शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना अपडेटः अहिलेसम्म कुन प्रदेशमा कति जनाको मृत्यु भयो ? (तथ्यांक)

बिहीबार, २९ साउन २०७७, १७ : ०८
बिहीबार, २९ साउन २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १—१ जना गरी ४ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै अछामको रामारोशन गाउँपालिका—५ का १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगबाट ग्रसित थिए ।

यस्तै मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए । यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको उनले बताए । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर २ मा ३९ जना, बाग्मती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ६ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

बिहीबार नेपालमा ५ सय भन्दा बढी संक्रमित थपिएका छन् । बिहीबार ९ हजार ८ सय ५९ भएको पीसीआर परीक्षणमा ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको हो । उपत्यकामा मात्रै १ सय २७ जनामा संक्रमण देखिएको छ । योसँगै आजसम्म कोरोना भाइरसबाट २४ हजार ९ सय ५७ जना संक्रमित भएका छन ।

आज प्रदेश नम्बर १ मा ७ सय २५, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ८९, बाग्मती प्रदेशमा १ हजार ७ सय ३ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ८०, कर्णाली प्रदेशमा २ सय १६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ७० गरी देशभर ८ हजार २५ संक्रमित उपचाररत रहेका छन् । यस्तै होम आइलोसेनमा प्रदेश नम्बर १ मा ७२, प्रदेश नम्बर २ मा ९८ र बाग्मती प्रदेशमा ३६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ सय ४५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७ गरी ४ सय ६६ जना होम आइसोलेसनमा रहेका छन ।

बिहीबार १ सय ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा १ हजार ४८, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ४९, बागमती प्रदेशमा ६ सय २७ र गण्डकी प्रदेशमा १ हजार ४ सय ९९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय २४, कर्णाली प्रदेशमा १ हजार ९ सय ७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८३ जना गरी आजसम्म १६ हजार ८ सय ३७ जना डिस्चार्ज भएका छन् । अहिले देशभरका क्वारेन्टिनमा १४ हजार ७ सय ५९ जना रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप