनको दुई वटा नयाँ प्रोडक्ट प्रदर्शन गर्दैछौं । जसमा पावरफूल इन्जिनसहितका दुई गाडी १.० पोलो टीएसआई र एययुुभी टिगोन रहेका छन् ।’

विशेष पोलो टीएसआई दशैंकै लागि आउने पक्का भएको उनले बताए । टिगोन अंग्रेजी नयाँ वर्षका लागि आउने भएको उनको भनाइ छ ।

दशैंतिहार विशेष अफर तथा छुटहरुका स्किमहरु भने कम्पनीले तयार गर्दैछ ।

अटोमोबाइल क्षेत्रमा प्रहार

नाडा अटो शो नहुने भएपछि यस पटक अटोमोबाइल क्षेत्रले नै ठूलो प्रहार व्यहोर्नुपर्ने सिपर्दी टाटा मोटर्सले बताएको छ । गाडी खरिदविक्रीको ठूलो मञ्च ‘नाडा अटो शो’ नै यस पटक बन्द हुने भएपछि यसले सिंगो अटोमोबाइल क्षेत्र नै प्रभावित हुन पुग्ने टाटा मोटर्सका लागि बजार प्रवन्धक प्रशन्न पन्त बताउँछन् ।

‘नाडा अटो शो भनेको नेपालका लागि गाडी खरिद विक्रीको ठूलो प्लेटफर्म हो । नेपालीहरुको प्रमुख चाडपर्व दशैँतिहारकै मुखमा आयोजना गरिने यस खालको अटो मेलामा अधिक मात्रामा अटोमोबाइलको व्यापार हुने गर्छ । तर यस पटक त्यसो नहुने भो,’ बजार प्रवन्धक पन्तले भने, ‘यसले व्यवसायीलाई ठूलो मार पर्छ । र उपभोक्ताहरुले पनि छानीछानी विशेष अफरमा गाडी किन्ने त्यो अवसर गुमाउँछन् ।’

एकहिसाबले अहिलेको विषम परिस्थितिमा अटो शो स्थगन गर्नु राम्रो भए पनि अन्ततःयसले व्यापारमै प्रहार गर्ने उनको भनाइ छ । यसले सिंगो अटोमोबाइल क्षेत्रलाई नै प्रभाव पार्ने उनले बताए ।

यता, दशैंतिहार लक्षित कार्यक्रमकै लागि टाटाले विशेष योजना बनाउँदै छ । दशैंतिहारकै लागि भनेर टाटाले यसपटक आफ्नो विशेष उत्पादन ‘अल्ट्रोज’ प्रिमियम ह्याजब्याक सेग्मेन्टको कार ल्याउँदैछ । उक्त कार अगष्टमै नेपाल भित्रिसक्ने बजार प्रवन्धक पन्तको भनाइ छ ।

दशैंतिहार विशेष अफरमा भने टाटाले ग्राहकहरुका लागि इएमआई (मासिक किस्तामा) ६ महिनाको छुटसहित ८.२ प्रतिशतमै ८ वर्षको किस्ताबन्दीको सुविधा ल्याएको छ । हालका लागि यस्तो स्किम प्रदान गरेको कम्पनीले दशैंतिहार अफरमा अझ बढी स्किम ल्याउन सकिने पन्तको भनाइ छ ।

तर यता नाडा अटो शो कोभिड–१९ का कारण स्थगन हुने भएपछि व्यवसायीहरु चिन्तित छन् । एउटै अटो शोमा अर्बौको कारोबार हुने गरेकोमा उक्त अटो शो नहुँदा त्यो व्यवसाय गुम्ने व्यवसायीहरुको चिन्ता छ । गत वर्षमात्र नाडा अटो शोमा ५ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको बताइएको छ भने विभिन्न ब्राण्डका गरी करिब ५ सयको हारहारीमा चार पाड्ग्रे गाडीहरुको कारोबार भएको आयोजक नाडाको भनाइ छ ।

१४औं संस्करणको उक्त अटो शोमा झन्डै ८१ हजार अवलोकनकर्ताहरुले शो को अवलोकन गरेका थिए । यसअघि १४ वटा यस्ता अटो शोको आयोजना भइसकेकोमा यसपटकको १५ संस्करणको अटो शो कोरोना अर्थात् कोभिड–१९ का कारण प्रभावित हुने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप