हार्दिक समवेदना
बिहीबार, २९ साउन २०७७, ०७ : ५५
एउटा फेक आईडी बनाएर
जारी गर्नुछ आफ्नै मृत्यु भएको सूचना
र, तौलनु छ
कमेन्ट बक्समा मगमगाउने
समवेदनाका एकएक शब्दगुच्छाहरूलाई
मृत्युको व्यापारमा नै हो
फलामले सुनको भाउ पाउने
वैरभाव सारा भुलेर
शत्रुले पनि बहकिने ठाउँ पाउने
बाँचुन्जेल
जाँडको कीरा भएर मरिएकै छ
यो घोषित मृत्युपछि
टल्कने हीरा भएर बाँच्ने मन छ
मैले निधो गरिसकेँ
आजको एक रातलाई भए पनि मरिदिन्छु
अनि
भोलि बिहानैदेखि सँगाल्न थाल्नेछु
समवेदनाका सुवासिला शब्दगुच्छाहरू ।
विष्णुप्रसाद आचार्य ‘अतृप्त’
नुवाकोट । हाल: तारकेश्वर–२, काठमाडौँ ।