शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फुटबल खेलाडीसहित ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

बिहीबार, २९ साउन २०७७, २२ : १८
बिहीबार, २९ साउन २०७७

काठमाडौं । विश्वकप फुटबल छनोट तथा एशियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका खेलाडी र अधिकृतसहित ५४ जनाको पिसिआर परीक्षण गराएकामा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको पुनः पिसीआर परीक्षण गरिने भएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार ११ खेलाडीसहित २५ जनाको तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो । एन्फा प्रवक्ता किरण राईका अनुसार पिसिआर परीक्षण गराउनेमा ३४ खेलाडी, आठ अधिकृत र १२ कर्मचारी थिए । एन्फाले आगामी भदौ १ देखि विश्वकप फुटबल छनोट प्रतियोगिताका लागि खेलाडी, अधिकृत र कर्मचारीको कोरोना परीक्षण गराएको हो । 

विश्व फुटबल महासङ्घ (फिफा) ले भने सन् २०२० मा विश्वकप छनोट प्रतियोगिताका बाँकी कुनै पनि खेल नखेलाउने निर्णय गरेको छ । फिफाको उक्त निर्णयसँगै हाललाई नेपाली फुटबल टोलीको प्रशिक्षण एन्फाले स्थगन गरेको छ । दोस्रो चरणको विश्वकप छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी थियो । नेपालले खेल्न बाँकी रहेका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसितको खेल नेपालमै खेलाउने तयारी गरिएको थियो । हाललाई एन्फाको बन्द प्रशिक्षण रोकिएको छ । 

सन् २०२२ मा कतारमा विश्वकप तथा सन् २०२३ मा चीनमा एशियन कपको छनोटका लागि नेपालले प्रशिक्षण गर्न तयारी गरेको थियो । हालसम्म नेपालको पाँच खेलबाट तीन अङ्क छ । चाइनिज ताइपेइलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप