शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेकअप गर्ने यी हुन् दस सूत्र

बुधबार, २८ भदौ २०७४, १३ : ०३
बुधबार, २८ भदौ २०७४

 सोना आचार्य, सौन्दर्यकर्मी

सोना आचार्य (इन्दु) १२ वर्षदेखि सौन्दर्य पेसामा कार्यरत छिन् । सौन्दर्य प्रशिक्षणसमेत रहेकी उनी सौन्दर्यकर्मी पनि हुन् । ललितपुरमा उनले एउटा  ब्युटिपार्लरसमेत चलाउँदै आएकी छन् । विभिन्न सौन्दर्य प्रतियोगितामा सौन्दर्य कोअडिनेटरको जिम्मेवारीसमेत सम्हाल्दै आएकी उनी सौन्दर्य पेसाबाट खुसी छिन् । कारण, यो पेसाबाट उनलाई नाम र दाम दुवै मिलेको छ । सौन्दर्यकर्मको सिलसिलामा विभिन्न राष्ट्रको भ्रमण अनुभव रहेकी उनी अन्य राष्ट्रको भन्दा नेपाली ब्युटिसियन ट्यालेन्ट रहेको बताउँछिन् । वर्षौंदेखि सौन्दर्य पेसामा रमाइरहँदा यो क्षेत्रको विभिन्न समस्यासमेत नियालेकी उनले ब्युटिसियन पेसामा लाग्नेले खुलेर भन्न सक्ने अवस्था अझै बन्न नसकेको बताउँछिन् । यदाकदा ब्युटिपार्लरको नाममा अनैतिक धन्दा पनि हुने गरेको सुनेकी उनले एक एन्जियो मार्फत सामाजिक कार्यसमेत गर्दै आएकी छन् । समाजका ठूलाबडाले आफ्नो छोरी बुहारीलाई सौन्दर्यको प्रशिक्षणमा सहभागी गराए पनि खुलेर बाहिर ल्याउन नचाहेका कारण सौन्दर्य पेसा राम्रो भए पनि इज्जतदार पेसा बन्न नसकेको उनी गुनासो पोख्दछिन् । सौन्दर्य पेसाबाट राम्रो आम्दानी गर्न सकिने बुझेकी उनले सौन्दर्यका लागि दिएको यस्ता छन् दस टिप्स ।
  
मुस्कान ः सौन्दर्यका लागि मुस्कान अनिवार्य छ । मुस्कानले पनि मानिसलाई राम्रो देखाउने गर्दछ । सुन्दर देखिन मुस्कानमा ध्यान दिनु अनिवार्य छ । मुस्कानमा पनि विभिन्न अपूर्णता हुने गर्छन् । राम्रो मुस्कान बनाउन ती कुरामा ध्यान पुर्याउनु अनिवार्य छ । हाम्रो समाजमा मन्द मुस्कानलाई आकर्षक मुस्कान मान्ने गरिन्छ । मुस्कान राम्रो हुन हाँस्ने ओठहरू पनि आकर्षक हुनु जरुरी छ । आफ्नो अगाडि आउँने व्यक्तिलाई कसरी मुस्कानले आफूतिर आकर्षण गर्ने यो कुरामा सधै ध्यान पुर्याउन सकिए मात्र आकर्षक मुस्कान दिन सकिन्छ । महिलाको कुरा गर्ने हो भने आकर्षक मुस्कानका लागि ओठको शृङ्गार अनिवार्य हुन्छ । ओठका लागि लिबिस्टिक, ग्लस आदि प्रयोग गर्न सकिन्छ । मानिस अनुसारको स्क्रिनसँग म्याच गर्ने, भद्दा नदेखिने खालको लिबिस्टिक प्रयोग गर्नुपर्छ । पुरुषले पनि लिप ब्रस, लिप ब्राउनलगायत सौन्दर्यका सामान प्रयोग गरेर आकर्षक मुस्कान बनाउन सकिन्छ ।
अनुहार ः जोकोहीको पनि झट्ट हेर्दा पहिलो आँखा पर्ने भनेको अनुहारमा हो । सुन्दर देखिन अनुहार आकर्षक हुनुपर्छ । अनुहार आकर्षक नभएका व्यक्तिलाई सुन्दर भन्न मिल्दैन । आकर्षक अनुहारका लागि सौन्दर्यकर्मीको सल्लाह उत्तम हुन्छ । स्वस्थ, सुन्दर र दोसरहित अनुहारलाई हाम्रो समाजमा आकर्षक अर्थात सुन्दर अनुहार भनेर भन्ने गरिन्छ । अनुहारको कुरा गर्ने हो भने कोहीको आँखा, कोहीको मुख, केहीको गाला लगायतका भाग राम्रो देखिने गर्छ । आफ्नो अनुहारको कुन भाग राम्रो छ र कुन नराम्रो राम्ररी जान्नुपर्ने हुन्छ । आफ्नो अनुहारको जुन भाग नराम्रो छ । त्यो भाग छोपेर विभिन्न मेकअपले आकर्षक देखाउन सकिन्छ । अनुहारमा दाग, धब्बा छ भने कन्सिलरले छोपेर पनि आकर्षक बनाउन सकिन्छ । नियमित रूपमा क्लिजिङ, टोनिङ, मस्चराइजर, सन्प्रोटेक्सन, नाइटक्रिम लगायतका सौदर्य सामग्रीको प्रयोगले पनि अनुहार आकर्षक बन्ने गर्छ । क्लिजिङ भन्नाले छालाको सरसफाइ बुझाउँछ । टोनिङले खुराक दिने काम गर्छ । मस्चराइजरले हाम्रो दौड धूपको असरलाई कम गर्ने काम र पानीको मात्रा दिने काम गर्छ । क्रिमले सूर्यबाट छालाको सुरक्षा गर्ने गर्छ । 

आँखा ः स्वस्थ आँखा नै सुन्दर आँखा हो । आँखा मानिसको संवेदनशील अङ्गभित्र पर्छ । यसलाई विषेश ध्यान दिने गर्नुपर्छ । आँखालाई आकर्षक बनाउने भनेको गाजलले नै हो । गाजल विषेश गरेर महिलाका लागि हो । पुरुषले लगाउँदा पनि राम्रो देखिन्छ । तर पुरुषका लागि भन्नुपर्दा सरसफाइ नै हो । महिलाले ड्रेसअनुसार आँखालाई आकर्षक देखाउनु जरुरी छ । यसका लागि  उनीहरूले आइस्याडो, गाजल, आइल्यानर, आइकिलट्रस, आइलेसेसलगायत प्रयोग गर्न सकिन्छ । आँखा सुन्दर बनाउने टिप्स सौन्दर्यकर्मीबाट तथा नेटबाट सर्च गरेर पनि लिन सकिन्छ । 

टीका ः निधारमा लगाइने टीकाले पनि मानिसलाई सुन्दर र आकर्षक देखाउने गर्दछ । टीका सोह्र शृङ्गारअन्तर्गत पनि लिइने गरिन्छ । टीका लगाउने चलन अहिले छोड्दै जानसमेत थालिएको छ । कतिपय समयमा टीका लगाउनु नै पर्ने परिस्थिति हुन्छ । टीका लगाउन पनि विषेश ध्यान दिनुपर्ने हुन्छ । टीकाको प्रयोगका लागि पनि अनुहार, रङ्गलगायत विभिन्न विषयको जानकार हुनु जरुरी छ । गोलो अनुहार छ भने त्यस्तो व्यक्तिले गोलो टीकालगाएको त्यति सुहाउँदैन । यस्ता व्याक्तिले हल्का लाम्चो खालको लगाउनुपर्ने हुन्छ । जो मानिसको फेस अन्डा आकारको छ । ती व्यक्तिले जुनै खालको टीका लगाउँदा पनि राम्रो देखिन्छ । निधारको साइज  अनुसार पनि टिकाको छान्न जान्नुपर्ने हुन्छ । ठूलो निधार भएको मानिसले ठूलै साइजको टीका लगाउँदा आकर्षक देखिन्छ । ठिक्कको निधारमा सानो साइजको टीका सुहाउँछ । कतिपय अवस्थामा लाउनेको पनि च्वाइसमा भरपर्छ । टीका निधारमा आँखी भाँै बीचमा नै लगाउँदा राम्रो हुन्छ । पहिले योभन्दा अलिकतिमाथि लगाउने चलन थियो । रातो, कलेजी, कालो, सेतो, बुट्टेदार र स्टोन भरिएको टीका अहिले युवापुस्तामा चलेको छ । 

हेयर स्टाइल ः हेयर रस्टाइल मानिसको प्रत्यक्ष सौन्दर्यसँग जोडिएको हुन्छ । हेयर स्टाइल गाह्रो विषय पनि हो । सहर बजारमा बस्नेले त हेयर स्टाइल गर्न सजिलो छ । हेयर इस्टायलका लागि सहरमा ब्युटिपार्लर, सैलुनलगायत धेरै सुविधा उपलब्ध छन् । कुन एजको मानिस, कस्तो कार्यक्रममा, कस्तो समयमा जाने, कस्तो वातावरणमा जानेलगायतका विषयले हेयर स्टाइलाई प्रभाव पार्ने गर्छ । हेयर स्टाइलका लागि यी सबै कुरामा ध्यान दिनुपर्ने हुन्छ । सानो उमेरको महिलाको कपालमा ह्याबी जुरो बनाउन मिल्दैन । किशोरीहरू स्टेट र कर्ली कपाल नै मन पराउँछन् । कसै कसैले जुरो बनाउँदा पनि राम्रो देखिन्छ । हेयर स्टाइल आफैले बनाउन सम्भावना छैन । हेयर स्टाइल अनुभवीसँग बनाउँदा राम्रो हुन्छ । हेयर स्टाइलका लागि उमेरमा पनि ध्यान दिनुपर्छ । धेरै सिनियर पर्सनले कपाल जुरो पार्नु राम्रो देखिन्छ ।

गहना ः गहनाको कन्सेप्ट समयअनुसार चेन्ज हुने गर्छ । पहिले सुन लागाउनुपर्छ भन्ने धारणा सबैमा थियो । अहिले त्यस्तो छैन । जेको गहना लगाए पनि मानिसअनुसार र कानको साइज विचार गरेर लगाउनुपर्ने हुन्छ । गहना लाम्चो फेस भएको मानिसलाई झुम्का सुहाउँदैन । यस्तो फेसन हुनेले टप, कुन्डल, गोलो गोलो रिङ भएको लगाउनुपर्छ । केटीहरूले रिङ र प्रायः झुम्का लगाउँछन् । यो पनि उनीहरूको पहिरनमा भर पर्ने गर्दछ । पहिरनले पनि गहनाको आकर्षण झल्काउने गर्दछ । लेहेङ्गा र सारीमा झुम्का सुहाउँछ । रिङ प्रायः जुनै पहिरनमा पनि सुहाउने गहना हो । यसको साइज एज अनुसार भिन्नभिन्न हुन्छ । गहनाका लागि समय र फेसनको पनि फलो गर्नुपर्ने हुन्छ । अनुहारको पनि विषेश ध्यान दिनुपर्ने हुन्छ । गोलो फेस सानो सानो झुम्का सुहाउछ भने लाम्चो फेसनमा कुन्डल टाइपको सुहाउँछ । घाटीमा चाहिँ हल्का किसिमको गहना नै प्रयोग गर्दा राम्रो देखिन्छ ।

चस्मा ः सौन्दर्यका लागि चस्मा निकै महत्वपूर्ण हुने गर्दछ । तर धेरैले यो कुरामा ध्यान दिँदैनन् । मानिसलाई सुन्दर देखिनुका अलवा आँखामा आउने विभिन्न समस्या र रोगको पनि रोकथाम गर्ने काम चस्माले गर्छ । कालो चस्मा, सिम्पल चस्मा, ठूलो चस्मा आदि प्रयोग गर्नु राम्रो हुन्छ । आफ्नो आँखा र स्क्रिनको समेत कभर चस्माले गर्न सकिन्छ । चस्मा उच्च स्तरीय ब्रान्डकै प्रयोग गर्नुपर्छ । चस्माले आँखाको वरिपरि आउने रिङ्कललाई पनि कन्ट्रेल गर्छ । धुलो, धुवाँ, किराबाट पनि आँखा बचाउँछ । चस्मा अहिले लगाउन थालियो भने दुई वर्षपछि हुने रिङ्कनलाई समेत निराकरण गर्छ ।

माक्स् ः सौन्दर्यका लागि मुखमा लगाइने माक्सको पनि महत्व छ । माक्स्ले मुखको भित्री र बाहिर भागको सुरक्षा गर्छ । यसले ओठको पनि बचावट गरिरहेको हुन्छ । प्रदूषणबाट बचाउनसमेत मद्दत गर्छ । मुखमा लगाएका सौन्दर्यका सामग्रीको पनि सुरक्षा गर्ने काम गर्दछ । धुवाँ, धुलोबाट रियाक्सन हुन दिँदैन । सौन्दर्यका लागि मुखमा, ओठमा गरिएका विभिन्न मेकअपलाई पनि सुरक्षा दिने गर्छ । 

छाता ः कतिपय मानिस छाता ओढेर हिँड्न झलन्झट मान्छन् । नराम्रो सोच्छन् । पानी परेको बेला बाहेको अन्य समय छाता ओढेर हिँड्नेलाई नराम्रा नजरले हेर्ने पनि मानिस भेटिन्छन् । मेरो विचारमा हरेको मानिसको लागि बाँहिर हिँड्दा छाता अनिवार्य छ । त्यो जाडो महिना होस् या गर्मी । यसले कपाल, अनुहारको पनि सुरक्षा गर्छ । सूर्यको किरण सीधै शरीरमा पर्नबाट  बचाउँछ । सूर्यको किरणले कपाल, अनुहारलगायतलाई असर गरिरहेको हुन्छ । छाताले सूर्यको किरणबाट हुने अनुहारको सम्पूर्ण सुरक्षा गर्छ । 

ड्रेसअप ः सुन्दर र आकर्षक देखिन ड्रेसअप महत्वपूर्ण हुने गर्छ । अहिले कसले, कुन एजकाले कस्तो ड्रेसअप गर्नेभन्दा पनि चलेको फेसन गर्नेको होडबाजी चलेको छ । ड्रेसअप शरीरको साइज, हाइट र रङ्गले पनि निर्धारण गर्ने गर्छ । अर्काे कुरा रुचिअनुसार पनि भरपर्ने गर्छ । कतिपयलाई फिटिङ मनपर्छ । समयअनुसार चलेको पहिरन लगाउँदा राम्रो देखिन्छ । आफू जहाँ जाने हो, त्यहाँ जाँदा कसैले नउडाउने, आफूले लगाएको गरगहना, आफूले बनाएको कपाल अझ आकर्षक देखिनेतिर ध्यान पर्ने हुन्छ । आफ्नो पेसा, समय, मौसम र हाइटअनुसार पनि ड्रेसअप गर्नुपर्छ । कतिपयले उचित सल्लाह नपाएर ड्रेसअप बिगारी रहेका हुन्छन् । ड्रेसअपको लागि जानेको, बुझेको मानिससँग सल्लाह लिनु राम्रो हुन्छ । सिम्पल ड्रेस जहिले पनि राम्रो देखिन्छ । किशोरीहरूका लागि पाइन्ट, टिसर्ट, वान पिस,  गाउनहरू बढी सुहाउँछ भने अन्यलाई उमेरअनुसार लगाउँदा राम्रो देखिन्छ ।
प्रस्तुति : कुवेर गिरी 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप