शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली-प्रचण्ड चार घण्टा वार्ता, समाधानउन्मुख कोणबाट छलफलको सुरुवात

बिहीबार, २९ साउन २०७७, १५ : ४२
बिहीबार, २९ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार चार घण्टा छलफल भएको छ । बिहीबार बिहन लामो समयको संवादहीनता तोड्दै दुई अध्यक्षबीच चार घण्टा छलफल भएको हो । 

सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको छ । 
‘पार्टीभित्र देखिएका समस्याहरुको समाधानउन्मुख कोणबाट छलफलको सुरुवात भएको छ भन्ने कुरा आएको छ,’ सापकोटाले रातोपाटीलाई जानकारी दिए ।  यसअघि निकास नआउने भेटवार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रचण्डले निकास आउनेगरी मात्रै वार्तामा बस्ने ओलीलाई सन्देश पठाएका थिए । 

बिहीबार ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता भइरहँदा महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्मा पनि बालुवाटारमै रहेका थिए । उनीहरु कहिले छुट्टै त कहिले दुई नेताबीचको कुराकानीमा पनि सहभागी भएको प्रधानमन्त्री ओलीका संचारविज्ञ रामशरण बजगाईले जानकारी दिए । यसअघि बुधबार प्रधानमन्त्री केपी ओलीले ५ दिनभित्र नेकपामा नयाँ सिनारियो देखिने बताएका थिए । उनले आजैबाट काउन्टडाउन सुरु हुने समेत बताएका थिए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप