मनमैजु हत्याकाण्ड : ‘युवती विवाद’ मा चक्कु प्रहार
काठमाडौँ । काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा दोलखाका दोर्जे तामाङसहितका युवा–युवती चिया पिउँदै थिए ।
केहीबेरमा नुवाकोट घर भएका लक्ष्मण तामाङको समूह त्यहाँ पुग्यो । एकैछिनमा दुई पक्षबीच विवाद भयो । दोर्जे समूहले छुराले हानेर २४ वर्षीय लक्ष्मणको हत्या गरे ।
शुक्रवार साँझ भएको सो हत्या ‘युवती विवाद’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मृतक र दोर्जे समूहको बिचमा ‘पुरानो प्रेमिका’को बारेमा विवाद भएको हत्याबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए । उनीहरुबिच अघिल्लो दिन पनि सामान्य विवाद भएको थियो ।
हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छैनन् । सोधपुछका लागि तीनजना युवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दुईपक्ष झडप हुँदा दोर्जेले खाजाघरबाट लखेट्दै मितेरी पुलमा लगेर लक्ष्मणलाई छुरा हानेको बताइएको छ । हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।