बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घुस नखाने दुई प्रहरी हवल्दारलाई पुरस्कार

सोमबार, २६ साउन २०७७, १० : ४५
सोमबार, २६ साउन २०७७

काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले घुस नखाने दुई प्रहरी हवल्दारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिप्रका सिन्धुली र चितवनमा कार्यरत प्रहरी हवल्दार हुन् ।

ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक प्रलोभनमा नपरी आफ्नो ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाले रातोपाटीलाई जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय समेतले हालसम्म २३ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिसकेको डीआईजी लामाले बताए । लामाकाअनुसार आर्थिक प्रलोभनमा परी आफ्नो जिम्मेवारी पूरा नगर्ने एक प्रहरी निरीक्षकसहित चार प्रहरी कर्मचारीलाई निलम्बन समेत गरिएको छ ।

प्रहरी कर्मचारीहरुलाई ५ सय देखि ५ हजार रुपैयाँसम्म घुस दिन खोजेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी सुदीप गिरीले जानकारी दिए । गिरीका अनुसार सवारी चालकहरूले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न, सवारी पासको दुरूपयोग गरी यात्रु ओसारपसार गर्न, दुर्घटना गराई कानूनी कारबाहीबाट उम्किन र नदिजन्य सामाग्री अवैधरूपमा ओसारपसार गर्न घुस दिन खोज्ने गर्छन् ।

विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नियमित ड्युटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभन देखाई सरकारको निर्देशन उलंघन गर्न खोज्नेहरुलाई घुसवापतको रकमसहित पक्राउ गरिएको गिरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप