शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'सरकारले वास्तविक सीमा समस्या समाधानका लागि गम्भिरता देखाएन'

बुधबार, २८ साउन २०७७, १८ : ३८
बुधबार, २८ साउन २०७७

काठमाडौं । सांसदहरुले नेपालको अद्यावधिक नक्सा जारी गरेपनि सरकारले वास्तविक सीमा समस्या समाधानका लागि गम्भिरता नदेखाएको आरोप लगाएका छन् । 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा सांसदहरुले भारतसँगको वास्तविक सीमा समस्या समाधानका लागि सरकारले गम्भिरता नदेखाएको आरोप लगाएका हुन् । स्ट्रिप नक्साको बलमा भारतले कञ्चनपुर जिल्लामा नेपालीले भोगचलन गर्दै आएको भूमि अतिक्रमण गरेको विषयमा भएको छलफलमा सांसदहरुले यस्तो आरोप लगाएका हुन् । 

सांसद देवेन्द्रराज कँडेलले जारी भएको नयाँ नेपालको नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि समेटिएको छ की छैन भन्ने प्रश्न गरे । द्वन्दकालमा नेपाली टोली समेत भारतमा गएर जारी गरेको नक्साका कारण समस्या उत्पन्न भएको देखिएकोले गम्भीरता देखाएर यो विषयमा अध्ययन गर्नुपर्ने बताए ।


सांसद रामसहाय प्रसाद यादवले सीमा सम्बन्धि बास्तविक काम कति सम्पन्न भयो भन्ने तथ्याङ्क सम्बन्धित मन्त्रालय लगायत सरोकारलाहरुसँग छ की छैन भन्ने आशंका व्यक्त गरे । उनले नक्सा जारी भएपनि सीमा समस्या समाधानका लागि सरकार तयार नभएको बताए ।


सांसद नरबहादुर धामीले सीमा रक्षाका क्रममा गोविन्द गौतमको हत्या भएको घटनामा अनुगमन गर्न चुकेको सरकार जग्गाधनी पुर्जा समेतको भूमि भारततर्फ जाँदा पनि गम्भिर नभएको बताए । नेपाल भित्र हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेर जनतालाई आतंकित बनाउने गरेको कुरा पटक पटक संसदमा उठाउादा पनि सरकारले वास्ता नगरेको उनले बताए ।

सांसद रेखा शर्माले दिर्घकालिन रुपमा सीमा समस्या समाधान गर्ने बाटो तर्फ सरकार अग्रसर हुनुपर्ने बताइन् । उनले द्वन्दकालिन समयमा सीमा निर्धारण टोलीमा को को भिए भन्ने पत्ता लगाएर समितिमै बोलाउनुपर्ने बताइन् ।

बैठकमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले अद्यावधिक नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि पनि समेटिएको बताइन् । स्ट्रप नक्सा दुई देशको सहमतिमा खारेज हुने प्रावधान रहेको उल्लेख गर्दै भारतको केही भूमि नेपाल तर्फ समेत रहेको बताइन् ।

बैठकमा कोभिड—१९ का सन्दर्भमा पनि छलफल भएको थियो । पतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस रोकथामका लागि सरकारले काम नसकेको बताएका थिए । 

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुप्रति गरको टिप्पणीप्रति सांसदहरुले आपत्ति व्यक्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप