शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले भन्यो, ‘ब्राजिलबाट ल्याएको कुखुराको मासुमा कोरोनाभाइरस भेटियो’

शुक्रबार, ३० साउन २०७७, १२ : २६
शुक्रबार, ३० साउन २०७७

चीनले ब्राजिलबाट आयात गरेको कुखुराको मासु (पखेटा)मा कोरोनाभाइरस भेटिएको दाबी गरेको  छ । गत हप्ता यहाँको यान्ताई शहरमा इक्वाडोरबाट पठाइएको समुद्री झिङ्गे माछा पनि कोरोना भाइरसद्वारा संक्रमित भेटिएको बताइएको थियो । चीनले जूनमा ब्राजिलसमेत केही अन्य देशबाट मासुको आयातमा रोक लगाएको थियो । यद्यपि, पछि यो हटाइएको थियो ।

शेनझेनको स्थानीय डिजीज कन्ट्रोल सेन्टर (सीडीसी) ले नियमित अनुसन्धानको क्रममा ब्राजिलबाट पठाएको कुखुराको मासुको स्याम्पल लिएको थियो । परीक्षण गर्दा कोरोनाको रिपोर्ट पोजेटिभ आयो । अधिकारीले संक्रमित कुखुराको मासुको सम्पर्कमा आएका अन्य केही उत्पादनको पनि परीक्षण गरेको तर त्यसको रिपोर्ट नेगेटिभ आएको बताएको छ । यद्यपि, ब्राजिलले यसबारे कुनै बयान जारी गरेको छैन ।

भाइरस २० डिग्री सेल्सियसभन्दा मुनिको तापक्रममा दुई वर्षसम्म जिवित रहन सक्छ तर वैज्ञानिक र अधिकारीले कोरोनाभाइरस फ्रोजन खानेकुराबाट फैलिएको अहिलेसम्म कुनै प्रमाण नभेटिएको बताएका छन् ।

‘मानिसहरु खाना, प्याक गरिएका खानेकुरा र आफ्नो ढोकासम्म आइपुगेका खानासँग डराउनु पर्दैन,’ विश्व स्वास्थ्य संगठनको आपतकालीन कार्यक्रमका प्रमुख माइक रायनले बताए ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासन र कृषि विभागले एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै खाना वा प्याक गरिएका खानाबाट मानिसमा कोभिड–१९ सरेको कुनै प्रमाण भेटिएको छैन ।

मानिसहरुलाई सावधानी अपनाउन अपिलः

यद्यपि, शेनझने सिडिसीले अन्य देशका खाद्य सामग्रीमा सावधानी अपनाउन सल्लाह दिएको छ । जूनमा चीनको राजधानी बेइजिङको शिनफेडी सीफूड मार्केटमा संक्रमण देखिएको बताइएको थियो । त्यसपछि नै सरकारले सबै खाद्य सामथ्रीको स्याम्पल लिएर त्यसको कोरोना परीक्षण गरिरहेको छ ।

महिनौं अघि निको भएका दुई बिरामी पुनः संक्रमित

चीनमा महिनौं अघि कोरोना संक्रमणलाई मात दिइसकेका दुई बिरामीको रिपोर्ट पुनः पोजेटिभ आएको छ । हुबेईमा ६८ वर्षकी एक महिलामा डिसेम्बरमा संक्रमण पुष्टि भएको थियो । आइतबार उनको रिपोर्ट पुनः पोजेटिभ आएको छ । अर्का पुरुष शंघाईका हुन् । यी व्यक्ति अप्रिलमा संक्रमित भएका थिए र उनी सोमबार पुनः संक्रमित भेटिए । यद्यपि, उनीहरुमा संक्रमणको कुनै लक्षण भने देखिएको थिएन ।

स्थानीय प्रशासनले यी दुई बिरामीको सम्पर्कमा आएका कुनै पनि व्यक्ति संक्रमित भेटिएनन् । तर उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ । पछिल्ला केही अध्ययनमा दाबी गरिए अनुसार कोरोनाबाट ठिक भएका व्यक्तिको शरीरमा बनेको एन्टीबडी केही महिनामा नै तीब्र रुपमा कम भइरहेको छ । यस्ता मानिसहरु पुनः संक्रमित हुने आशंका बढ्ने गर्छ । यद्यपि, एकाध व्यक्तिमा मात्रै पुनः संक्रमण देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप