शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संक्रमण दर बढेसँगै कोरोना बीमा गराउने ह्वात्तै बढे, बीमा गर्नेमध्ये १५५ जना संक्रमित

४४ जनाले पाए दाबी भुक्तानी
मङ्गलबार, २७ साउन २०७७, १३ : १२
मङ्गलबार, २७ साउन २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि कोरोना बीमा गर्नेहरु ह्वात्तै बढेका छन् । हालसम्म ६ लाख भन्दा बढीले कोरोना बीमा गरेको बीमा समितिले जनाएका छ । कोरोना बीमा गर्ने १ सय ५५* जनामा कोरोना संक्रमण देखिएपछि दाबी भुक्तानी माग भएको बीमा समितिले जनाएको छ । 

सोमबारसम्म दाबी गर्नेहरु मध्ये ४४ जनालाई दाबी भुक्तानी दिइएको समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । अन्य बाँकी रहेकाहरुको भने दाबी भुक्तानी गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ । अधिकारीका अनुसार संक्रमित भएकाहरुमा मध्ये अधिकाँशले एक लाख रुपैयाँको बीमा गराएका छन् । 

समितिका अनुसार हालसम्म १५५ संक्रमित मध्ये हालसम्म १११ जनाले भुक्तानी लिन बाँकी रहेको छ । भुक्तानी हुन बाँकीमध्ये ११० जनाले १ लाख र १ जनाले ५० हजारको कोरोना बीमा गराएका छन् । 
यसैगरी हालसम्म ४४ जनाले  भुक्तानी लिएका ६ जनाले ५० हजार र ३८ जनाले १ लाखका दरले पाएका छन् । 

कोरोना बीमा गराउने कम्पनीहरु मध्ये लुम्बिनी इन्सुरेन्समा बीमा गराउनेमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको बीमा दाबीबाट प्रष्ट हुन्छ । यसमा ३२ जनाले दाबी गरेकोमा ३ जनाले भुक्तानी पाएका छन भने अन्य प्रक्रियामा रुहेका छन् । यता शिखरमा  पनि बीमा गराउने ३० जनाले दाबी गरेका छन् । यसले ६ जनालाई हालसम्म दाबी भुक्तानी गरेको छ । दाबी गरेकै आधारमा कोरोना गराउँनेमा कोरोना संक्रमणको ग्राफ आंकलन  गर्न सकिनछ ।  सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा युनाइटेड इन्सुरेन्स रहेको छ । यसले सबैभन्दा बढी १३ वटा दाबी भुक्तानी गरेको छ । यसले १३ लाखको दाबी भुक्तानी गरेको हो । 

पीसीआर परीक्षण र कोरोना बीमा गर्दाको कागजात लिएर गए सम्बन्धित बीमा कम्पनीले सातदिन भित्र भुक्तानी दिनेछन् । भुक्तानीमा कुनै समस्या नभएको अधिकारीले बताए । कोरोना संक्रमणको दर बढ्दै गएपछि कोरोना बीमा गराउनेहरु पनि बढ्दै गएको अधिकारीले बताए ।  कोरोना बीमाबाट हालसम्म ३५ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ । 

वैशाख सात गतेबाट शुरु भएको कोरोना बीमामा सोचे भन्दा बढी बीमा गर्नेहरु बढेपछि र कोरोना संक्रमण पनि बढ्दै गएपछि नियामक बीमा समितिले कोरोना बीमा बन्द गर्न कम्पनीहरुलाई निर्देशन दिएको थियो । जेठ २३ गते बन्द गरिएको बीमा पोलिसी पुन अर्थमन्त्रालयको दबाबमा भोलिपल्टबाटै खुला गरियो । सरकारले बजेटमा समेत कोरोना बीमाको व्यवस्था गरेको अवस्थामा समितिले कोरोना बीमा पोलीसी बन्द गराएर बजेट फेल गराउन खोजेको आरोप अर्थले लगायो । अन्ततः सरकारले समेत अनुदान दिने भएपछि बीमा कम्पनीहरु कोरोना बीमा गर्न राजी भएका हुन् । 

अहिले सरकारले पनि कोरोना बीमा गराउन सुरु गरेको छ । सरकारी कर्मचारीको कोरोना बीमा गराउँदा पूरै बीमा शुल्क र  नागरिकको हकमा ५० प्रतिशत बीमा शुल्क सरकारले व्यहोर्ने छ । बजेटमा १ लाख रुपैयाँसम्मको बीमा गर्दा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशतसम्म सरकारले व्यहोर्ने उल्लेख छ ।  यस्तै स्वास्थ्यकर्मी महिला स्वयमसेविकाको दायित्व भने सरकारले नै व्यहोर्नेछ । बजेटको बुँदा नम्बर ५५ र २८५ मा कोरोना बीमा सम्बन्धित व्यवस्था गरिएको छ । हाल देशभरका २० वटा निर्जिवन बीमा कम्पनी मार्फत कोराोना बीमा भइरहेको समितिले जनाएको छ । 

यसरी गर्न सकिन्छ कोरोना बीमा
कोरोना बीमा अन्र्तगत १ लाख र ५० हजार रुपैयाँ गरी दुइप्रकारको बीमांक कायम गरिएको छ । १ लाख रुपैयाँको प्रतिव्यक्ति १ हजार र ५० हजारको प्रतिब्यक्ति पाँच सय रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ । यदि परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा  एक लाख रुपैयाँका लागि ६ सय र ५० हजार रुपैयाँको लागि ३ सय रुपैयाँ शुल्क लाग्नेछ ।  बीमा गर्दा कुनै पनि नेपाली नागरिक  भारत लगायत तेस्रो मुलुकबाट आएको रहेछ भने १५ दिन अनिवार्र्य रुपमा क्वारेन्टिन र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्नेछ । 

कोरोना बीमा गरेको १५ दिन पश्चात कोरोना देखिएमा दाबी भुक्तानी गर्न सकिनेछ ।  दाबी  गरेका सात दिनभित्र बीमा कम्पनीले दाबी  भुक्तानी गर्नेछ । भुक्तानीका लागि पिसिआर रिपोर्ट पोजेटिभ आएको र बीमा गर्दाको कागजात सम्बन्धित कम्पनीमा पेस गर्नुपर्नेछ ।

सामान्यतयाः युद्ध र महामारीको बीमा नहुने विश्वव्यापी प्रचलन छ । तर नेपालमा भने कोरोना भाइरस महामारीको बीमा गर्ने नीति बीमा समितिले अघि सारेर नयाँ  अभ्यास गरेको छ । कोरोनाको बढ्दो संक्रमणमा यस खालको बीमाको उपयोगिता देखिएको छ । 

*यसअघि संक्रमितको संख्या अन्यथा भएकाले सच्याइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप