शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पीडाबोध गर्दै सिलवालले गरे प्रहरीबाट अलग भएको घोषणा (विज्ञप्तिको पूर्णपाठसहित)

भन्छन्– मेरोजस्तो नियति कसैले भोग्न नपरोस्
मङ्गलबार, २७ भदौ २०७४, २२ : ४७
मङ्गलबार, २७ भदौ २०७४

भन्छन्– मेरोजस्तो नियति कसैले भोग्न नपरोस्

काठमाडौं– नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । आईजीपी नियुक्तिमा अन्याय भएको भन्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार  खारेज लगेपछि सिलवालले विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् । 

सिलवालले दुई पेज लामो विज्ञप्ति जारी गर्दै न्यायका लागि लड्दा अन्यायमा परेको भन्दै आफ्नो जस्तो नियति कसैले भोग्नु नपरोस् भन्नेसमेत कामना गरेका छन् ।
स्थापित मूल्य मान्यतामाथि धावा बोल्ने र कानूनको शासनमा विश्वास गर्न नसक्ने अप्रजातान्त्रिक चरीत्रका शासकहरुको शिकार आफू भएको भाव विज्ञप्तिमा ब्यक्त गरेका छन् । उनले भनेका छन्– ‘मेरो इश्वरसँग प्रार्थना छ, यस्तो नियति अरु कुनैपनि नेपालीले भोग्नु नपरोस् । नेपालका भावी पुस्ताले त झन यस्तो नियतिको कल्पनासम्म पनि गर्नु नपरोस् ।’ 

‘एक जना कर्तब्यपरायण सिपाहीमाथि बदनियत राख्दा शासक वर्गहरुको पनि निदहराम हुँदोरहेछ र उनीहरु जनताबाट दण्डित हुनु पर्दोरहेछ ।’– सिलवालले पीडा ब्यक्त गरेका छन् । सिलवालले कानूनी शासनको उपहास भएको भन्दै सर्वोच्चको फैसलामाथि ब्यङग्य गरेका छन् भने राजनीतिक दलहरुलाई शाशक वर्गको उपमा दिँदै आलोचनात्मक विज्ञप्ति जारी गरेका छन् । 

उनले लामो न्यायिक लडाईको दौरानमा समयको वरवादी, साधन श्रोतको क्षति, न्यायालयमाथिको राजनैतिक आक्रमण भने टिप्पणी गरेका छन् । सिलवालले आगामी दिनमा मुलुकको एउटा योग्य नागरिकका रुपमा सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर क्रियाशील रहने प्रतिवद्धता समेत जाहेर गरेका छन् । 

विज्ञप्तिको पूर्णपाठ

आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरु, नेपाल प्रहरीका अधिकृत तथा जवान साथीहरु !

न्याय प्रप्तिका लागि गरिएको ७ महिना लामो कानूनि लडाइको आज अन्त भएको छ । मेरो लडाइ स्थिर र निष्पक्ष प्रहरी प्रशासनको अवधारणाको लागि थियो । असल शासन ब्यबस्थाको लागि थियो । यो लडाई प्रहरी सँगठन उपर हुने राजनैतिक हस्तक्षेप र स्वैच्छाचारीतालाई दुरुत्साहन गर्नको लागि थियो । अन्याय माथि न्यायको बिजयका लागि थियो । 
 
यो व्यवसायिक हक हितका लागि लडिएको न्यायको लडाई थियो । यसलाइ विसुध्द व्यावसायिक र न्यायिक हकको क्षेत्रमा मात्र सिमित गरिनुपर्नेमा यसलाई विष्यान्तर गर्ने कोशिसहरु भए र म मुक दर्शकको रुममा पिडा वोध गरिरहें । एउटा सिपाहीको लागि सत्तामा वस्नेले दिएको कानून वमोजिमको आदेसको पालना गर्नुको विकल्प हुदैन । त्यो उसको धर्म पनि हो । त्यो आदेश दिने जो सुकै होस उसको कानूनको अक्तियारी मात्र महत्वको हुन्छ । उ कुन दलको हो भन्ने थप खोजविन गर्नु आवश्यक हुदैन । नेपालको राजनितिक परिदृस्यमा लगभग सवैले आलोपालो गरेकै हुन । प्र्रहरीले सत्तामा रहेकाको कानून वमोजिमको आदेश पालना गर्दछ । प्रहरीले कुन राजनीतिक दल भनि नगरे जस्तै आज्ञापलान गर्ने प्रहरी संग कुन दलसंगको निकटत छ वा छैन भनि हेर्न वा त्यस्तो आधारमा व्यावसायिक उन्नति र अवसर गर्न दिने वा नदिने भन्ने कुराको आधार तयार गर्नु पनि मनासिव हुंदैन । एउटा सिपाहिको लागि राजनितिको सर्वोकृष्ट अभिव्यक्ति भनेको कानून नै हो । राजनीतिक प्रकृयावाट वनेको कानून वमोजिम काम हुन्छ भने राजनितिक निर्णयको पालना भनेको त्यहि नै हो । सो देखी वाहेक व्यक्ति पिक्षेको अकांक्षा स्वार्थ वा दम्वको सिकार प्रहरीलाई वनाउन सकिदैन ।

प्रहरी माथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहिरहे सम्म कानूनि राज्य स्थापित हुन सक्दैन । कानूनलाई नै वायाँ हातको खेल वनाउनेहरुवाट प्रजातन्त्र सुरक्षित हुन सक्दैन । प्रहरीको स्वाभिमान गुमाउने षडयन्त्रहरु सफल भैरह्यो भने समाज सुरक्षित र मर्या्दित रहन सकदैन । प्रहरी संगठन वा प्रहरी अनुसासन माथि वलात कुनै दुस्प्रयास हुन्छ भने प्रजातन्त्रको अस्मिता प्रथम दृष्टिमा लुटिएको हुन्छ । राजनितिक दल  र निर्वाचन जस्ता प्रकृयाहरु मात्र प्रजातन्त्र टिकाउने आधारहरु हुदैनन, कानून र कानूनका पहरेदार प्रहरी संगठन जस्ता राज्यका अंगहरु पनि प्रजातन्त्रका आधारभूत सर्तहरु हुन्छन । त्यसैले प्रहरी संगठनलाई जसरी चलाए पनि हुन्छ भन्ने सोच जुन अहिले हुर्किदै गएको छ, त्यो नै हाम्रो प्रजातन्त्रको लागि कलंक होला भन्ने गम्भिर चिन्ता लागेको छ । प्रहरी संगठनको विरुध्द विभिन्न किसिमवाट हस्तक्षेप हुने र त्यसैको एउटा रुप मेरो सम्वन्धमा घटित भएको छ । जतिसुकै ठूलामान्छे वा शक्तिसालि वा लोकप्रिय किन नहुन प्रहरीको सम्वन्धमा कानून संगत व्यवसायिक र सयमित रहनु पर्ने हुन्छ । यस्ता मूल्यमान्यताहरु स्थापना गर्ने कोशिस गर्दा गर्दे स्वयम म र मेरो प्रयास यसको सिकार हुन पुगेको महसुस गरेको छु । म यो क्षणमा पनि फेरि यस्तो दुस्साहस कहिल्यै नहोस मेरो नियति फेरि कहिल्यै कसैले भोग्न नपरोस र प्रहरी संगठनको स्वाभिमान पहाड जस्तो सुदृढ रहोस भन्ने कामना व्यक्त गर्दछु ।

मैले मेरो जीबनको लामो उर्जावान समय मुलुकको एक सच्चा सिपाहीको हैसियतमा यो सम्मानजनक सेवामा बिताएं । यस दौरान मैले अन्यायमा परेकाहरुलाई न्याय दिलाउन र पीडामा परेकाहरुलाई मलहम लगाउने जिम्मेवारी निर्वाह गरेकोे छु । प्रणालीको बिकासमा समय खर्चेको छु । कानूनको शासन लागू गर्न मेहनत गरेको छु । अन्याय र अत्याचारको बिरुद्दमा राज्यले गर्नु पर्ने जिम्मेवारीका उदाहरणहरु प्रस्तुत गर्ने प्रयास गरेकोे छु । मैले हरेक कठिन समयहरुमा स्वदेश र विदेशमा वसेर गरेका कामहरुले मानिसहरुको मन सिंचित गरेको छ र त्यो आत्मसन्तोष मलाई संधै प्राप्त छ । म नेपाल प्रहरीका अनुशासित, कर्मठ सदस्यहरु लगायत समस्त देशभक्त न्याय प्रेमीहरुलाई आग्रह गर्दछु कि नेपाल प्रहरी केवल राजनीतिक दाउपेचको विषय नबनोस् । प्रहरी सँगठन राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सकेमा मात्र त्यसले कानूनको पालना गराउनका साथै सामाजिक न्याय स्थापित गर्न सक्दछ । प्रहरी सगठनको साख पनि यसैसँग जोडिएको छ । हस्तक्षेप रहित ढँगले कार्य गर्न पाए मात्र कानुनी राज्य स्थापित हुन्छ र दीर्घकालीन क्षेतिवाट जोगाउन सकिन्छ । म नेपाल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानहरुलाई किन्चित पनि बिचलित नभै प्रहरीको व्यावसायिकताको सम्वर्धनमा लाग्न अनुरोध गर्दछु । प्रहरी हुनुका आधारभूत मान्यताहरूलाई जोगाएर राख्न सकिएन भने हाम्रो समाज सुरक्षित रहने छैन । झट्ट हेर्दा इतिहासको कुनै कालखण्डमा सत्यको पराजय भएको जस्तो देखियता पनि इतिहासले त्यसको मुल्याडकन गर्ने नै हुँदा म सबै साथीहरुलाई निरास नभई मुलुक प्रतिको जिम्मेवारीमा लागिरहन सल्लाह दिन चाहन्छु र यस घटनाको समुचित समीक्षा गर्ने जिम्मा इतिहासलाई नैं छोडि दिनु उचित ठान्छु ।

भोलि म जुनसुकै भूमिकामा रहेपनि नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिकामा रहने छु । यस उद्दयेस्यमा म प्रहरी नेतृत्वलाई समेत सहयोग गरिरहनेछु । इमान्दार, अनुशासित र कर्तब्यनिष्ठ भएर कार्य गर्दा पनि अन्यायमा परिने जोखिम हुँदो रहेछ भनेर नेपाल प्रहरीका सकल दर्जा हतोत्साहित नबनून । एक जना कर्तब्यपरायण सिपाहिमाथि बदनियत राख्दा शासक वर्गहरुको पनि निद हराम हुँदो रहेछ र उनीहरु जनताबाट दण्डित हुनु पर्दो रहेछ । प्रजातान्त्रिक मूल्य मान्यता र कानूनको शासनको उपहास गरी शासन ब्यबस्था सञ्चालन गर्न लालायित अप्रजातान्त्रिक चरित्रहरु दण्डित हुनु भनेको पनि म जस्तो पिडित पुरस्कृत हुनु सरह नैं हो भन्ने अर्थमा वुझ्दा अझ सहज हुन्छ । यो लामो न्यायिक लडाईको दौरानमा हुन गएको समयको वरवादि, साधन श्रोतको क्षेति, न्यायालय माथिको राजनैतिक आक्रमणबाट न्याय प्रेमीहरुमा पर्न गएको आघात दुःखद छन ।

स्थापित मूल्य मान्यता माथि धावा बोल्ने र कानूनको शासनमा बिश्वास गर्न नसक्ने अप्रजातान्त्रिक चरीत्रका शासकहरुको शिकार कोहि पनि देशभक्त नेपालीले हुनु नपरोस् । मेरो इश्वर संग प्रार्थना छ, यस्तो नियति अरु कुनैपनि नेपालीले भोग्नु नपरोस् । नेपालका भावी पुस्ताले त झन यस्तो नियतिको कल्पना सम्म पनि गर्नु नपरोस् । न्याय प्राप्तिका खातिर यो कठिन र लामो लडाइको दौरानमा मलाई साथ दिनु हुने न्याय प्रेमी देश भित्र र वाहिरका सम्पूर्ण दाजुभाइ दिदी वहिनीहरु, पत्रकार मित्रहरु, स्वयमसेवकको रुपमा वहसपैरवि गरि सहयोग गर्नुु हुुने कानुुन व्यवसायीहरु, राष्ट्रिय जीवनका विविध तप्काका महिला र सज्जनहरु र प्रहरी संगठन भित्रका सम्पूर्ण अधिकृत तथा जवान साथीहरु प्रति तपाईंहरुको सहयोग, सद्भाव र सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मुलुकका लागि इमान्दारीता पूर्वक काम गर्नुको गौरव जीवनको सवैभन्दा मूल्यवान पदवि भएको मेरो अनुभवले मलाई सिकाएको छ । जसरी पनि पद हाँसिल गर्ने र आफ्नो स्वभिमानलाई गिराउन तयार हुने परिपाठिको अन्त गर्ने तर्फको मेरो लडाईले आउँदा दिनहरुका लागि एउटा वाटो कोरेको मैले महसुस गरेकोछु । वाँकि आन्तरिक सढयन्त्रका अपत्यारीला कडीहरुको विवरण म इतिहाँसको जिम्मामा छोड्न चाहन्छु । मैले जीवन भर पहिला आफै कानूनको परिपालना गर्न र अरुलाई कानून परिपालना गराउनमा लगाएको छु । मेरो आत्मसम्मानलाई प्रहार गर्ने ढंगले कसैले मेरो कर्तव्य परायणतामा प्रहार गर्दा आफ्नो आत्मालाई सोधोस् । मलाई हराउन वा निचा देखाउन हरतरहले लागेकाहरुले पनि जीतको अनुभूति गर्न सकेका त छैनन नै । 

अन्तमा, आज म अन्यायमा पर्दा पनि सम्यमित छु ।  फगत म प्रहरी संगठनको महानिरिक्षक हुन सकिन तापनि सम्पुर्ण देशवासी र समस्त प्रहरीहरुले देखाएको सदभाव र मायाले मलाई त्यो भन्दा उच्च कोटीमा राखेको महसुस गरेको छु। म निवृक्त भए पनि मेरो प्रहरी मन कहिल्यै निवृक्त हुने छैन । जनताका सवै सुखदुखका प्रहरहरुमा म संधै संगै रहने छु । नेपाली जनताको निसान्त जुन सुभेक्षा र सदभाव यो सम्पूर्ण प्रकृयामा जसरी निरन्तर प्राप्त गरिरहें त्यसको लागि नेपाली जनतालाई नमन गर्दै म आफ्नो कृतज्ञता व्यक्त गर्दछु । आउँदा दिनमा मुलुकको एउटा योग्य नागरिकका रुपमा सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर क्रियाशील रहने छु । अन्यायमा पर्दा जीवन कस्तो पिडादायक हुदों रहेछ भन्ने अनुभुतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकहरुको एउटा ससक्त आवाज वन्ने कोशिस गर्र्नेछु । आजैका मितिदेखि नेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु । धन्यवाद ! जय नेपाल ।

नवराज सिलवाल , २०७४ भाद्र २७ गते  

यो पनि पढ्नुस्ः

सिलवालले दायर गरेको रिट खारेज : सुशीला र गोपालको नजरमा सिलवालको फरक–फरक अंक (पूर्णपाठ)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप