बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर एकल विन्दुमा, बैंकिङ क्षेत्रकै सवैभन्दा सस्तो

बिहीबार, २९ साउन २०७७, १४ : ४७
बिहीबार, २९ साउन २०७७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ । 

बैंकको आधारदर ६ प्रतिशत भन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको आधार दर ६ प्रतिशत भन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको बताए । 

यसमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशत सम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको श्रेष्ठले बताए । अधिकतप प्रिमियम जोडदा समेत बैंकको ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेकाले बैंकको ब्याजदर अन्य बैंकहरुको भन्दा धेरै सस्तो भएको बताए । उनले ७ दशमलव २५ प्रतिशत ब्याजदरको घरकर्जा उपलब्ध गराइएको समेत बताए ।

यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैंकबाट लिएको घरकर्जालाई स्वाप गर्ने सुविधा समेत दिइएको उनले बताए । कोभिड १९ को असरले कर्जाको माग कम भएर गएको र निक्षेपमा चाप नपर्दा लगानी योग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको बताए । उनले नेपालका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रतिस्पर्धि राष्ट्रिय वाणिज्य बैंक नै रहेको र यसको ब्याजदर पनि अन्य बैंकको तुलनामा न्यून भएको बताए ।

सिइओ श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदरमा स्थायित्व समेत रहेको बताएका छन् । छिटो छिटो ब्याजदर परिवर्तन गर्ने सम्बन्धमा ग्राहकको सुविधालाई ध्यान दिएर ब्याजदर परिवर्तन गर्ने गरिएको बताए । कर्जाको माग बढेर जाँदा लगानीयोग्य रकमको अभाव हुने र त्यस्तो अवस्थामा निक्षेप बढाउनुपर्ने दवाव हुँदा ब्याजदर स्वतः बढ्न जाने गर्छ । तर राष्ट्रिय वाणिज्य बैंकमा त्यस्तो समस्या नरहेको पनि श्रेष्ठले बताए । प्रविधि र जनशक्तिको हिसाबले राम्रो व्यवस्थापन गरिएकाले बैंकको समग्र व्यवसायमा सकारात्मक असर परेको उनको भनाई छ ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ । यो अवस्था राष्ट्रिय वाणिज्य बैंकमा पनि छ । पछिल्लो अवस्थामा राष्ट्रिय वाणिज्य बैंकमा कर्जा–पूँजी–निक्षेप अनुपनत ६३ प्रतिशत कायम भएको छ । यसको अर्थ बैंकमा अझै लगानीयोग्य रकम प्रसस्त छ । त्यसैले कर्जाको ब्याजदर तत्काल हेरफेर हुने सम्भावना नभएको पनि श्रेष्ठले बताए ।

हाल बैंकले सामान्य बचतमा ३ दशमलव ५ प्रतिशत, विशेष बचत, सुनौलो बचत लगायतका बचत खातामा रकम जम्मा गर्दा ५ प्रतिशत ब्याजदर दिएको छ । त्यस्तै अमेरिकी डलर बचतमा १.५ प्रतिशत, युरो र अन्य मुद्रामा शुन्य दशमलव ७५ प्रतिशत ब्याजदर रहेको छ । मुद्धती निक्षेप अन्तर्गत व्यक्तिगतमा ७ प्रतिशत देखि ७ दशमलव २५ प्रतिशत र संस्थागतमा ६ दशमलव ५ प्रतिशत देखि ६ दशमलव ६ प्रतिशत सम्म ब्याजदर रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप