भदौ १ गतेदेखि उद्धार उडान हुने
कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ तारेखदेखि उद्धार उडान गरिने भएको छ ।नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन् ।
नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् । दुवै एयरलाइन्सले आज नेपालीको उद्धारका लागि हुने उडानको तालिका सार्वजनिक गरेका हुन् ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीव्र रुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ । विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछन् ।
सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफैँ टिकट काटेर आउने छन् । स्वदेश फर्कने नेपाली सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरण अनुसार यही साउन २९ गतेसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५० हजार ६६२ रहेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज मात्रै नेपाल एयरलाइन्सले जापानको नारिताबाट २५४ यात्रु तथा पाँच बच्चा नेपाल ल्याएको छ । सलाम एयरले मस्कटबाट १७५ यात्रु नेपाल ल्याएको छ ।
थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दोहा र हिमालय एयरलाइन्सको जहाज चीनको कुनमिङ उडेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबारदेखि मौसममा सुधार आउने
-
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै, सभामुख घिमिरेले दिए शुभकामना
-
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त