बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकलाई काँग्रेसको आह्वान : सरकारको भरोसा छैन, आफूलाई सुरक्षित राखौं

सोमबार, २६ साउन २०७७, १७ : ०१
सोमबार, २६ साउन २०७७

काँग्रेसको कोभिड–१ अनुगमन समितिले देश कोभिड—१९ को संक्रमणको मारमा नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको बताएको छ । लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरुको इतिहासमा यस्तो संवेदनहिनता सरकार कहिले नदेखिएको समितिको ठहर छ ।

पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक एवं सहमहामन्त्री डा.प्रकाशशरण महतले  भ्रष्टाचार, अनियमितता, दुरुपयोगको पर्याय बनेको सरकार विचौलियातन्त्रको कठपुतली बताए । पछिल्लो दिनमा लगानी बोर्डमा गरिएको नियुक्ति यसको नाङ्गो रुप भन्दै आफ्ना निजी स्वार्थ पूर्ति गर्न रमाइरहेको वर्तमान सरकार र सत्ताधारी दलबाट जनताले कुनै आशा राख्ने ठाउँ नरहेको बताए ।

बढ्दो संक्रमणको कारण मुलुक अहिले स्वास्थ्य र  आर्थिक संकट समधानमा सरकार अकर्मण्य, नालायक र गैर जिम्मेवार देखिएको महतको आरोप छ । काँग्रेसको निरन्तरको खबरदारीका वावजुद पनि सरकार उदासिनताले  संक्रमण नियन्त्रण गर्न सकिने परिस्थिति हुँदाहुँदै पनि देशभरि संक्रमण फैलदै गएको महतले बताए ।

सरकारको भरोसा धेरै गर्न नसकिने भएकोले आफ्नो सुरक्षामा आफै सजग हुने र अरुलाई पनि सजग गराउन काँग्रेसको आम नागरिकलाई आवहन छ । साथै काँग्रेसले कोभिड—१९ का कारण समस्यामा परेका नागरिकलाई सक्दो सहयोग गर्न समेत पार्टीका पंक्तिलाई आह्वान गरेको छ । तर पनि काँग्रेसले सरकारसमक्ष १३ माग राखेको छ ।

यस्ता छन् १३ माग

१) लकडाउन खोलिए यता पनि नेपालको आर्थिक सामाजिक क्षेत्र पूर्ण रुपमा सुचारु हुने अवस्था छैन । देशको शिक्षा तथा अर्थतन्त्रका धेरै क्षेत्रहरु लामो समय जोखिममा रहने अवस्था छ । हामीले यस विषयमा उठाउँदै आएका जोखिम न्यून गर्ने उपायतर्फ सरकार गम्भीर बनोस्, हामी फेरि यो माग गर्दछौं ।

२) सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाईका साथ व्यवस्थापन गरियोस् ।

३) संक्रमण समुदायमा गैसकेको स्थिति भएकोले सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा व्यापक बनाइयोस् ।

४) पूर्ण लकडाउन देशले धान्न नसक्ने हुनाले परिक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गरियोस् ।

५) खाडी देशहरुमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्ने व्यवस्था मिलाइयोस् । फिर्ता हुनेहरुलाई व्यवस्थित होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरियोस् । साथै, आर्थिक अभावमा ठूलो संकट झेलिरहेका नागरिकहरुलाई सहयोग पु¥याउन सम्बन्धित कुटनैतिक निकायहरुलाई परिचालन गर्न सरकारसँग माग गर्दछौं ।

६) समुदायमा संक्रमण विस्तार सँगै ज्येष्ठ नागरिकहरु संक्रमित हुँदा मृत्यु दर बढ्दो छ । विरामीको संख्या पनि बढ्दो छ । तत्काल निजी अस्पतालहरुलाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाइयोस् ।

७) आवश्यक संख्यामा भेन्टिलेटर, हस्पिटल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको चाहिदो व्यवस्था मिलाइयोस् ।
८) स्वास्थ्यकर्मी र यसमा संलग्न अन्य सहयोगीहरुको हौसला कायम राख्न कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गरियोस् । विमाको व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् ।

९) कोभिड—१९ सम्बन्धित स्वास्थ्यकर्मीहरुको अभाव देखिएको छ । भविष्यमा थप स्वास्थ्यकर्मीहरुको आवश्यकतालाई समेत ध्यानमा राखी तत्काल आवश्यक तालिमको व्यवस्था मिलाई स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिने व्यवस्था सुनिश्चित गरियोस् ।

१०) क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुसार बनाउने व्यवस्था तत्काल गरियोस्, त्यसको लागि आवश्यक आर्थिक सहयोग स्थानीय निकायहरुलाई दिइयोस् ।

११) कुनै पनि नागरिक कोभिड—१९ सम्बन्धी होस् वा अन्य विरामी हुन् उपचारको ढोका बन्द भएर मर्नु हुँदैन । वीरगञ्ज लगायतका अन्य ठाउँहरुमा उपचारको ढोका बन्द हुँदा मर्नु परेको घटना अत्यन्त दुःखदायी छ । यो अवस्थाको तत्काल अन्त्य गरियोस् ।

१२) कोभिड–१९ रोकथामका लागि विभिन्न औषधीहरुको प्रभावकारिताका आधारमा प्रयोग भैरहेको छ । त्यसको निर्णय उपचारमा संलग्न विज्ञ डाक्टरहरुले गर्ने हो । सरकारले त्यस्ता औषधी तथा अन्य स्वास्थ्य उपकरणहरुको आयात निजी क्षेत्रलाई खुला गरोस् ।

१३) कोभिड—१९ नियन्त्रणका लागि सरकारले बनाएको संयन्त्र पूर्ण रुपमा असफल भएको छ । तत्काल कोभिड—१९ नियन्त्रणका लागि प्रभावकारी नेतृत्वलाई जिम्मेवारी
दिइयोस् । स्वास्थ्य मन्त्रालयमा समेत योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गरिदा नेतृत्व अप्रभावकारी देखिएको छ । वरिष्ठता र व्यवसायिकताका आधारमा स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिइयोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप