शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लन्डनमा हुने नेपाली मेला स्थगित

शुक्रबार, ३० साउन २०७७, ०८ : ०६
शुक्रबार, ३० साउन २०७७

लन्डन । नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा झल्काउने र धर्म, परम्परा जीवन्त राख्ने उद्देश्यले विगत ११ वर्षदेखि निरन्तर रुपमा ओजना हुँदै आएको नेपाली मेला यसपटक नहुने भएको छ । हजारौंको संख्यामा मानिसहरुको भीड लाग्ने उक्त मेलामा युरोप लगायत अन्य मुलुकबाट समेत नेपालीहरुको सहभागिता रहने गर्दछ । वर्षेनी आयोजना गरिने उक्त मेला नेपाली समूदायबीच निकै लोकप्रिय रहेको छ । कार्यक्रममा विभिन्न विदेशी पाहुनाहरुको पनि बाक्लो उपस्थिति रहने गर्दछ ।

तमुधिं यूकेद्वारा लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुदै आएको नेपाली मेला यसपटक कोरोना भाइरस ( कोभिड १९ ) को प्रकोपका कारण स्थगित गरिएको तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले एक विज्ञप्ति प्रकाशित गरि जानकारी दिएका छन् । सो मेला ३० अगष्ट २०२० मा लण्डनस्थित केम्प्टन पार्कमा गर्ने तय गरिएको थियो ।

लन्डनस्थित नेपाली दूतावासले पनि नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा झल्काउने र धर्म, परम्परा जीवन्त राख्ने उक्त मेलालाई विशेष चासो दिने गरेको छ । मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राख्ने गरिन्छ । सो अवसरमा नेपाली मौलिक कला संस्कृति झल्कने नृत्य प्रतिष्पर्धा, विभिन्न जातजातीको झाँकी र युवाहरुले आफ्नै ढंगले गीत संगीत प्रस्तुत गर्ने गर्छन् । मेलामा दुई दर्जनभन्दा बढी नेपाली संघसंस्थाहरुले सहभागिता जनाउने गर्दछन । कार्यक्रममा नेपालबाट समेत विशिष्ट व्यक्ति तथा कलाकारहरुको उपस्थिति हुने गर्दछ ।

यसैगरी तमुधिं यूके अध्यक्ष गुरुङले कोरोना भाइरसका कारण जीवन गुमाएका तमुधिं यूके लण्डन शाखाका उपसभापति चेत गुरुङ, सल्लाहकार नारायण कोन्मे गुरुङ, आजीवन सदस्य लक्षिन गुरुङ एवं विभिन्न संघसंस्थामा आवद्ध सदस्य तथा सम्पूर्ण नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आयोजक तमुधिं यूकेले आगामी वर्ष २०२१ मा भव्यताका साथ् कार्यक्रम गरिने वाचा गर्दै नेपाली मेलाप्रति चासो र मायाका लागि आभार प्रकट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप