शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अप्रेशन जोजो’ : यसरी समातिए गोंगबु हत्याकाण्डका आरोपी

फेसबुकको चिनजान नै ‘काल’
मङ्गलबार, २७ साउन २०७७, १६ : १३
मङ्गलबार, २७ साउन २०७७

काठमाडौँ । गोंगबुको नवज्योती मार्गमा सुटकेशमा शव भेट्नासाथ अनुसन्धानका लागि ट्रयाकिङ डग प्रयोग गरियो । जसको नाम थियो– ‘जोजो ।’ 

ट्रयाकिङ डगले शव भेटिएको करिब ३ सय मिटर पर जेब्रा झोलामा फालिएको शवको टाउको र खुट्टा पत्ता लगायो । त्यसपछि अपराध महाशाखा र काठमाडौँ प्रहरीले त्यो अपरेशनको नाम दिए– ‘अप्रेशन जोजो ।’ 

दुई दिन र दुई रातको मेहनतपछि ‘अप्रेशन जोजो’ सफल भएको छ । मंगलबार काठमाडौँ प्रहरी प्रमुख प्रहरी बरीष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले संयुक्त पत्रकार सम्मेलन गरेर दाङका ४५ वर्षीय कृष्णबहादुर बोहोराको हत्या गर्ने कल्पना मुडभरी (पौडेल)लाई सार्वजनिक गरेका छन् । रोल्पा रुन्टीगढीका बोहोरापछि दाङ झरेका हुन् । 

परिवार र आफन्तसँग सम्पर्क नहुँदा बोहोराको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार मध्यान्ह प्रहरीले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरेपछि बोहोराको मामा प्रहरी सम्पर्कमा पुगे । मामाले शव चिनेपछि ‘अप्रेशन जोजो’ अझै रफ्तारमा अगाडि बढ्यो ।

मृतकका मामाले प्रहरीलाई एउटा ‘क्लू’ दिए । त्यो क्लू थियो– ‘बोहोराको नवज्योती मार्गमा बस्ने कल्पना भन्ने महिलासँग हिमचिम छ ।’ प्रहरी तिनै मामालाई लिएर नवज्योतीमार्गमा कल्पनाको डेरा खोज्न थाले । 

‘मामा’ एकपटक त्यो कोठामा गएका पनि थिए । उनले अर्को ‘क्लू’ दिए–‘कल्पना बस्ने घरको रंग निलो जस्तो लाग्छ ।’ प्रहरी निलो रंगको घरमा पुग्यो । त्यो किरण बस्नेतको घर हो । कल्पनाले सो घरको तेस्रो तलामा कृष्णबहादुरको हत्या गरिन् ।’ 

दही र स्लिपिङ ट्याब्लेट 
शनिवार साँझ ५ बजे रक्सीको बोत्तल (रुस्लान भोड्का) लिएर कृष्णबहादुर कल्पनाको कोठमा जान्छन् । कल्पना र दुई छोरा–छोरी त्यहाँ बस्थे । कल्पनाले मासु पकाउँछिन् । त्यसअघि उनलाई दही र चिउरा खुवाउँछिन् । दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएको कुरा कृष्णबहादुरले थाहा पाउँदैनन् । 

निन्द्रा लाग्ने चक्की (ट्रेड–१० एमजी)को असरले कृष्णबहादुर गल्छन् । त्यसपछि भोड्का र मासु लिन्छन् । कल्पना पनि उनलाई साथ दिन्छिन् । त्यतिन्जेल छोरा–छोरी खाना खाएर आफ्नो कोठमा टिभी हेर्न थाल्छन् । 

नसाको सुरमा लठ्ठ परेर बोहोरा सुतेको मौकामा किला निकाल्ने ह्यामरले कल्पनाले उनको अण्डकोषमा प्रहार गर्छिन् । अण्डकोषमा ह्यामरले हिर्काएपछि सलले घाँटी बाँधेर मरेको यकिन गरेपछि बाथरुममा लगेर कृष्णबहादुरको घाँटी काट्छिन् ।

अभियुक्त कल्पना मुडभरी पौडेल । तस्बिर नेपाल प्रहरी

घटनाबारे जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी ज्ञवाली भन्छन्– ‘सुटकेशको साइजअनुसार मिलाउन दुवै खुट्टा काटेको अनुसन्धानबाट खुलेको छ ।’

कृष्णबहादुरको हत्या गरिसक्दा करिब ११ बज्यो । बाहिर पानी दर्किरहेको थियो ।  राती करिब १२ बजेतिर कल्पनाले टाउको र खुट्टा लगेर डेरा नजिकै स्वर्गद्वारी मार्गको खाली जमिनको कुनामा लगेर छाडिन् । 

करिब १ बजेतिर सुटकेशमा प्याक गरिएको कृष्णबहादुरको बडी फाल्नका लागि उनले छोरीलाई बोलाइन् । ‘नाम्लो लगाएर कल्पनाको शव बोकेको र छोरीले छाता ओढाएको आरोपीको बयानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने । 

फेसबुकबाट चिनजान नै ‘काल’
चार बर्षअघि कल्पना र कृष्णबहादुरको चिनजान भयो । त्यतिबेला बोहरा विदेशमा थिए । पछिल्लो तीन बर्षयता काठमाडौँमा उनीहरु दुईजनाको बिचमा भेट भइरहन्थ्यो । 

कमला पौडेलको नामबाट कल्पनाले फेसबुक चलाउँथिन् । तर, उनको फोटो राखेर बोहराले ‘कल्पना शाही’ नामबाट फेसबुक आईडी बनाए । सो आईडीबाट अरु केटाहरुलाई फिसिङ गर्न थाले । बोहोराको कर्तुत थाहा पाएपछि कल्पनाले त्यसो नगर्न भनिन् । तर, उनलाई उल्टो ‘नाङ्गो फोटो सार्वजनिक गर्दिने’ धम्की दिन थाले । 

कक्षा १० मा पढ्ने छोरीलाई पनि बोहराले गलत नियतले हेर्न थालेकोमा कल्पना रुष्ट थिइन् । ‘हर्केहल्दार’ टेली श्रृङ्खलामा एउटा भागमा अभिनय गरेकी कल्पनाले त्यसपछि बोहोरालाई सँधैका लागि साइड लगाउने निधो गरिन् । 

‘हत्याको मुख्य कारण फेसबुक ब्ल्याकमेलिङ नै हो,’ अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीसँग भने– ‘छोरीलाई गलत नजर हेर्न थालेपछि कल्पनाको आक्रोश अझै बढेको देखिन्छ ।’ अन्तत, फेसबुकबाट जोडिएको कल्पना र कृष्णबहादुरको सम्बन्ध ‘फेसबुक विवाद’ कै कारण अन्त्य भयो । 

अनि, पक्राउ परिन् 
‘कल्पना दिदी’ खोज्दै नवज्योतीमार्गमा पुगेको प्रहरीले घरधनी किरण बस्नेतमार्फत उनको सम्पर्क खोज्यो ।  नम्बर लिएर लोकेशन ट्रयाक गर्न थाल्यो । लोकेशन चितवन देखियो । त्यसपछि काठमाडौँ प्रहरीले चितवन प्रहरीको सहयोग लियो । चितवन प्रहरी कल्पनालाई खोज्न माधवपुर पुग्यो । 

त्यतिन्जेल कृष्णबहादुरको हत्यारा कल्पना नै हो भन्ने निष्कर्षमा प्रहरी पुगेको थियो । ‘होइन कि’ भन्ने शंका पनि थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवाली भन्छन्– ‘एक्लै कसरी सम्भव भयो ? भन्ने प्रश्न मनमा खेलिरहेको थियो ।’ 

चितवन प्रहरीका एसपी नान्तिराज गुरुङ माधवपुर पुगे । प्रहरीले त्यहाँ एउटा घर घेरेर राखेको थियो । सो घरका एक सदस्यले देखाए– ‘कल्पनाको घर यहाँबाट पाँच मिनेटको दुरीमा छ ।’ 

अनि, प्रहरी आरोपीको घरमा पुग्यो । प्रहरीलाई देखेपछि कल्पना आत्तिईन् । कल्पनाको आमा, छोरीलाई प्रहरीले पक्रियो । तर, उनले अपराध स्वीकार गरिनन् । पछि, प्रमाण पेश गरेपछि कल्पनाले भनिन्– ‘हो, मैले एक्लै हत्या गरेँ, यसमा कसैको सहयोग छैन् ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप