बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमपहिरामा ज्यान गुमाएका परियारका परिवारलाई १० लाख प्रदान

सोमबार, २६ साउन २०७७, २१ : ५१
सोमबार, २६ साउन २०७७

गत वर्ष माघ ३ गतेको हिमपहिरामा परेर ज्यान गुमाएका पथप्रदर्शक सरोज परियारको परिवारलाई ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चलले बीमावापत रु १० लाख आज हस्तान्तरण गरेको छ । 

मृतकका बुबा ससे परियारलाई टान अध्यक्ष हरि भुजेल र बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सका क्षेत्रीय निर्देशक कविराज पौडेलले बीमावापत सो बराबरको चेक हस्तान्तरण गरे ।

सो अवसरमा अध्यक्ष भुजेलले पदयात्रा मजदूरले पदप्रदर्शकका रुपमा सधैँ देशको रहनसहन, संस्कृति र भूगोललाई विश्वभरि चिनाउन  अतुलनीय भूमिका खेलेको  उल्लेख गर्दै राज्यले तिनको सुरक्षाका बारेमा ध्यान दिनुपर्नेमा जोड दिए ।


टानका निवर्तमान अध्यक्ष एवम् खोज तथा उद्धार टोलीका संयोजक दीपक अधिकारीले टानले संस्थागत दायित्व पूरा गर्दै मजदूरको बीमा गराएको उल्लेख गरे । किनोको टेक्स एण्ड एक्सिपिडिशन प्रालि कम्पनीबाट चिनियाँ पर्यटक लिएर पदयात्रा गएका परियार अन्नपूर्ण आधार शिविर हिङ्कु  केभ देउरालीमा हिउँपहिरामा परेका थिए ।

माघ १६ गते टानका प्रतिनिधि र मृतकका दाजु सन्दीपसहितको उद्धार टोलीले परियारले प्रयोग गरेको नीलो रङको टोपी र स्लीपिङ ब्याग घटनास्थलमा फेला पारेको थियो । सो घटनामा चार कोरियाली र तीन नेपालीको मृत्यु भएको थियो । 

दुई नेपाली काठमाडौँको कम्पनीबाट गएका थिए भने परियार पोखराको कम्पनीबाट गएका थिए ।  परियारसँग गएका चिनियाँ पर्यटकलाई भने सकुशल उद्धार गरिएको थियो । मृतक २१ वर्षीय सरोज चितवन, भरतपुर —१३ का बासिन्दा थिए । 


संस्थाका सचिव जीवनराज सापकोटाले कमाएर खाने मान्छेकै मृत्युपछि परिवारमा भोग्नुपर्ने समस्यालाई ध्यान दिएर थोरै भए पनि संस्थाले बीमा गराउँदै आएको जानकारी दिए ।

सापकोटाका अनुसार टानले हरेक वर्ष सामूहिक रुपमा २५  पथप्रदर्शक र ५०  सहयोगीको रु १० लाख बराबरको बीमा गराउँदै आएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप