स्थानीय चुनावपछि मधेसमा आन्दोलन हुन्छ कि हुँदैन ?

person access_timeभदौ २८, २०७४ chat_bubble_outline0

नेत्र पन्थी र एसके यादव

जनकपुर– स्थानीय तहको चुनावमा ‘मधेसको मुड’ बुझ्ने तराई मधेसमै रहेको रातोपाटीको टिम भदौ २६ गते बिहान सवा आठ बजे वीरगञ्जस्थित वरिष्ठ पत्रकार एवं लेखक चन्द्र किशोरको निवासमा पुगेको थियो । वीरगञ्ज बजारभन्दा अलिभित्र टोलमा एउटा पुरानो घरमा पुग्दा त्यहाँ दुईवटा नेम प्लेट झुण्डाइएको थियो । एउटामा लेखिएको थियो– ‘चन्द्रकिशोर पत्रकार’ र अर्कोमा लेखिएको थियो ‘सत्याग्रह’ ।
 
राजनीतिमा ‘सत्याग्रह’ भन्ने शब्दले धेरै अर्थ लाग्छ, हामी त्यतातिर गएनौँ । तर उनको घरको कार्यकक्षभित्र पस्दा साँच्चै लाग्दैथ्यो एउटा कुनै सामाजिक एवं राजनीतिक अभियन्ता सत्याग्रहमा लागेका छन् । सानो कोठा, किताबै किताबको चाङ्ग र त्यो पनि छरपस्ट ।
 
हामी मधेसको चुनावी मुड स्वतन्त्र रुपमा कसरी हेरिएको छ, यो जान्न उनको घर पुगेका थियौँ । वीरगञ्ज महानगरपालिकामा को हार्छन्, को जित्छन्, को अगाडि को पछाडि ? यिनै प्रश्नको विश्लेषण सुन्न हामी उनलाई भेट्न गएका थिए । उनले अहिलेको चुनावलाई प्राविधिक विषयका मात्र पस्के । हाम्रो सुरुकै प्रश्नमा उनको जवाफ थियो– ‘यो चुनावले मधेसमा स्थिरता दिन्छ दिँदैन, त्यो मुख्य प्रश्न हो ।’

 
‘अहिलेको परिपेक्ष्यमा को जित्छन्, को हार्छन् त्यो गौण कुरा हो, विगत दस वर्षदेखि द्वन्द्वमा फँसेका मधेसमा शान्ति र स्थिरता कायम हुन्छ कि हुँदैन त्यो महत्वपूर्ण हो’ । चुनावका लागि भोटिङको दिन आउँदै गर्दा उनको यो जवाफले एउटा प्रश्न अवश्य उठाएको छ ।  ‘मधेसमा भइरहेको यो स्थानीय चुनाव प्रश्नको घेराभित्र छ ।’ चुनावपछि पनि तनाव कायमै रह्यो भने मधेसको भविष्य के हुन्छ ? यो अर्को जटिल प्रश्न हो ।

मधेस ग्राउण्ड जिरो

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा ?

 ‘इपिसेन्टर’ मधेश : चियापसलदेखि रक्सी भट्टीसम्म चुनावकै बहस

जनकपुरमा यस्तो छ साहुबीचको ‘महाटक्कर’

भारतीय गाडीमा झण्डा फहराउँदै यसरी भइरहेछ प्रचारप्रसार (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : बाढीले बगायो दुई नम्बर प्रदेशको ठूलो एजेन्डा

मलङ्गवाकी ‘हट’ उम्मेदवार राधा मौसी : ठूला दललाई ठूलै थ्रेट

मधेश आन्दोलनका शहीदका आमा–बुवा भन्छन् : ‘भोटको कुरा गर्दै नगर्नुस्’

‘इपिसेन्टर’ मधेस : तराई मधेसमा मुस्लिम समुदायको भोट कसलाई ?

राजपाको हेडक्वाटर सर्लाहीमै राजपा कमजोर !

 
यो प्रश्न किन यहाँ उठेको भने केही दिन पहिले मात्र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी सभालाई सम्बोधन गर्नका लागि वीरगञ्ज पुगेको बेला स्थानीय तहको चुनाव सकिएसँगै आन्दोलनमा जाने घोषणा गरेका थिए । यादवको यो भनाइले तराई–मधेसवासीमा नयाँ भय देखिएको छ । उद्योगी–व्यापारी पनि चिन्तित छन् ।
 
नेताहरुका अभिव्यक्तिले चुनावपछि अमन चयन, शान्ति र विकास आउने अपेक्षासहित निर्वाचनमा भाग लिएका मधेसी जनता फेरि एकपटक चिन्तित भएको छन् । यो चुनाव सकिएपछि मधेस अगाडि बढ्छ भन्ने सबैको अपेक्षा छ । तर, मधेसवादी दलहरु आन्दोलनको चेतावनी दिन थालेपछि चन्द्रकिशोर जस्तो व्यक्तित्व मात्र होइन, दैनिक मजदुरी गरेर आफ्नो गुजारा गरिरहेका आमजनतामा पनि चिन्ता थपिएको छ ।
 
जब हामीले जनकपुरमा राजपाको चुनावी परिचालन समितिको कार्यलयमा गएर राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई भेट्यौँ, उनले पनि भविष्यमा आन्दोलनको सङ्केत गरे । उनले चुनावलाई आन्दोलनका रुपमा लिइएको बताए । ‘हामीले यो चुनावलाई भोटका रुपमा मात्र हेरेका छैनौँ । यो आन्दोलनको नयाँ रुप हो । चुनावपछि मधेसका अधिकारका लागि आन्दोलन हुन सक्छ ।’
 
मधेसको एउटा समूह काठमाडौँमा र अर्को समूह जनकपुरमा चुनावको विरुद्धमा आन्दोलन जारी राखेको छ । तराई–मधेस राष्ट्रिय परिषद्ले सविधान संशोधन नभएसम्म चुनावमा जानु हुँदैन भनी अभियान सुरु गरेको थियो ।  त्यसका लागि विभिन्न खालमा आन्दोलनका कार्यक्रम गर्दै आइरहेको थियो । मधेसवादी दललाई पनि चुनावमा नजान दबाब दिइरहेको थियो ।
 
यस्तै दबाबकै अवस्थामा राजपा नेपाल चुनावमा भाग लिएको छ । तर, परिषद्ले आफ्नो अभियान छाडेको छैन ।

 
जनकपुरमा मधेस अधिकार सङ्घर्ष समितिले चुनावको विरोधमा अनसनलगायत अन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । समितिका अगुवा सरोज मिश्रले असोज २ गतेलाई धोका दिवस र ३ गतेको दिनलाई कालो दिवसका रुपमा मनाउने जानकारी गराए । अर्थात मधेसमा चुनाव विरोधी जनमत निर्माणको पनि काम भइरहेको छ ।
 
मधेसवादी दल चुनावमा सहभागी भए पनि मधेसमा सक्रिय केही सङ्गठनहरु आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् । यसबाट प्रष्ट हुन्छ कि मधेसको द्वन्द्व समाप्त भएको छैन, सीके लालको शब्दमा अझै चिराग (बत्ती) बलिरहेको छ ।
 
पत्रकार चन्द्र किशोर पनि भन्छन्– ‘चुनाव सकिए पनि मधेसका द्वन्द्व समाधान हुन्छ, जस्तो मलाई लाग्दैन, किनभने कुनै कुराको समाधान नगरी राजनीतिलाई अगाडि बढाइएको छ । त्यसले समाधान निस्केको छैन ।’ अहिलेको राजनीतिक परस्थितिप्रति टिप्पणी गर्दैै उनले भने– ‘जस्तो खायो पानी, त्यस्तो भयो बानी, जस्तो खायो अन्न त्यस्तै हुन्छ मन ।’
 
मधेसप्रति राज्यको नियत ठीक नरहेको उनको बुझाइ छ । ‘संविधान संशोधनको विवाद यथावत छ, राज्य पुनः संरचनाको विवाद टुङ्गो लागेको छैन, स्थानीय तहको विवाद पनि यथावत छ, त्यसैले देशमा द्वन्द्व समाप्त भयो भनी कल्पना नगरे हुन्छ’– उनले टिप्पणी गरे ।


 
फेरि यही पात्र, यही प्रवृत्ति र यही सङ्गठन (मधेसवादी दल) ले आन्दोलन गर्छन् भन्ने कुनै ग्यारेन्टी नभएको भन्दै अर्को नयाँ नयाँ पात्र र प्रवृत्तिका सङ्गठन पनि आउन सक्ने सङ्केत चन्द्र किशोरले गरे ।
 
उनले अहिले सीके राउतले ‘कोठली बाहर’ मतदानको अभियानको पनि सङ्केत गरे । उनले सीके राउतको नाम त लिएनन् तर कोठली बाहर अभियान पनि आन्दोलनको एउटा रुपमा भएको धारणा राखे ।
 
राजनीतिक विश्लेषक मात्र होइन राजनीतिक दलका नेताहरु पनि चुनावपछि मधेसको राजनीतिक भविष्यबारे चिन्तित भएको देखिन्छ । यहाँसम्म कि मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरु पनि चुनावपछि मधेसमा स्थिरता हुने कुराको ग्यारेन्टी लिएका छैनन् । उनीहरु भन्छन्– ‘हाम्रो लेभलबाट मधेसको समस्या समाधान हुँदैन, हामीले चाहेर मधेसको आन्दोलनलाई रोक्न सक्दैनौँ । यो राष्ट्रिय समस्या हो, राष्ट्रियस्तरबाट समाधान हुनुपर्छ ।’
 
राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भदौ २७ गते जनकपुरमा रातोपाटीसँग कुरा गर्दै भने– ‘हाम्रो आन्दोलन रोकिएछैन, अहिले पनि हामी आन्दोलनमै छौ । चुनावलाई हामीले आन्दोलनकै रुपमा स्वरुपको रुपमा प्रयोग गरेका छौँ, चुनावपछि फेरि आन्दोलन हुन्छ ।’
 
जबसम्म मधेसका माग पूरा हुँदैनन्, तबसम्म आफूहरुको आन्दोलन जारी रहने उनले चेतावनी दिए । उनले तीन ठूला दलले मधेसीसँग जालझेल गरि संविधान संशोधन नगरेको आरोप लगाए । आन्दोलनका लागि चुनाव र सडक दुवैलाई प्रयोग गर्ने चेतावनी दिँदै अध्यक्ष महतोले भने– ‘हामीले चुनावमा भाग लियौँ भन्दैमा हाम्रो आन्दोलन समाप्त भयो भन्ने नसोचे हुन्छ ।’
 
मधेस आन्दोलनमा मुख्य रुपमा नेतृत्व दिँदै आएका राजपा नेपाल र फोरम नेपालले नै चुनावपछि आन्दोलन गर्ने घोषणा अहिले नै गरेपछि मधेसको भविष्य अझै अन्योलनमा रहेको देखिन्छ । चुनावपछि देशका अन्य भाग विकास र समृद्धि तर्फबाट अगाडि बढ्छन् तर मधेसमा अझै आन्दोलनको तयारी नै भइरहेको छ भन्ने टिप्पणी भइरहेका छन् ।
 
चुनावपछि मधेसको अवस्था कस्तो हुन्छ, त्यसको परिणामले मात्र निर्धारण गर्नेछ । चन्द्रकिशोर भन्छन्– ‘पात्र, प्रकृया र परिणाम यी तीन कुरा निर्वाचनका मुख्य तत्व हुन् । यी तीन तत्वले नै चुनावको परिणामलाई मूल्याङ्कन गर्दछ ।’ उनका अनुसार जित्नेले मेरो सबै मेरो हुन्छ र हार्नेले हारेपछि सबैथोके गुम्छ भन्ने सोचका साथ अहिलेको चुनाव भइरहेको बताए ।


 
माओवादी केन्द्रबाट वीरगञ्ज महानगरपालिकामा मेयरका उम्मेदवार बनेका ३१ वर्षीया रहबर अन्सारीले देशमा यस्तो परिवर्तन आइसक्दा पनि जनताले सजिलो महसुस गर्न नसक्नु दुर्भाग्य रहेको टिप्पणी गरे । देशमा आएको परिवर्तनलाई संस्थागत गर्न नयाँ ढङ्गबाट सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले भने– यत्रो परिवर्तन र चुनावपछि पनि आन्दोलन हुनु राम्रो होइन, तर जनताले उठाएको माग सम्बोधन नगरेपछि आन्दोलनको सम्भावना रही रहन्छ ।’
नेपालको राजनीतिक ठेकेदारी प्रथामा चलेको कारणले पटक पटक आन्दोलन हुनुपरेको उनको बुझाइ छ । उनले भने– ‘समाज पोल्टिकल भिक्टिम भएको देखिन्छ, नेतृत्व वर्गले समाजमा चेतना दिन चाहेको छैन ।’
 
‘चुनाव भएपछि पनि मधेसको समस्या समाधान हुँदैन भन्ने चिन्ता जनतामा रहेको देखिन्छ, वीरगञ्ज महानगरपालिकाका काङ्ग्रेसबाट मेयरका उम्मेदवार अजय द्विवेदीले भने– ‘मधेसवादी दलको गतिविधिले लाग्छ कि समस्या त्यतिकै समाधान हुँदैन, आन्दोलनको चेतावनी दिन उनीहरुले अझै छाडेका छैनन् । आन्दोलनलाई नै उनीहरुले चुनावी स्टेन्ट बनाएका छन् ।’

स्थानीय तहको चुनाव लामो समयपछि भइरहेको र यसको धेरै महत्व रहेको भन्दै उनले यसलाई समास्या समाधानका रुपमा लिनुपर्ने उनले बताए ।
 
बीबीसीका पत्रकार वृजकुमार यादवले पनि मधेसको द्वन्द्व समाप्त नभएको बताए । मधेसवादी दलको आन्दोलन गर्ने एजेन्डा समाप्त भए पनि द्वन्द्व समाप्त नभएको टिप्पणी गर्दै भने– ‘अब मधेसवादी दल किन आन्दोलन गर्छन्, सविधान संशोधनको एपिसोड समाप्त भइसकेको छ । संसदलले नै त्यसलाई अस्वीकार गरिसकेको छ भने मधेसवादी दलले त्यसलाई तत्कालै उठाउने आधार छैन ।’


 
मङ्सिरमा हुने प्रदेश र सङ्घको चुनावसम्म कुनै आन्दोलन नहुने बताउँदै पत्रकार यादवले त्यही आन्दोलनलाई अर्को समूह वा अर्को व्यक्तिले उठाउने सम्भावना रहेको टिप्पणी गरे । ‘मधेसको मुख्य माग बाँकी नै छ, राज्य पुनः संरचना, सविधान संशोधनको विषय अझै बाँकी नै छ, यसको कुनै टुङ्गो नलगाएसम्म मधेसमा द्वन्द्व कायमै रहन्छ र यो कुनै बेला पनि भड्किन सक्छ’ उनले भने ।
 
सर्लाहीका राजपा नेपालका अध्यक्ष प्रमोद यादवले पनि आन्दोलनकै चेतावनी दिए । उनले पनि तीन ठूला दलले मधेसी जनतालाई धोका दिएको कारण आन्दोलनबाहेक अरु कुनै विकल्प नरहेको सुनाए । संविधान संशोधन हुन नसकेको प्रति आक्रोशित रहेका अध्यक्ष यादवले मधेसी जनता आन्दोलनबाट छिनोफानो गर्न चाहेको चेतावनी दिए ।
 
२०६३/२०६४ को मधेस आन्दोलनपछि अशान्त भएको मधेस अझै शान्त भएको छैन । यसबीचमा थुप्रै राजनीतिक परिवर्तनहरु भए तर मधेसको मुद्दा जहाँको त्यहीँ रहेको दाबी मधेसवादी दल र मधेसी अभियन्ताहरुको रहेको छ । हालसम्म सम्झौता गर्ने र त्यसलाई कार्यान्वयन नगर्ने अवस्था दोहोरिएको छ । २०६४ फागुन १६ गते मधेसवादी दलसँग भएको आठ बुँदे सम्झौतापछि मधेसी जनता उत्साहित भएको थियो तर ती सम्झौताहरु विस्तारै कार्यान्वन नहुन थालेपछि जनता फेरि भड्किन थालेको थियो ।

पहिलो संविधानसभा चुनावमा मधेसी जनताले जति खुशीका साथ मतदान गरेका थिए । त्यति खुशी दोस्रो सविधानसभा चुनावमा थिएनन् । राज्यप्रति एउटा आशङ्का लिएर मतदान गरेका थिए । त्यही भएर २०७० मा दोस्रो संविधानसभा सकिनेवित्तिकै दोस्रो मधेस आन्दोलन सुरु भएको थियो ।


 
आन्दोलन चलिरहेकै अवस्थामा संविधान निर्माण भयो । त्यसमा मधेसीको मागलाई नसमेटिएको भन्दै मधेसवादी दलले आन्दोलनलाई सशक्त रुपमा उठाए । त्यो आन्दोलनमा ६० जना भन्दा बढी मधेसीले ज्यान गुमाए भने प्रहरीको पनि ज्यान गएको थियो । यस्तो सशक्त र लामो आन्दोलन पश्चात राज्यले सविधान संशोधनका लागि तयार भयो । तर विभिन्न खिचातानीका कारण संसदमा पेस भएको विधेयक १० महिनापछि फेल भयो ।
 
यद्यपि, मधेसमा आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरी क्षतिपूर्ति दिएको छ भने घाइतेलाई उपचार खर्च, मुद्दा फिर्ता, बन्दीलाई रिहाय जस्ता माग राज्यले पूरा गरेको छ । तर मधेसी दलको मुख्य माग त्यो थिएन । ‘यो त आन्दोलनसँग सम्बन्धित विषय मात्र थियो’– राजपा नेपालका उपाध्यक्ष वृषेश चन्द्रलाल भने– ‘मुख्य माग त संविधानस संशोधन गरी मधेसलाई अधिकार सम्पन्न बनाउनु नै थियो तर राज्यले हामीलाई धोकामा राखेर चुनाव गरायो ।’
 
उद्योग वाणिज्य सङ्घ वीरगञ्जका पूर्वअध्यक्ष प्रदीप केडियाले उपेन्द्र यादवलगायतका नेताहरुले चुनावपछि आन्दोलन हुने बताएपछि चिन्ता बढेको बताए । ‘फेरि आन्दोलन गरेर मधेसलाई पछाडि लैजाने काम हुन्छ कि नेताहरुले सोच्नुपर्ने भएको छ ।’ उनले भने ।
 
६ वटा प्रदेशको भन्दा बढी रणनीतिक र महत्वपूर्ण मानिएको छ, दुई नम्बर प्रदेशको चुनाव । यो चुनावमा मधेसको मनोविज्ञान प्रतिविम्ब हुन्छ कि हुँदैन भन्ने चासो जहाँको त्यहीँ छ । मुद्दाका आधारमा मतदान हुन्छ कि परम्परागत भोट नै आउँछन्, यकिन गर्न सकिने अवस्था छैन । यो चुनावले नेपालमा भारतीय हेराइको पनि लेखाजोखा गर्ने विश्लेषण पत्रकार चन्द्र किशोरको छ । अङ्कगणितमा पनि हेरफेर हुने भएकाले चुनावको महत्व बढी देखिएको हो । मधेसको चुनाव ‘कौन बनेगा करोडपति भनेजस्तै दलहरुमा मधेस कब्जा गर्ने मनोविज्ञान देखिन्छ ।’ चन्द्र किशोरले भने ।
 
यहाँको चुनावमा बहुसङ्ख्यक ठाउँमा गैरराजनीतिक व्यक्तिलाई उम्मेदवार बनाइएको र उनीहरुले जितेर आउँदा मधेसको आन्दोलन र अधिकारको लडाइँमा समस्या आउने ठानिएको छ । किनभने यस्ता व्यक्तिहरुले ‘कम्प्रमाइज पोलिटिक्स’ गर्ने सम्भावना हुन्छ । जसले मधेसलाई अर्को आन्दोलनतिर लैजान सहयोग गर्न सक्छ । सीके राउतजस्ता समूह पनि मधेसमा असन्तुष्टिको खोजीमा छन् । चुनाव महँगो छ, यो पनि मधेसको भविष्यका लागि सुखद छैन ।
 
चन्द्र किशोरको बुझाइमा तीनथरीलाई अहिले धेरै चुनाव लागेको छ । एक–टिकट किन्ने र बेच्नेलाई चुनावको ठूलै रन्को छ । दुई– चुनावी परजीवी (जो पैसाका बलमा परिचालन भएका छन्¬) उनीहरुलाई पनि निकै चुनाव लागेको छ । र, तेस्रो–चुनाव आफैमा व्यपार भएकाले योसँगै जोडिएकालाई पनि चुनाव लागेको छ ।
 
‘तपाईं मान्नुस बाढी आएकै समयमा भूकम्प आएको भए मधेसमा चुनाव हुन्थ्यो’– उनले प्रश्न गरे– ‘राहत वितरण ठीक ढङ्गसँग भएको छैन । राज्य चुनावमा मात्र छ । जनताका मुद्दा र समस्यामा छैन ।’ यस्तो प्रवृत्तिले मधेसमा समस्या पैदा गर्न सक्ने उनको बुझाइ छ । स्थानीय प्रशासन राहत वितरणमा लाग्नुपर्ने भए पनि सम्पूर्ण शक्ति चुनावमै लागको बताए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ