शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुस्तकमा अबको नेपाल

बुधबार, २८ भदौ २०७४, १२ : ४२
बुधबार, २८ भदौ २०७४

काठमाडाैं– राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक न्याय जस्ता विषयमा ‘अबको नेपाल : सम्भावना र कार्यादिशा’ पुस्तकमा बहस गरिएको छ ।
के नेपालको समृद्धिको बाधक समाजको बनोट र संस्कृति, नेपाली मनोविज्ञान, भौगोलिक अवस्थिति, सरकारी नीति, कार्यक्रम र योजना हुन त् ? पुस्तकमा आर्थिक, सामाजिक, राजनीतिक, प्रशासननिक तथा भौगोलिक पक्षबाट विश्लेषण गरिएको छ ।
पहलो खण्डमा प्रवेश खण्ड, दोस्रो आर्थिक, तेस्रो ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि र पूर्वाधार, चौथो प्रशासन, पाँचौँ सामाजिक र छैटौँ खण्डमा राजनीति समेटिएको छ । पुस्तकको पहिलो खण्डमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले ‘कत्रो नेपाल, कस्तो नेपाल’ शीर्षकमा नेपालको उत्पत्तिदेखि अहिलेसम्म विश्व मानचित्रमा कुन कालखण्डमा कत्रो थियो ? भन्ने ऐतिहासिक पाटो खुलाएका छन् । साथै, अबको नेपालले नाकाबन्दी खेप्नु नपर्ने, डुबानमा पर्नु नपर्ने र नेपाली भूमि गुमाउनु नपर्ने कसरी हुनसक्छ लगायत विषयमा विश्लेषण गरेका छन् । 
पहिलो खण्डको दोस्रो आलेख संस्कृतिविद् प्रा.डा. डिल्ली ओलीको छ । उनले नेपाली समाजको बनोट र संस्कृतिबारे विश्लेषण गरेका छन् । भौगौलिक संरचनाअनुसार नेपाली समाजको बनोट र संस्कृतिले पार्ने फरकपन र त्यसले समग्र विकासमा पारेको प्रभावबारे छ । अहिलेका नेपाली कस्ता छन् भनेर मानवशास्त्री डा. सुरेश ढकालले ‘हामी नेपाली कस्ता नेपाली’ शीर्षकमा चिरफार गरेका छन् । त्यसैगरी भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनालले नेपालको भौगोलिक अवस्थिति र संरचना विकासको बाधक कति हो भनेर व्याख्या गरेका छन् । खनालले नेपालजस्तै अन्य पर्वतीय मुलुकको उदाहरण पेस गर्दै नेपालको भौगोलिक अवस्थिति र संरचना विकासको बाधक नभएको तथ्य देखाएका छन् । खनालको आलेखमा समर्थन जुटाउँदै नेपालका विकास नीति, कार्यक्रम र योजनामै खोट रहेको तथ्य र तर्क प्रा.डा. प्रेम शर्माको ‘नेपालको भावी योजना’ आलेखमा छ । 
पुस्तकको दोस्रो खण्डमा अर्थशास्त्री प्रा.डा. मदनकुमार दाहालले नेपालको समग्र अर्थतन्त्रको विश्लेषण गर्दै आर्थिक विकासका लागि २५ सुझाब पेस गरेका छन् । साथै, व्यापार नीतिविज्ञ डा. रामचन्द्र आचार्यले नेपालको आर्थिक विकासमा चीन र भारतसँग समान रूपमा व्यापारिक सम्बन्ध किन र कसरी अगाडि बढाउनुपर्नेछ भन्ने विश्लेषण गरेका छन् । पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले ‘बैंकको भावी मार्गचित्र’मा नेपालको बैंक तथा वित्तीय अवस्था र संस्थाको व्याख्या गरेका छन् । नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २ प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्रको भविष्यको बाटो के हुन सक्छ र कसरी अगाडि बढ्ने भन्नेमा पर्यटन बोर्डका पूर्वसिईओ प्रचण्डमान श्रेष्ठले विश्लेषण गरेका छन् । र, समग्रमा देशको गरिबी निवारणको भावी रोडम्यापबारे गरिबी निवारण कोषका सिईओ नहकुल केसीले व्याख्या गरेका छन् । 
नेपालको ऊर्जा क्षेत्रको विकासबारे जलविद्युत् विकास तथा लगानी कम्पनी लिमिटेडका पूर्वसिइओ दीपक रौनियारको आलेख छ । साथै, भौतिकशास्त्री प्रा.डा. उदयराज खनाल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति प्रा.डा. जीवराज पोखरेलले नेपालको विज्ञान तथा प्रविधिको विकासबारे लेखेका छन् । खाद्यान्नमा नेपाल कसरी आत्मनिर्भर हुन सक्छ भन्नेबारेमा खाद्यसुरक्षा विज्ञ यमुना घलेको आलेखले निर्देश गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका पूर्वसहायक डिन प्रा.डा. शरद् वन्तले नेपालको स्वास्थ्य क्षेत्र, लोकसेवा आयोगका सदस्य तथा पूर्वसचिव डा. गोविन्द कुसुमले प्रशासन र पूर्वमहान्यायधिवक्ता डा. युवराज संग्रौलाले अदातलभित्रको अनियमितता र सुधारको रोडम्यापबारे उल्लेख गरेका छन् । वरिष्ठ पत्रकार प्रा. पी खरेलले ‘अबका सञ्चारमाध्यम’ शीर्षकमा नेपाली सञ्चारमाध्यममाथि समीक्षा गर्दै भविष्यको बाटो दर्शाएका छन् । 
नेपालका आइएनजिओ कस्ता हुन् र किन बन्द गर्नुपर्छ ? भन्नेबारे पूर्वकानुनसचिव मोहन बञ्जाडेले व्याख्या गरेका छन् भने नेपालको ‘अबको राजनीति’ शीर्षकमा सौरभको विश्लेषण समेटिएको छ । चीनका लागि पूर्वराजदूत डा. महेश मास्केले परराष्ट्रनीति, पूर्वब्रिगेडियर जनरल डा. प्रेमसिंह बस्न्यातले भावी सुरक्षानीति, स्थानीय तहको भविष्य के हुन्छ भन्नेबारेमा विकेन्द्रीकरणविज्ञ तथा पूर्वसचिव विहारीकृष्ण श्रेष्ठले व्याख्या गरेका छन् । पूर्वाधारविज्ञ डा. सुर्यराज आचार्यले भूविकासदेखि काठमाडौमा मेट्रो रेलको संभावनासम्म चर्चा गरेको छन् । 
पुस्तकमा कृषिविज्ञ प्रा.डा. पुन्यप्रसाद रेग्मी र भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादवको पनि आलेख छ । शिखा बुक्सले प्रकाशन गरेको ‘अबको नेपाल ः सम्भावना र कार्यदिशा’पुस्तकको सम्पादन पत्रकार योगेश ढकाल र कृष्ण गिरीले गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप