बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘हट सिट’मा ‘हट भिडन्त’, वीरगञ्ज महानगर कसको कब्जामा ?

बुधबार, २८ भदौ २०७४, १२ : २३
बुधबार, २८ भदौ २०७४

नेत्र पन्थी, एसके यादव र अमित अग्रवाल

वीरगञ्ज । देशको सम्पूर्ण शक्ति अहिले दुई नम्बर प्रदेशमा परिचालित छ । यति मात्रै होइन, यो प्रदेशका आठ जिल्लामा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहका लागि ठूला राजनीतिक दलले पनि सबै शक्ति यहाँ केन्द्रित गरेका छन् । यहाँको चुनाव उनीहरुका लागि प्रतिष्ठाको विषय बनेको छ । प्रतिष्ठाको लडाइँमा कोही पछाडि हुन चाहेका छैनन् ।
 
तेस्रो मधेस आन्दोलनताका सबभन्दा चर्चामा रहेको वीरगञ्जमा नाकाबन्दीको घाउको खाटा अझै बसिसकेको छैन । वीरगञ्जका व्यापारी, उद्योगी तथा अन्य सबै मतदाताले यो स्थानीय चुनावपछि फेरि नाकाबन्दी तथा आन्दोलन झेल्न नपरोस भन्ने चाहेका छन् । तर, अचम्म यो छ कि आन्दोलन हुँदैन, नाकाबन्दी हुँदैन, निर्वाध रुपमा व्यवसायी गर्न पाउन भनी कसैको चुनावी एजेन्डामा छैन ।
 
वीरगञ्ज दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका । यसकारण दुई नम्बर प्रदेशभित्र पनि वीरगञ्जको चुनाव झन् पेचिलो छ । वीरगञ्ज ‘हटसिट’ बनेको छ । ‘हटसिट’मा ‘हट भिडन्त’ हुँदैछ । मधेसको आत्मसम्मानको कुरा चुनावको मनोविज्ञानसँग जोडिएको छ । मधेसी, मुस्लिम, मारवाडी र पहाडी समुदाय रहेको यो ठाउँमा कुन समुदायबाट कसले कति मत तान्न सक्छ ? यो नै चुनावी अङ्कगणितमा निर्णायक हुन सक्छ ।


 
दलहरुको उम्मेदवार चयनदेखि अहिले प्रचार प्रसारसम्मको खेल हेर्ने हो भने कोही पनि वीरगञ्जलाई गुमाउने मुडमा छैनन् । सबै उम्मेदवारका आआफ्नै चुनावी नारा छन्, आ–आफ्नै एजेन्डा पनि छन् । यहाँ जित निकालेर काङ्ग्रेस, एमाले र माओवादीजस्ता ठूला दललाई तराई मधेसमा बलियो रहेको सन्देश दिन चाहन्छन् भने मधेसवादी दलहरु आफ्नो भूमिमा आफ्नै कब्जाको खोजिमा छन् । तर आन्दोलनमा वीरञ्गजले जति गुमाएको छ्, यो चाहिँ पक्का हो कि स्थानीय तहको चुनावपछि पनि सजिलै पाउने छैन ।
 
किनभने यहाँको चुनावपछि मधेसमा स्थायित्व हुन्छ कि हुँदैन शङ्काको विषय बनेको छ । यसको ग्यारेन्टी कसैले लिन चाहेका छैन । यहाँसम्म कि महानगरपालिकाको भविष्य बनाउन नेतृत्वमा आउन चाहने मेयरका उम्मेदवारहरुको एजेन्डामा पनि यो कुरा छैन । हालै उपमहानगरपालिकाबाट महानगरपालिका बनेका वीरगञ्जवासी जति खुशी छन्, त्यति नै चिन्तित पनि छन् । कारण छन्, महानगरपालिकामा मेयरका लागि देखिएको भिडन्त । अहिले जति उम्मेदवारले उम्मेदवारी दिएका छन्, कसैले पनि कसैलाई ‘वाह क्या भावी मेयर’ भनेको छैनन् ।  

मधेस ग्राउण्ड जिरो

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा ?

 ‘इपिसेन्टर’ मधेश : चियापसलदेखि रक्सी भट्टीसम्म चुनावकै बहस

जनकपुरमा यस्तो छ साहुबीचको ‘महाटक्कर’

भारतीय गाडीमा झण्डा फहराउँदै यसरी भइरहेछ प्रचारप्रसार (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : बाढीले बगायो दुई नम्बर प्रदेशको ठूलो एजेन्डा

मलङ्गवाकी ‘हट’ उम्मेदवार राधा मौसी : ठूला दललाई ठूलै थ्रेट

मधेश आन्दोलनका शहीदका आमा–बुवा भन्छन् : ‘भोटको कुरा गर्दै नगर्नुस्’

‘इपिसेन्टर’ मधेस : तराई मधेसमा मुस्लिम समुदायको भोट कसलाई ?

राजपाको हेडक्वाटर सर्लाहीमै राजपा कमजोर !

स्थानीय चुनावपछि मधेसमा आन्दोलन हुन्छ कि हुँदैन ?

जब हामीले वीरगञ्जमा ठूला दलका मेयरका उम्मेदवार भेट्यौँ, सबैले चुनाव जित्न भरपुर कोशिस गरेको पायौँ । चुनाव कसरी जित्ने मात्र उनीहरुलाई चिन्ता छ । चुनावका लागि उनीहरुले सबै अस्त्र प्रयोग गरेका छन् । भोजभतेरदेखि लिएर पर्चा, पम्पलेट, गीत, नाच, गानमा पनि उनीहरुको बीचमा प्रतिस्पर्धा देखिएको छ ।
३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा एक लाख पाँच आठ हजार पाँच सय १ मतदाता छन् । ती मध्ये ६१ हजार ६६६ र महिला ४६ हजार ८३२ छन् । तेस्रो लिङ्गी मतदाता ३ छन् । यिनै मतदाताले ‘हट सिट’मा मेयर छान्दैछन् ।
 
महानगरपालिका मेयर पदका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् । काङ्ग्रेसबाट अजय द्विवेदी, एमालेबाट बसरुदिन अन्सारी, माओवादी केन्द्रबाट रहवर अन्सारी, राजपा नेपालका राजेशमान सिंह, फोरम नेपालका विजय सरावगी, नेपाल लोकतान्त्रिक फोरम नेपालका विमल श्रीवास्तव, राप्रपाका अर्जुनबहादुर सिंह नयाँ शक्ति नेपालबाट मुनाकुमार साह कानु, नेपाली जनता दलबाट मनोजकुमार रौनियार, मालेबाट लक्ष्मीराज न्यौपाने रहेका छन् भने २५ जनाले स्वतन्त्र उम्मेदवार रहेका छन् ।  
 
काङ्ग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले वीरगञ्जमा काङ्ग्रेसको पक्षमा नतिजा आउने दाबी गरे । उनले राष्ट्रिय राजनीतिमा निकास, विकास र तराई मधेसमा काङ्ग्रेसको राम्रो सङ्गठन आफ्नो जितको आधार भएको बताए ।
 
उनले मतदाताको आशा र आशङ्का रहेको भन्दै त्यसैलाई चिर्न आफू उम्मेदवार भएको बताए । ‘सडक, शिक्षा, स्वास्थ र वीरगञ्जलाई राम्रो सहर बनाउने सोचका साथ आएको छु ।’ उनले भने, ‘साविकै उपमहानगरपालिकामा पनि समस्या थिए । महानगरपालिका भएपछि गाउँ थपिएको छ । महानगरपालिकाको आधारभूत कामका लागि पनि धेरै काम गर्नुपर्नेछ ।’
 
आफ्नै योजना आयोग बनाउने, खेलकुद परिषद बनाउनेलगायतका योजना पनि उनले चुनावी मुद्दा बनाएका छन् । आफूले चुनाव जिते महानगरपालिको काम गर्ने प्रणालीमा परिवर्तन गर्ने बताएका छन् । 
 
नाकाबन्दीलगायत विभिन्न आन्दोलनको सेन्टर बनेको वीरगञ्ज महानगरपालिकालाई कसरी आन्दोलनुक्त बनाउन सकिन्छ, त्यो चुनौतीको विषय बनेको उनले बताए । उनले भने– ‘समस्या समाधान हुँदैन कि भन्ने चिन्ता छ, हामी आएपछि त्यो समस्या पनि हट्छ कि भने पनि आशा यहाँका मतदातामा रहेको छ । आन्दोलनलाई मेयरले नियन्त्रणमा लिन सक्दैन ।’

राष्ट्रिय दलहरुले गर्ने आन्दोलनलाई एउटा महानगरपालिकाका मेयरले त्यसलाई रोक्न नसकिने बताउँदै उनले यसको समाधान माथिलो स्तरबाट समाधान गर्नुपर्ने बताए ।
 
उनले प्रतिस्पर्धामा आफू सबै दलभन्दा अगाडि रहेको दाबी गर्दै कुनै कुनै ठाउँमा माओवादी केन्द्र, एमाले र राजपासँग प्रतिस्पर्धा रहेको सुनाए । उनले वडा नं. ३ मा राजपासँग प्रतिस्पर्धा, दुई नम्बरमा फोरम नेपालसँग, १९ नम्बरमा राजपासँग, १६ नम्बरमा फोरम नेपालसँग र १६ नम्बरमा माओवादी केन्द्रसँग प्रतिस्पर्धा रहेको बताए ।
 
उनका अनुसार अरु ठाउँमा काङ्ग्रेस धेरैले अगाडि रहेको छ । टिकट वितरणले पार्टीमा कुनै कुनै ठाउँमा वडास्तरमा विवाद रहेको बताउँदै उनले मेयर पदमा कसैको विमति नरहेको सुनाए ।
 
नगरपालिका उपमेयरसमेत रहेका उनी पहिलो संविधानसभामा चुनाव पनि जितेका थिए भने दोस्रो संविधानसभाको चुनाव हारेका थिए । काङ्ग्रेसका जिल्ला सभापति रहेका उनले चुनाव प्रचार त्यति भड्किलो नगरेको दाबी गरे ।


 
एमालेका उम्मेदवार बसुरुद्दिन अन्सारीलाई भेट्न हामी उनको घरमा बिहान ६ बजे नै गएका थियौँ । हँसिलो अनुहार र प्रफुल्लित मुद्रामा प्रस्तुत भएका उनको कुरा सुन्दा महानगरपालिकाको मेयरको रुपमा घोषणा भइसकेको जस्तो लाग्थ्ये । दबङ्ग स्टाइलमा कुरा गरिरहेका थिए, हामीसँग । उनी आफू हार्छु वा कसैसँग कुनै प्रतिस्पर्धा हुन्छ जस्तो ठानेका थिएनन् । अरु उम्मेदवार जस्तो उनलाई मतदाता भेट्न जानुपर्ने वा प्रचार प्रसारमा जानुपर्ने हतार पनि थिएन ।
 
रमाइलो ढङ्गबाट प्रस्तुत भएका उनी चुनाव जित्नेमा ढुक्क थिए । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका उनी एकछिन त एमाले र माओवादी केन्द्रबीच भिन्नता छुट्याउनमा समय खर्चे । उनले भने– ‘बल्ल कुनै पार्टीमा आएजस्तो भएको छ । माओवादी केन्द्रबाट चुनाव लड्दा आफू मात्र चुनाव लडेको जस्तो महशुस भएको थियो । तर एमालेमा त पार्टीले चुनाव लडेको जस्तो महसुस भएको छ ।’

वडागत हिसाले मतदातको सङ्ख्या हेर्ने हो भने केही वडामा ६ हजारभन्दा बढी मतदाता छन् । जो यहाँको चुनावी अङ्कगणितमा निर्णायक हुन सक्छन् ।


 
नेसनल मेडिकल कलेजका सञ्चालक उनी चुनावभन्दा केही समय अगाडि एमालेमा प्रवेश गरेपछि टिकट पाएका थिए । शिक्षण अस्पताल कलेज सम्बन्धनका विवादले चर्चा पाइरहदा उनी वीरगञ्जमा मेयरका उम्मेदवार बन्दै थिए । त्यसबाहेक एमालेभित्र उनलाई टिकट दिएकोमा पुराना नेता कार्यकर्ता असन्तुष्ट पनि छन् । त्यसो त उम्मेदवारलाई लिएर पार्टीभित्र विवाद सबै पार्टीमा छन् ।
 
उनले आफूले वीरगञ्जको चरण–चरणमा विकास गर्ने सूत्र बनाएको दाबी गरे । उनले मेयरमा जितेपछि तत्कालै तीन चरणमा काम गर्ने पनि योजना सुनाए । उनले पहिलो चरणमा सडक, बाटो घाटो बनाउने, दोस्रोमा नालाको व्यवस्थापन गर्ने र तेस्रोमा फोहोर व्यवस्थान गरेको योजना रहेको सुनाए ।
 
‘मान्छेसँग सिटामोल खाने अवस्था हुँदैन, स्मार्ट सिटी बनाएर के हुन्छ’ उनले आफूले चाहेको विकास बारे भने, ‘म ठूलो ठूलो सपना देखाउँदिनँ वीरगञ्जवासीको आधारभूत आवश्यकता के हो त्यो पूरा गरेपछि मात्र अरुतिर ध्यान दिन्छु । अहिले बाहिरबाट मानिस वीरगञ्ज आउँदा लाजमर्दो छ ।’
 
मेडिकल कलेजका सञ्चालक रहेका उनले वीरगञ्ज मेडिकल शिक्षाको हब बनाउने सपना रहेको पनि सुनाए । यिनीमाथि वीरगञ्ज नगरपालिकलाई ७० करोड कर नतिरेको आरोप छ । यद्यपि उनी यसलाई मान्न तयार भएनन् । ‘मैले कर तिर्नुपर्ने भए डकुमेन्टका आधारमा भन्नुपर्यो नि’ उनले भने ।
 
दोस्रो संविधानसभामा माओवादीबाट चुनाव लडेका उनको छवि विवादित छ । मुस्लिम समुदायको भोट र पैसाको बलमा उनी चुनाव जित्ने दाउमा देखिन्छन् । यद्यपि मतदाताको रोजाइमा उनी पर्छन् कि पर्दैनन्, यो मतदानपछि मात्र थाहा होला । तर उनी जित मात्र देखेका छन् । उनले भने– ‘मेरो प्रतिस्पर्धा कसैसँग छैन, म सबभन्दा अगाडि छु, र यहाँका जनताले मलाई जिताइसके ।’


 
माओवादीका मेयरका उम्मेदवार रहवर अन्सारी ३१ वर्षका भए । उनी पनि एक मेडिकल कलेजका सञ्चालक पनि हुन् । उनले आफ्नो कार्यालयमा बोलाएर आफ्नो राजनीति सोचबाट कुरा सुरु गरे । ‘विगत अढाई दशकमा धेरै राजनीतिक परिवर्तन भए । तर, आमजनताको जनजीवनमा कुनै सरलता आएन बरु जटिलता थपिँदै गयो । जनता निराश छन् । लोकतन्त्रमा निराशता आउनु हुँदैन भनी चिन्ता व्यक्त गर्दै उनले भने– ‘आशा जगाउन हामी जस्ता युवा राजनीतिमा आउनुपर्यो ।’ उनले वीरगञ्जवा युवाहरुलाई सिर्जनशील बनाउन चाहेको पनि सुनाए । नयाँ सोचका युवा चुनावी दबाबमा थिए । तर, उत्साही देखिन्थे ।
 
उनी यो परम्परागत शैलीको चुनावको विरोध गरे । उनले भने– ‘जनताको मतबाट चुनाव जित्ने हो भने किन यस्तो तडक भडक गर्ने । पैसाको बलमा चुनाव जित्ने होइन । जनतालाई आफ्नो परिचय र भिजन दिएर मतदान गर्ने जिम्मेवारी उसैमाथि छोड्नुपर्छ । मतदातालाई कुनै प्रकारको दवाव दिनुहुँदैन, उसले मनपराएको उम्मेदवारलाई मतदान गर्न पाउनुपर्छ तर यहाँ त्यस्तो देखिएको छैन ।’
 
देशमा यस्तो परिवर्तन आए पनि वीरगञ्जवासीले सजिलो महसुस नगरेको भन्दै अन्सारीले जबसम्म राजनीतिसँग  नागरिकलाई जोडिँदैन तबसम्म नागरिकले सजिलो महशुस गर्न नसक्ने बताए । ‘यहाँ ठेकेदारीको राजनीतिक भइरहेको छ ।’ उनले भने– ‘जनताको मन जित्नुपर्छ । अनि चुनाव जित्नुपर्छ ।’

उनले आफूलाई सबैको सहयोग रहेकाले जित निश्चित भएको दाबी गरे । सबै समुदायको हित र विकासमा आफूले काम गर्ने उनले बताए ।


 
नगरपालिका पाँच पटक जनप्रतिनिधि भएर काम गरेका विमल श्रीवास्तव यसपालि नेपाल लोकतान्त्रिक फोरमबाट चुनाव लडेका छन् । मतदाताको विश्वास र पुरानो कामका आधारमा आफ्नो पक्षमा नतिजा आउने उनको विश्वास छ । अरु नेताले जस्तो उनले ढुक्क भएर चुनाव जित्ने कुरा गरेनन् तर आशा चाहिँ राखे । ‘म विपक्षीलाई कमजोर ठान्दिनँ, जस्तो कमजोर भए पनि चुनौती ठान्छु ।’ उनले भने– ‘तर, मलाई मतदाताप्रति विश्वास छ । भोट खसेपछि सबै थाहा हुन्छ ।’
 
नगरमा काम गरेको अनुभव बुटुलेका श्रीवास्तवले तीन किसिमले विकास गर्ने सुनाए । विस्तारै विकास गर्दै गएर वीरगञ्जलाई अन्तराष्ट्रियस्तरको सहर बनाउने आफ्नो सपना रहेको उनको भनाइ थियो । सहरको समानुपातिक विकास गर्ने दाबी गर्दै उनले भने– ‘वीरगञ्ज एउटा यस्तो सहर हो, जहाँ विकास गर्नका लागि कसैको मुख ताक्नु पर्दैनन्, यहाँका जनता, उद्योगी व्यवसायीहरु थुप्रै विकासका कामहरु गरेका छन् ।’

पत्रकार चन्द्र किशोर चुनावमा पात्र, पक्रिया र परिणाम हेर्नुपर्ने बताउँछन् । ‘उम्मेदवार चयन, चुनावी प्रक्रिया हेरेपछि कस्तो परिणाम आउँछ भन्ने भन्न सकिन्छ ।’ उनले भने– ‘बहुसङ्ख्यक रुपमा गैरराजनीतिक उम्मेदवारलाई टिकट दिइएको छ । यो राम्रो छैन ।’ उनले वीरगञ्जमा काङ्ग्रेस, राजपा र फोरमबीच भीडन्त हुन सक्ने बताए । माओवादीका उम्मेदवार युवा र पढेलेखेका भएकाले उनलाई पनि लाभ मिल्न सक्ने उनको भनाइ छ । 


 
महन्थ ठाकुर नेतृत्वको तमलोपाका संस्थापक समेत रहेका उनी तमलोपा राजपा नेपालमा मिसिएपछि त्यसको प्रवक्ता हुँदै महासचिव भएका थिए । पछि महानगरपालिकाको मेयर पदमा टिकट नपाएपछि उनी सो पार्टी छाडेर नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेर मेयर पदमा उठेका छन् । 
 
उनी भन्छन्– ‘राजपा नेपालले सधैँ मलाई नै टिकट दिने भनिरहयो तर अन्तिम दिन आएर टिकट दिएन । त्यसले गर्दा मलाई भन्दा पनि मेरा कार्यकर्तालाई चित्त दुखेको छ । उनीहरुले जसरी पनि चुनाव लड्नुपर्छ भने । तर  जनताको अगाडि बाध्य भए र चनुाव लडेँ ।’ राजपाले राजेशमान सिंहलाई टिकट दिएको छ ।
 
उद्योगी व्यापारीका लागि आफूले काम गर्ने सुनाएका छन् । यद्यपि उद्योगी व्यावसायीले भने यसमा विश्वास गरेका छैनन् । आन्दोलनको इपिसेन्टर वीरगञ्जमा उद्योगी व्यावसायीले धेरै पीडा भोगेको र स्थानीय तहको चुनावपछि केही आशा हुन्छ कि हुँदैन, केही भन्न नसकिने बताएका छन् । यो वीरगञ्जका भावी मेयरका लागि चुनौतीको विषय हो ।


 
‘सुधार हुन्छ कि हुँदैन, यो भगवान भरोसा छ । उद्योग वाणिज्य सङ्घ  वीरगञ्जका पूर्वअध्यक्ष प्रदीप केडियाले रातोपाटीसँगको कुराकानीमा भने । उनले राजनीतिक पार्टीले वीरगञ्जको विकासको मुद्दामा १५–२० वर्षदेखि काम गर्न नसकेको उनले भने– ‘विकास चुनावी मुद्दा मात्र हुन्छ । कार्यान्वयन हुँदैन । जो मेयर आए पनि विकासमा काम गर्नुभएन भने अफ्ठ्यारो हुन सक्छ ।’
 
केडियाका अनुसार वीरगञ्जका उद्योगी व्यापारीले आन्दोलनका कारण दुई हजार करोडको नोक्सानी बेहोरेका छन् । उनले भएका केही उद्योगी व्यापारी विस्थापित हुने अवस्था आएको र आन्दोलनपछि नयाँ उद्योग नथपिएको बताए ।
 
चुनाव खर्चिलो छ । सबै उम्मेदवार दबाबमा छन् । यद्यपि उद्योग वाणिज्य सङ्घ वीरगञ्जका पूर्वअध्यक्ष प्रदीप केडियाले आफूहरु चन्दाको दबाबमा नपरेको दाबी गरे ।
 
राजपा नेपालका महासचिव केशव झाले दुई नम्बर प्रदेशका चुनाव धेरै पेचिलो हुँदै गएको र यसमा एउटा मात्र महानगरपालिको चुनाव पेचिलो हुनु स्वभाविक भएको बताए । आर्थिक नगरीका रुपमा परिचित यस महानगरपालिका धेरै ठूलो प्रतिस्पर्धा रहेको बताए ।


 
आफ्ना पार्टीका मेयरका उम्मेदवार राजेशमान सिंहको प्रचार प्रसारमा वीरगञ्जमा आएका उनी महानगरपालिकामा आफ्नो पार्टीले जित्ने दाबी उनले गरे । मधेसी जनताको अधिकारका लागि राजपा नेपाल निरन्तर लडेको र अधिकारका लागि सदैव साथमा रहेको दाबी गरे । यही आधारमा चुनाव आफ्नो पार्टीले जित्ने उनको भनाइ थियो । ‘जनताले मधेसको लडाइँलाई बुझेका छन्, ती जनताले अवश्य नै राजपाका उम्मेदवारलाई नै जिताउनेछन् ।’
 
उनले राजपा नेपालको पुँजी हालसम्म लडेको लिएको अधिकार नै भएको र जबसम्म मधेसले मुक्ति पाउँदैन तबसम्म लडाइँ जारी राख्ने उनले बताए । चुनाव भोटिङको दिन आउँदै गर्दा पनि राजपा नेता आन्दोलनको कुरा छाडेका छैनन् ।


 
वीरगञ्जमा बसेर माओवादी चुनावी प्रचारमा खटेकी उर्मिला अर्याल यसपालि माओवादीको जित हुने दाबी गर्छिन् । ‘वीरगञ्ज देशभर चर्चामा छ । यहाँ माओवादीको छवि पनि राम्रो भएको छ । हामी यहाँ मेयर र सातवटा वडामा जित्दैछौँ ।’ उनले भनिन्– ‘पहाड र मधेस जोड्ने, उद्योगी र मजदुर जोड्ने उत्पीडित समुदायलाई हित गर्ने विषयमा माओवादी चुनाव जित्छ ।’
 
उनले भनिन्– ‘प्रचण्डले मलाई दुईटा गाउँपालिका जिताउनुभयो भने तक्मा दिन्छु भन्नुभएको थियो, छवटा भन्दा बढी तह जित्ने कन्फर्म हो ।’
 
पाँच वर्षभित्रमा के–के गर्ने भन्ने पहिला नै योजना स्पष्ट पारेर अगाडि बढ्नुपर्ने बताउँदै उनले जनतलाई ढाट्ने काम गर्न नहुने बताइन् । उनले विमल श्रीवास्तव र राजेशमान सिंह टेस्टेड भएकाले अबको जनताले युवालाई साथ दिने विश्वास व्यक्त गरिन् ।


 
पत्रकार चन्द्र किशोर चुनावमा पात्र, पक्रिया र परिणाम हेर्नुपर्ने बताउँछन् । ‘उम्मेदवार चयन, चुनावी प्रक्रिया हेरेपछि कस्तो परिणाम आउँछ भन्ने भन्न सकिन्छ ।’ उनले भने– ‘बहुसङ्ख्यक रुपमा गैरराजनीतिक उम्मेदवारलाई टिकट दिइएको छ । यो राम्रो छैन ।’ उनले वीरगञ्जमा काङ्ग्रेस, राजपा र फोरमबीच भीडन्त हुन सक्ने बताए । माओवादीका उम्मेदवार युवा र पढेलेखेका भएकाले उनलाई पनि लाभ मिल्न सक्ने उनको भनाइ छ । 
 
पर्साको चुनावी कुरा गर्दा यहाँ पर्सा जिल्लामा मतदान स्थल १६७ र मतदान केन्द्र ३४४ छन् । पर्सा जिल्लामा कुल मतदाता संख्या २ लखा ८०हजार २१२ छन् । यसमा पुरुष १ लाख ५९ हजार २८६, महिला १ लाख २० हजार ९११ र तेस्रो लिङ्गी १५ जना छन् । यहाँ वीरगञ्ज महानगरपालिका ३ नगरपालिका र १० गाउँपालिका छन् । पोखरिया नगरपालिका, पर्सा गढी नगरपालिका, बहुदरमाई नगरपालिका, जिराभवानी गाउँपालिका, जगरनाथ गाउँपालिका, धोबनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, विन्दबासिनी गाउँपालिका, ठोरी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र  कालिका माई गाउँपालिका प्रमुख दलहरुबीच नै भिडन्त छ ।
 
वडागत हिसाले मतदातको सङ्ख्या हेर्ने हो भने केही वडामा ६ हजारभन्दा बढी मतदाता छन् । जो यहाँको चुनावी अङ्कगणितमा निर्णायक हुन सक्छन् । वडा नम्बर १ मा तीन हजार सात सय ३९, दुईमा चार हजार दुई सय ८३, तीनमा तीन हजार सात सय २९, चारमा दुई हजार छ सय २६ र पाँचमा दुई हजार ४० मतदाता छन् ।
यसबाहेक ६ मा तीन हजार आठ सय ७२, सातमा दुई हजार तीन सय ६५, आठमा तीन हजार ६२, नौमा एक हजार सात ४५ र १० मा पाँच हजार ६ सय ४९ मतदाता छन् । वडा नम्बर ११ मा चार हजार एक सय ८८, १२ मा चार हजार ६३, १३ मा तीन हजार ९३, १४ मा चार हजार ४८, १५ मा चार हजार तीन सय ९५, १६ मा ६ हजार आठ सय ७४, १७ मा तीन हजार सात सय ८५, १८ मा दुई हजार नौ सय १०, १९ मा दुई हजार पाँच सय ९३ र २० मा दुई हजार दुई सय ४५ मतदाता छन् ।
 
यसबाहेक वडा नम्बर २१ मा तीन हजार तीन हजार दुई सय ९५, २२ मा दुई हजार नौ सय ४०, २३ मा दुई हजार तीन सय ६५, २४ मा दुई हजार पाँच सय १३, २५ मा दुई हजार सात सय ९४, २६ मा दुई हजार आठ सय ८०, २७ मा तीन हजार दुई सय ७२, २८ मा तीन हजार एक सय ९५ मतदाता छन् । वडा नम्बर २९ मा तीन हजार एक सय ७९, ३० मा दुई हजार ३२, ३१ मा चार हजार एक सय ६२ र ३२ मा चार हजार चार सय ७४ मत छन् ।
 
यिनै मतदाताले वीरगञ्जमा मेयरको उम्मेदवार कसलाई दिने भन्ने फैसला गर्नेछन् । साविकको उपमहानगरपालिकाबाट महानगर पालिका बनाउँदा गाउँको भाग जोडिएकाले गाउँले मतदाताहरुको सङ्ख्या पनि धेरै नै छ । सहरी मतदाता र गाउँले मतदाताबीच मत दिँदा सोच्ने तरिका फरक हुन सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप