बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता

बिहीबार, २९ साउन २०७७, २३ : ३२
बिहीबार, २९ साउन २०७७

एजेन्सी । इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा ऐतिहासिक शान्ति सम्झौता भएको हो । ट्रम्पले इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्धलाई सामान्य बनाउने भन्ने प्रस्ताव राख्दै आएका थिए ।  

अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहम्मद अल नाहानले एक संयुक्त विज्ञप्तिमा भनेका छन्– ‘यो ऐहिासिक सफलताले मध्यपूर्वमा शान्ति ल्याउनेछ ।’ उनीहरुले यसैको परिणामस्वरुप इजरायलले पश्चिमी किनाराको ठूलो हिस्सासँग जोडिएको आफ्नो योजनालाई पनि स्थगित गरेको जनाएका छन् ।

अहिलेसम्म इजरायलको अरब मुलुकहरुसँग कुनै कुटनीतिक र राजनीतिक सम्बन्ध थिएन । तर जोर्डन र इजिप्टसँग भने पुरानै कूटनीतिक सम्पर्कचाहि रहेको छ । यद्यपि, इजरायल र अरब देशहरुले यो क्षेत्रमा ईरानका विषयमा भने समान चिन्ता प्रकट गरेका छन् । त्यसकारण दुई पक्षबीच अनौपचारिक सम्पर्क सुरु भएको छ । इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्झौतालाई अमेरिकी राष्ट्रपछि ट्रम्पले ऐतिहासिक शान्ति सम्झौता भनेका छन् । राष्ट्रपति ट्रम्पको घोषणाको प्रतिक्रियामा इजरायली प्रधानमन्त्री नेतन्याहुले हिब्रु भाषामा ट्वीट गरेर लेखेका छन्ः ‘ऐतिहासिक दिन’ 

त्यस्तै अमेरिकाका लागि युएईका राजदूत युसुफ अल ओताइबाले विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘यो कुटनीतिक क्षेत्रका लागि विजय हो ।’ उनले थप भनेका छन्– ‘ यो अरब र इजरायल सम्बन्धको महत्वपूर्ण अग्रगामी सम्झौता हो, जसले सो क्षेत्रमा तनाव कम गर्नेछ र सकारात्मक परिवर्तनका लागि नयाँ सिर्जना गर्दछ ।’ सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि अरब मुलुकहरुसँग गरिएको यो तेश्रो शान्ति सम्झौता हो । यसअघि इजरायलले सन् १९७९ मा इजिप्ट र सन् १९९४ मा जोर्डनसँग एक सम्झौतामा हस्ताक्षर गरेको थियो । त्यसपछि अहिले तेश्रोपटक अरबसँग शान्ति सम्झौता भएको हो ।

आगामी हप्ता यी दुई मुलुकबीचका प्रतिनिधिमण्डलको बैठक बस्दैछ । जुन बैठकमा लगानी, पर्यटन, प्रत्यक्ष उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य, संस्कृति, वातावरण र एक अर्को मुलुकमा दूतावास स्थापना गर्ने विषयमा दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । संयुक्त विज्ञप्तिअनुसार दुई देश मध्यपूर्वमा रणनीतिक एजेण्डा बनाउन अमेरिकालाई पनि सामेल गराउन तयार भएका छन् । विज्ञप्तिमार्फत नेताहरुले भनेका छन् कि खतरा र अवसर दुबैमा उनीहरुको समान दृष्टिकोण रहेको छ । साथै उनीहरुले कुटनीतिक संलग्नता, आर्थिक एकीकरण र सुरक्षामार्फत स्थायित्व प्रबद्र्धन गर्न पनि साझा प्रतिबद्धता व्यक्त गरेका छन् । श्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप