शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

९ वर्षसम्म लागुऔषधको नशामा डुबेर सञ्जय दत्तले बर्बाद गरेका जीवन: बुवासँग भनेका थिए, ‘बचाइदिनुस्’

बुधबार, २८ साउन २०७७, १३ : ०७
बुधबार, २८ साउन २०७७

बलिउड नायक सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । स्रोतलाई विश्वास गर्ने हो भने सञ्जय तेस्रो स्टेजको क्यान्सरसँग जुधिरहेका छन् । सञ्जयका लागि यो समय निकै मुश्किल छ तर उनको जीवनमा स्वास्थ्य समस्या देखिएको यो पहिलो पटक भने होइन । सञ्जयले आफ्नो जीवनमा योभन्दा पनि खराब समय देखेका छन् । उनी एकपटक लागुऔषधको नशामा फसेका थिए ।

कम उमेरमा नै लागुऔषधमा डुबेः

केही वर्षअघि सिमी ग्रेवालको च्याट शोमा सञ्जयले आफू लागुऔषधको नशामा भएको समय सम्झिएका थिए । उनले आफू १७–१८ वर्षमा कलेज पढ्दै गर्दा लागूऔषधको नशामा डुबेको बताए । त्यतिबेला उनका लागि लागूऔषध नै सबैकुरा थियो । कसैले उनलाई एकपटक लागूऔषध चाख्न भने र त्यसपछि यसको लतले उनको जीवनको ९ वर्ष बर्बाद गरिदियो ।

एक अन्तरवार्तामा सञ्जयले भनेका थिए, ‘मैले हरेक लागूऔषध सेवन गरेँ तर मलाई हेरोइन र कोकिन निकै मन पर्दथ्यो । एकपटकको कुरा, मैले मैले एलएसडी (साइकेडेलिक ड्रग) सेवन गरेको थिएँ । पिताजीले मलाई अफिस बोलाउनुभयो । म त्यहाँ चाँडै नै पुगेँ । उहाँ मेरो अगाडि बसेर कुरा गरिरहनुभएको थियो तर मैले केही पनि बुझिरहेको थिइनँ । उहाँले निकै सुस्त गतीमा कुरा गरिरहनुभएको थियो र मैले ‘हजुर–हजुर’ भन्ने कोसिस गरिरहेको थिएँ । अचानक मलाई लाग्यो कि उहाँको टाउकोमा मैनबत्ती बलिरहेको छ । त्यो देखेर म डराएँ र उहाँको अनुहार नजलोस् भनेर उहाँलाई बचाउन उहाँ भएठाउँ डौदिएँ ।’

‘मेरो त्यस्तो व्यवहार देखेर पिताजीले नोकरलाई भन्नुभयो, ‘यसलाई लिएर जाओ, यो पागल भइसकेको छ ।’ आज जब म यो घटनाबारे सोच्छु तब लाग्छ कि मेरो व्यवहारले पिताजीलाई कस्तो महसुस भयो होला ।’

९ वर्षसम्म लागुऔषधः

यस्तै अर्को एउटा अन्तरवार्तामा उनले एउटा किस्सा सुनाउँदै भने, ‘एकपटक मैले हेरोइन खाएको थिएँ र सुत्न गएँ । निद्रामै भोक लाग्यो र म उठेँ । बिहानको समय थियो । मैले नोकरलाई मलाई खाना दिन भनेँ ।’

उनी मलाई देखेर रुन थाले र भने, ‘तपाईं दुई दिनपछि उठ्नुभएको हो । मलाई देखेर घरका सबैजना पागल जस्तै भए, सबैलाई मेरो चिन्ता हुन थाल्यो । त्यसपछि मैले आफूलाई ऐनामा हेरेँ । ड्रग्सले मेरो अनुहार सुन्निएको थियो र त्यसपछि मलाई म मर्छु जस्तो लागेको थियो । म पिताजी भएठाउँ गएँ र उहाँसँग मद्दत माग्दै भनेँ, ‘मलाई बचाउनुहोस् पापा’ ।’

रिह्याब सेन्टरमा बसे सञ्जयः

त्यसपछि सञ्जयले भने, ‘तीन हप्तासम्म म ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएँ र त्यसपछि उपचारका लागि एक रिह्याब सेन्टर गएँ । उपचार गराएको दुई वर्षपछि भारत फर्किएँ । कसैलाई थाहा थिएन म आइरहेको छु । जब घर पुगेँ तब मेरो नोकरले भने कि मलाई कसैले भेट्न चाहन्छ । उनी मलाई ड्रग बेच्ने व्यक्ति थिए । उनले मलाई भने, ‘नयाँ माल आएको छ, तपाईं राख्न सक्नुहुन्छ ।’ यो त्यो समय थियो जतिबेला मैले निश्चित गर्नुथियो कि मैले के गर्नुपर्छ । मैले ड्रग्स राख्नु छ वा ती बेच्ने व्यक्तिलाई भगाउनु छ । मैले त्यतिबेला ती व्यक्तिलाई भगाइदिएँ । त्यो दिन मलाई लाग्यो कि ड्रग्सविरुद्ध म आफ्नो युद्ध जितिसकेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप