एमाले गुटले ‘कम्युनिस्ट पार्टी’ लेख्न पाउँछ ?

person access_timeभदौ २८, २०७४ chat_bubble_outline0

प्रचण्ड सरकारले गणतान्त्रिक संविधान कार्यान्वयन गर्न स्थानीय तह निर्वाचन गर्यो । निर्वाचन परिणामको समीक्षा गर्दै नेकपा (माओवादी केन्द्र), केन्द्रीय सचिवालयको बैठक सम्पन्न भयो । प्रदेश इन्चार्ज र जिल्ला इन्चार्जहरू समेतको मौखिक प्रतिवेदनपछि विषयवस्तुको संश्लेषण गर्दै अध्यक्ष प्रचण्डले लिखित प्रतिवेदन प्रस्तुत गर्नुभयो, जसलाई बैठकले स्वीकृत गर्यो ।

पार्टी केन्द्रीय सचिवालयद्वारा स्वीकृत क. प्रचण्डको प्रतिवेदनमा भनिएको छ– “पार्टीले आफ्नो सर्वहारा वर्गीय चरित्र र पहिचान बचाउँदै... एमालेभित्रको उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी संशोधनवादी धारालाई मलजल गरेर प्रतिगमनतिर लैजाने षड्यन्त्रमा सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरू लागिरहेका छन् । हामीले एमालेभित्रको.... त्यसप्रकारको प्रतिगामी चिन्तन प्रवृत्तिको खण्डन, आलोचना र भण्डाफोर गर्दै त्यहाँभित्रको सच्चा देशभक्त र परिवर्तनपक्षीय प्रवृत्तिलाई बलियो पार्न जोड गर्नुपर्दछ ।” 
पार्टीको यही निर्णय निर्देशनअनुसार संशोधनवादी र अवसरवादी एमाले गुटको भण्डाफोर गर्न यो आलेख केन्द्रित छ । 

विश्व क्रान्तिमा माक्र्सवादी विज्ञानको स्थान
२१औं शताब्दीको माक्र्सवादलाई एकीकृत शृङ्खलाको रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद भनिन्छ । संक्षिप्तमा ‘माक्र्सवाद’ भन्न सकिन्छ । यो नै मानव मुक्तिको सर्वोच्चतम् विज्ञान हो । माक्र्सवादी विज्ञानको अभावमा साम्राज्यवादमा पतन भएको एकाधिकार पुँजीवादले निश्चय नै मानव सृष्टि ध्वंश गरिसक्ने थियो । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणमा एकाधिकार पुँजीवादविरुद्ध सर्वहारा क्रान्तिको माक्र्सवादी दर्शनले मात्र पहिलो र दोस्रो विश्वयुद्धलाई ठेगान लगाएर सर्वहारा क्रान्ति अभ्यास गर्यो । जसले मात्र मानव सृष्टिको रक्षा गरेको छ । 

युरोप, खासगरी जर्मनीको दर्शन, बेलायती अर्थशास्त्र र फ्रान्सेली वर्गसङ्घर्षको संश्लेषण नै माक्र्सवाद हो । तसर्थ दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद, जसको विकास फ्रान्समा पेरिस कम्युनको रूपमा भयो, लाई माक्र्सवादको सङ्घटक अङ्ग मानिन्छ । फ्रेडरिक एङ्गेल्सको महान सहयोगमा कार्ल माक्र्सले यो अत्याधुनिक विज्ञानको विकास गर्नुभयो । वैज्ञानिक समाजवादको प्रश्नमा सर्वहारा श्रमिकवर्ग नै मानव इतिहासको अन्तिम उत्पीडितवर्ग रहेको र उनीहरूले राज्यसत्ता कब्जा गरेर त्यसको विलोपको निम्ति वर्गसङ्घर्ष लड्ने क्रान्तिकारी सिद्धान्त दिनुभयो । 

माक्र्सको निधनपछि फ्रेडरिक एङ्गेल्सको नेतृत्वमा कार्ल माक्र्सका वैज्ञानिक योगदानहरूलाई ‘माक्र्सवाद’ नाममा संष्लेषण गरियो । सर्वहारा वर्गले राज्यसत्ता लिने माक्र्सवादी विज्ञानको व्यावहारिक प्रयोग भने रुसमा अक्टोबर क्रान्तिद्वारा लेनिनले गर्नुभयो । किनभने, अनुभवको कमीका कारण फ्रान्सका मजदुरहरूले कब्जा गरेको ७२ दिनपछि पेरिस कम्युन गुमाउनु पर्यो । माक्र्सवादको व्यावहारिक प्रयोगको सिलसिलामा विकसित लेनिनका योगदानहरूलाई ‘माक्र्सवाद–लेनिनवाद’ भनियो । तत्कालीन परिस्थितिमा तेस्रो विश्व, जहाँ अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती अवस्था थियो, चीनमा माओ त्सेतुङले सर्वहारावर्गको नेतृत्वमा पुँजीवादी क्रान्ति सम्पन्न गर्नुभयो । ‘अन्तर्विरोधबारे’ र ‘व्यवहारबारे’ जस्ता रचनाहरूको आधारमा माओले माक्र्सवाद–लेनिनवादमा दार्शनिक योगदान गर्नुभयो । सँगसँगै आफ्नै नेतृत्वमा माओले निरन्तर क्रान्तिको सिद्धान्तका रूपमा ‘महान सर्वहारा सांस्कृतिक क्रान्ति’को अभ्यास गर्नुभयो । जसले, माओका योगदानहरूलाई माक्र्सवादको तेस्रो कडीका रूपमा स्थापित गरेको छ । यसरी माक्र्सवादको शृङ्खलाबद्ध विकास ‘माक्र्सवाद–लेनिनवाद–माओवाद’को तहमा पुगेको छ । 
अतः प्रस्ट छ कि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग अन्त्य नभएसम्म माक्र्सवाद–लेनिनवाद अख्तियार गर्नेहरू र सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु मान्ने माक्र्सवादी–लेनिनवादी–माओवादीहरू मात्र विद्यमान शताब्दीका सच्चा माक्र्सवादीहरू हुन् । 

माक्र्सवाद–लेनिनवाद– माओवादलाई क्रान्तिकारी विज्ञानका रूपमा बुझ्न यसका मुख्यतः पाँच आधारभूत सिद्धान्तहरू स्वीकार गर्नुुपर्दछ । त्यो १. वर्गसङ्घर्ष अर्थात् बल प्रयोगको सिद्धान्त, २. सर्वहारावर्गको अधिनायकत्वको सिद्धात, ३. सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्त, ४. जनवादी केन्द्रीयताको सिद्धात र ५. निरन्तर क्रान्तिको सिद्धान्त हो । पहिलो, दोस्रो र तेस्रो सिद्धान्तको विकास माक्र्स–एङ्गेल्सले गर्नुभएको हो भने चौथो लेनिनले र पाँचौँ सिद्धान्त माओले विकास गर्नुभएको हो । अतः को माक्र्सवादी कम्युनिस्ट हो र को होइन ? भन्ने तथ्यको कसी यही आधारभूत सिद्धान्तले निर्धारण गर्छ । 

माक्र्सवादका पाँच आधारभूत सिद्धान्त औपचारिक रूपमा स्वीकार गर्दै त्यसको व्यावहारिक अभ्यासमा डट्नेहरू सच्चा माक्र्सवादी हुन् । पाँचमध्ये कुनै एक मात्र सिद्धान्त छोड्नेहरू र पाँच आधारभूत सिद्धान्तलाई व्यावहारिक अभ्यास नगर्नेहरू संशोधनवादी हुन् । अब भन्नुस्, एमाले गुट कुन ‘वादी’ हो ? जवाफ प्रस्ट छ कि ‘कम्युनिस्ट पार्र्टी’ लेख्ने एमाले गुटले प्रस्तुत पाँच आधारभूत सिद्धान्तलाई व्यावहारिक अभ्यासमा प्रयोग गरेको 
छ ? किमार्थ छैन । त्यसैले स्वतः प्रमाणित गर्छ कि एमाले गुट माक्र्सवादी नभएर पुँजीवादी प्रतिक्रियावादमा पतन भएको घृणित संशोधनवादी गुट हो । 
राज्यसत्तामा पुगेर त्यस राज्यसत्तालाई सर्वहारा क्रान्तिविरुद्ध दुरूपयोग गर्ने अपराधमा एमाले गुटको हजुरबा निकिता ख्रुस्चेभ हुन् । यद्यपि, जोसेफ स्टालिनका पनि अधिभूतवादी कमजोरीहरू थिए । सन् १९१७ को अक्टोवरमा स्थापित सोभियत सङ्घको जम्माजम्मी ६ वर्ष मात्र लेनिनले नेतृत्व दिन पाउनुभयो । यसको अर्थ ख्रुस्चेभजस्ता संशोधनवादीलाई कुनै छुट हुनुपर्छ भन्ने हुँदैन । दोस्रो विश्वयुद्धपछि स्टालिनको निधनसँगै सत्ता हत्याउन पुगेका ख्रुस्चेभको प्रतिक्रान्तिको कारण अन्ततः सोभियत सङ्घ नै विघटन हुन पुग्यो । विश्व सर्वहारावर्गलाई त्योभन्दा ठूलो अरू क्षति के हुन सक्छ ? जुन संशोधनवादी प्रतिक्रान्तिको खलनायक ख्रुस्चेभ बने । नेपालमा एमाले त्यही ख्रुस्चेभ चरित्रमा पतन हुन पुगेको तथ्यलाई नजरअन्दाज गर्नु माक्र्सवाद हुन सक्दैन । 

नेपाली कम्युनिस्ट आन्दोलन र क. पुष्पलाल श्रेष्ठ
सन् १९४९ मा क. पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । जसले तत्कालीन चीनसरह अर्ध–औपनिवेशिक र अर्ध–सामन्ती मूलुक नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा लियो । पार्टी स्थापनाको दुई वर्षमै कुनै बिना ठोस कारण मनमोहन अधिकारी तथा पछि पञ्चभलाद्मी बन्न पुगेका डीपी अधिकारीहरूले पुष्पलाल श्रेष्ठलाई महासचिव पदबाट गलहत्याए । पूर्वमन्त्री अशोककुमार राईअनुसार राजावादी पञ्च भइसकेपछि डीपी अधिकारीले एक अन्तर्वार्तामा बोले, ‘पढे लेखेका बाहुनहरू भटाभट केन्द्रीय समितिमा आयौँ र दश कक्षा मात्र पढेको पुष्पलाललाई महासचिवबाट गलहत्याइदियौँ ।’ 

यसरी चरम जातिवादी संशोधनवादी मनमोहन अधिकारीको अगुवाइमा पुष्पलाल श्रेष्ठलाई गलहत्याइयो । परन्तु, आजीवन रूपमा क. पुष्पलाल नयाँ जनवादी क्रान्तिको पक्षमा दृढ रहे । मोहनविक्रम सिंहद्वारा लिखित ‘गद्दार पुष्पलाल’ पुस्तिकाबाट जुन भ्रम फैल्याइयो, त्यो वस्तुतः मनमोहन अधिकारीकै उग्र जातिवादी लाइन थियो । त्यसको खण्डन गर्दै जनयुद्धकालीन नेकपा (माओवादी) ले ‘इमानदार पुष्पलाल’ भनेर सम्मानित गर्यो । 

संवत् २०१९ मा आइपुगेर तिनै जातिवादी संशोधनवादीहरूले नेपाल कम्युनिस्ट पार्टीको सर्वोच्च पदमा केशरजङ्ग रायमाझीलाई पुर्याउने काण्ड रचे । रायमाझीले सामन्ती राजा महेन्द्रको पाउमा नेपाली कम्युनिस्ट आन्दोलन र आफू समेतलाई सभक्ति समर्पण गरे । तिनै खलनायक केशरजङ्ग रायमाझी एमाले गुटका पिता हुन् । 

एमाले गुटको उत्थान र पतन
फासीवादी हिटलरलाई परास्त गर्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा स्टालिन सोभियत सङ्घको नेतृत्व गर्दै हुनुहुन्थ्यो । त्यही समय सन् १९४९ मा चिनियाँ जनक्रान्ति सम्पन्न भयो । ख्रुस्चेभको संशोधनवादविरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओले महान बहस गर्नुभयो । त्यसको व्यावहारिक अभ्यास १९६६–७६ बीच दश वर्षमा सर्वहारा सांस्कृतिक क्रान्तिका रूपमा गरियो । त्यसबाट भारतीय क्रान्तिकारीहरूमा निकै ठूलो प्रभाव पर्यो । बङ्गालका क. चारु मजुम्दार नेतृत्वमा भारतमा भीषण सशस्त्र किसान क्रान्ति सुरु भयो । भारतका अनेक संशोधनवादी तत्वहरूविरुद्ध लाल विद्रोह गर्दै चारु मजुम्दारले ‘भाकपा (माले)’ गठन गरी क्रान्तिलाई अघि बढाए । त्यही भाकपा (माले) को प्रभावबाट पहिला कोअर्डिनेसन केन्द्र नाम रहेको ‘नेकपा माले’ बन्न पुग्यो । तत्कालीन परिस्थितिमा एमालेको उत्थान यसरी चारु मजुम्दारको प्रभावबाट भयो । 

सीपी मैनाली नेतृत्वमा तत्कालीन माले समूह चारु मजुम्दारको पूरै यान्त्रिक नक्कल गर्न पुगेको तथ्य त्यसको तत्कालीन कार्यनीतिले प्रष्ट गर्छ । भारतीय क्रान्तिमा चारु मजुम्दारले ‘माले’ भने, नेपालमा सीपी मैनालीले पनि ‘माले’ नै । चारु मजुम्दारले नयाँ जनवादी क्रान्ति भने, सीपी मैनालीले पनि त्यही । चारु मजुम्दारले आफ्नो फौजी कार्यनीतिलाई ‘वान मेन, वान स्क्वायड, वान एरिया, वान एक्सन’ भनेका थिए, नेपालमा सीपी मैनालीको माले समूहले पनि त्यही कार्यनीति भन्यो । अतः यसरी तत्कालीन माले समूहले नेपाली विशिष्टतामा नयाँ जनवादी क्रान्ति गर्ने पुष्पलाल श्रेष्ठको सही माक्र्सवादी जोडका विरुद्ध चारु मजुम्दारको अन्ध नक्कल गरे । नक्कल क्षणिक नै हुन्छ, परिणाममा चारु मजुम्दारको अवसानसँगै तत्कालीन माले समूहको नक्कल पनि समाप्त हुन गयो । 

त्यसपछि माले समूहमा हाहाकार पैदा भयो । वस्तुतः निम्न पुँजीवादी रोमान्सको रूपमा उत्थान भएको माले समूहको एक हिस्सा नारायणहिटी दरबारमा साँठगाँठ गर्न पुग्यो । नेपाली काङ्ग्रेसविरुद्ध दरबारले मालेको त्यो हिस्सालाई ढाप माथ्र्यो । वैचारिक राजनीतिक रूपले त्यही भागदौडको क्रममा माले समूहले व्यवहारतः नयाँ जनवादी क्रान्ति त्याग्यो । उता चारु मजुम्दारको नयाँ जनवादी क्रान्तिको चिहान खन्दै संशोधनवादी ज्योति बशु पश्चिम बङ्गाल सरकारको नेतृत्वमा पुगे । पहिला चारु मजुम्दारको अन्धनक्कल गरेका सीपी मैनालीहरू मजुम्दारको हत्यापछि संशोधनवादी ज्योति बशुको दुरुस्तै अन्धनक्कलमा परिणत भए । त्यसरी प्रकारान्तरले माले समूह एमाले हुँदै कम्युनिस्ट पार्टीको खोल ओढेर ज्योति बशुको सक्कली सन्तान बन्न पुगेको छ । अतः एमाले गुटको अर्को संशोधनवादी पिता ज्योति वशु हुन् । 

आश्चर्य, एमालेका रायमाझी र बशु दुई पिता हुन पुगेका छन् । यो वस्तुतः अप्राकृतिक हो र त्यसैकारण एमाले गुटलाई लिंग पहिचान नभएको गुट पनि भन्ने गरिन्छ । 

एमाले गुटको प्रतिक्रियावादीकरण शृङ्खला
१. एकातिर पुष्पलाल श्रेष्ठको नेतृत्वविरुद्ध चरम जातिवादी मनमोहन अधिकारी प्रवृत्तिको निरन्तरता र निम्न पुँजीवादी रोमान्सका कारण वर्गदुस्मन सफाया अभियान चलाएर सामन्तहरूको टाउको गिँड्न पुगेका माले समूह त्यसरी भागदौडमा पुग्नु स्वभाविक थियो । जसले सर्वहारा दृष्टिकोण र व्यावहारिक दृष्टिले माले समूह गठनसँगसँगै वर्गसङ्घर्ष परित्याग गर्यो । माले समूहको चौथो महाधिवेशनले माओ विचारधार परित्याग गर्यो । त्यो केवल औपचारिकता थियो । 

२. गणेशमान सिंहले आँट नगरेको भए त्यसरी संशोधनवादमा पतीत माले समूह ‘जनपक्षीय उम्मेद्वार’को झ्यालबाट पञ्चभलाद्मी भई नै सकेको हो । धन्न, काङ्ग्रेसका गणेशमान सिंहले आँट गरे र पुष्पलाल श्रेष्ठको संयुक्तमोर्चाको बिचार स्वीकार गर्दै सन् १९९० मा संयुक्त जनआन्दोलनको नेतृत्व दिए । परिणाममा पञ्चको दानापानीमा डुबिसकेको माले समूह कुवाको भ्यागुता माटोको डल्लामाथि उफ्रेर गजक्क परेझैँ संसदीय ढोकामा छिर्यो । 

३. माक्र्सवादी आधारभूत सिद्धान्तको कसीमा राख्दा मदन भण्डारी कम्युनिस्ट थिएनन् । परन्तु, उनी एकजना जुझारु जनवादी अवश्य थिए । त्यसैले उनको दासढुङ्गामा हत्या भएको मानिन्छ । तर, पटक–पटक सत्ता नेतृत्वमा पुगेर पनि एमाले गुटले मदन भण्डारीको हत्यारा खोज्ने जाँगर देखाउँदैन । अझ विद्या भण्डारी नै राष्ट्रपति हुँदा पनि दासढुङ्गा हत्याकाण्डको छानविनप्रति बेवास्ता शङ्कास्पद ठहर्छ । टीएन प्रधानको नामबाट मदन–आश्रित हत्या योजनाबारे जनादेश साप्ताहिकमा सीपी मैनालीले खुलाएका तथ्यहरू अन्ततः प्रमाणित हुँदैछन् । 
जसअनुसार दासढुङ्गा हत्याको योजनाकार तथा सञ्चालक खड्ग ओली र माधव नेपाल हुन् । 

४. संसदीय राजनीतिमा आउने अवसर जुटेपछि एमाले गुटले बल्खुमा कार्यालय खडा गर्यो । एमाले नेताहरूको अनेक अनुनय विनयपछि अमेरिकी राजदूत बल्खुमा सवारी हुने भए । साम्राज्यवादी अमेरिकाको राजदूतले नदेखोस् भनेर बल्खु कार्यालयमा झुन्ड्याइएको माक्र्स–लेनिनको फोटो हटाउने निरीह दलालीपन एमाले गुटले प्रदर्शन गर्यो । त्यसबापत अमेरिकालगायतले एमाले गुटलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको राम्रै उपहार दियो । 

५. खासगरी, खड्ग ओलीकै जोडमा एमाले गुटले महाकाली सम्झौता गर्यो । जो राष्ट्रघात थियो भन्ने तथ्य बामदेव गौतमहरूले खड्ग ओली गुटलाई राष्ट्रघाती करार गर्दै एमाले विभाजन गरेबाट प्रमाणित हुन्छ । परन्तु, बामदेवको राष्ट्रवाद अन्ततः खड्ग ओलीकै पाउमा लम्पसार पर्यो । 

६. वीरेन्द्रको वंश विनाश गर्ने हत्यारा ज्ञानेन्द्र शाहको पाउमा एमाले गुटको महासचिव माधव नेपालले सभक्ति दाम चढाए । त्यस्तै कुनै एक कार्यक्रममा कुर्सीमा बसेको ज्ञानेन्द्र शाहको पाउमा रिक्रुटझैं पुसअप गरेको ढाँचामा खड्ग ओली लम्पसार परेको निरिह तस्बिर सामाजिक सञ्जालमा छ्यासछ्यास्ती पाइन्छ । 

७. गोरुगाडामा चढेर अमेरिका पुगिँदैन भन्दै गणतन्त्रवादी आन्दोलनको विरोध गर्ने खड्ग ओली प्रधानमन्त्रीको कुर्सीमा पुगेर ‘हावाहुरी आएर मात्र स्वीकार गर्नुपरेको बाध्यता’ मा सङ्घीयता र समानुपातिक समावेशीकरणप्रति शत्रुता बोलिरहेका छन् ।   

८. नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जीवनसंगिनी तथा वाम नेता साहना प्रधानलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनाउन नेकपा (माओवादी) ले जोड गर्यो । तर, एमाले गुटले साहना प्रधानलाई इतिहासको त्यो सम्मान दिन निर्ममतापूर्वक रोक्यो । 

९. खड्ग ओली नेतृत्वको एमाले गुट थारुवान–मधेसविरोधी हो, भनेर यहाँ लेखिरहनु पर्दैन । आदिवासी जनाजाति, दलित, मुस्लिम तथा मधेसीलाई एमाले गुट ‘जङ्गली स्वाँठ’ नै देख्छ । जसले दिगो शान्ति र राष्ट्रिय एकतामा आघात पुर्याइरहेको छ । एमाले गुटबाट केही जनजाति, मधेसी, दलित मूलका व्यक्तिहरू उपल्लो निकायमा पुर्याइएको नाटक गरिन्छ । वस्तुतः त्यो सामन्ती राजतन्त्रले हिरालाल विश्वकर्मालाई मन्त्री बनाएर सबै दलितहरूको मुक्तिको धमास पिटेबाहेक सामुदायिक प्रगतिमा त्यो बाधक मात्र हुन गएको छ । 
जब कि महान जनयुद्धको धक्काले नेपालका जुनसुकै उत्पीडित जातिलाई मुक्ति र प्रगति खातिर व्यक्ति नभएर समग्र समुदायलाई उठाउनुपर्ने ऐतिहासिक चेतनाबोध गराएको छ । 

१०. संविधान निर्माण खातिर माओवादीले १६ बुँदे सहमति गर्यो । त्यससँगै जोडिएको खड्ग ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमतिमा माओवादीले इमानदारीता प्रदर्शन गर्यो । साथसाथै, संविधान घोषणासभामा क. प्रचण्डले ‘असल छिमेकी बन्न थतयार छौँ, तर हामी कसैको यसम्यान बन्न तयार छैनौँ’ भनेर राष्ट्रिय स्वाभिमान अभिव्यक्त गर्नुभयो । के माओवादीको समर्थन नभए खड्ग ओली सिंहदरबारमा फोटो टाँस्न सफल हुन्थे ? तर, घातक र कृतघ्न एमाले गुटले कथित राष्ट्रियता नामको जस आफ्नो झोलीमा हाल्यो ।

११. प्रथम स्थानीय तह निर्वाचनमा देखाएको हर्कतले एमाले गुटमा ‘कम्युनिस्ट’ त के, न्यूनतम वाम चरित्रसमेत नरहेको प्रमाणित गर्दछ । अचेत मतदातालाई मात्र होइन, एमाले गुटले कर्मचारीलाई समेत खरिदबिक्री गरेको तथ्यहरू छन् । जसरी पनि जित्ने चरित्रलाई कसले वामपन्थी मान्छ ?

१२. स्थानीय तह निर्वाचन परिणाम अनुकूल नै सङ्घीय संसदमा बहुमत ल्याए एमाले गुटले हत्यारा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउँदै जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण उपलब्धिहरू खतम पार्ने षडयन्त्रकारी योजना गरेको छ । राष्ट्रपति विद्या भण्डारीको माध्यमले एमाले त्यस्तो प्रतिक्रान्तिको आधार खडा गरिरहेको छ । 

सङ्घीय गणतन्त्र समाप्त पार्ने प्रतिक्रान्तिसँगै एमाले गुट महान जनयुद्धलाई अपराधीकरण गर्न र जनयुद्ध लडेका माओवादी नेताहरूलाई झुण्ड्याउन बाह्य र आन्तरिक प्रतिकृयावादी शक्तिको तागत सङ्कलन गरिरहेको छ ।   
प्रस्तुत प्रतिक्रियावादी विचार र चरित्रका कारण एमाले गुट स्वतः सिद्ध नेपाली जनताको शत्रु कित्तामा पतन भएको प्रमाणित गर्छ । नेपाली समाजमा वामपन्थीको अर्थ यथास्थितिविरुद्ध विद्रोह बोल्नु, आधारभूत तहका जनताको राज्यसत्ता निर्माण गर्नु र प्रगतिशील दिशामा अघि बढ्नु हो । यीमध्ये एमाले गुटमा लेस चरित्र बाँकी नरहेको हुँदा त्यसलाई वामपन्थी ठान्ने भूल माक्र्सवादीले गर्नु हुँदैन । बरु चरम प्रतिक्रियावादी चरित्रमा पतन भएको एमाले गुटको पहाडिया अन्धराष्ट्रवादको नारालाई अध्यक्ष क. प्रचण्डले ‘अन्ततः हिटलरको राष्ट्रवाद’सँग तुलना गर्नुभएको छ । यो एकदम सही हो । 

एमाले गुटले कसरी लेख्न पाउँछ कम्युनिस्ट पार्टी ? 
माक्र्सवादका पाँच आधारभूत सिद्धान्तको कसीमा भन्नुपर्छ, खड्ग ओली नेतृत्वको एमाले गुटले कम्युनिस्ट पार्टी किमार्थ लेख्न पाउँदैन । त्यसले माक्र्सवाद–लेनिनवाद भन्न पाउँदैन र विश्व कम्युनिस्ट पार्टीको झण्डा हसिया–हथौडा बोक्न पाउँदैन । यदि कम्युनिस्ट पार्टी लेख्न चाहन्छ भने माक्र्सवाद–लेनिनवाद भन्न चाहन्छ भने र हसिया–हथौडाको झण्डा बोक्न चाहन्छ भने एमाले गुटले माक्र्सवादका आधारभूत सिद्धान्तहरू व्यावहारिक अभ्यास गर्न सक्नुपर्छ । के त्यो सम्भव छ ? साम्राज्यवाद र घरेलु प्रतिक्रियावादको चुत्थो नोकर बनिसकेको एमाले गुटबाट त्यो अपेक्षा गर्नु मात्र पनि संशोधनवादी रुझान हुन जान्छ । 

जसरी निकिता ख्रुस्चेभको संशोधनवादले सोभियत सङ्घलाई चिहानमा पुर्यायो, देङ स्याओ पिङले महान सर्वहारा सांस्कृतिक क्रान्तिको घाँटी निमोठे र जसरी पश्चिम बङ्गालका संशोधनवादी ज्योति बशुले चारु मजुम्दार नेतृत्वको चिहान खने, ठीक त्यसरी नै प्रतिक्रियावादमा पतीत संशोधनवादी र चरम अवसरवादी एमाले गुटले नेपाली माओवादी आन्दोलनको चिहान खन्दै छ । संशोधनवाद वस्तुतः पुँजीवादी प्रतिक्रियावाद हो । त्यसैले क्रान्तिकारी माक्र्सवादको चिहान खन्नु त्यसको जन्मजात चरित्र हुन्छ । तब प्रश्न छ, के माओवादी साथीहरू चिहानमा गाडिन तयार हुने ? 

प्रस्तुत शृङ्खलाबद्ध दलाल तथा नोकरशाही पुँजीवादमा पतन भएको एमाले गुटले स्थानीय तह निर्वाचनमा चरम प्रतिक्रियावादी हर्कत गरेर आफूलाई जसरी प्रथम स्थानमा पुर्यायो । यो भनेको माओवादी आन्दोलनको चिहान खन्न प्रतिक्रियावादी एमाले सफल भएको हो । स्थानीय तह निर्वाचन परिणामका आधारमा माओवादी आन्दोलनलाई गाड्ने चिहानको ठूलो खाल्डो एमाले गुटले त्यसरी खनेको छ । अब माओवादी साथीहरूलाई प्रश्न छ, के लासझैँ घिसारिएर त्यो प्रतिक्रान्तिकारी चिहानमा गाडिन माओवादी क्रान्तिकारीहरू तयार छन् ? माओवादी केन्द्र सचिवालय बैठकको निष्कर्ष हो, माओवादीहरू सम्पूर्ण रूपले प्रतिरोध सङ्घर्ष गर्नेछन्, तर एमाले गुटले खनेको चिहानमा पुरिन तयार छैनन् । 

वर्गसङ्घर्षको नियम हो कि क्रान्तिले प्रतिक्रान्ति जन्माउँछ । प्रतिक्रान्तिमाथि विजय प्राप्त गरेर मात्र सर्वहारा क्रान्ति सम्भव हुन्छ । साथसाथै, जसरी संशोधनवादीले क्रान्तिकारीको चिहान खन्छ, ठीक त्यसरी नै माओवादी क्रान्तिकारीले संशोधनवादी गुटको चिहान खन्न र त्यसलाई गाड्न सक्नुपर्छ । नेपाली राजनीतिमा काङ्ग्रेस माओवादी आन्दोलनको रणनीतिक दुस्मन हो भने एमाले गुट कार्यनीतिक दुस्मन हो । त्यसैले काङ्ग्रेसविरुद्ध माओवादीको अन्तिममा मात्र घमासान पर्छ भने त्यसअघि नै एमालेविरुद्ध माओवादीले घमासान लड्न र त्यसलाई माटोमा मिलाउन सक्नुपर्छ । त्यसरी मात्र यहाँ सर्वहारा क्रान्ति सुनिश्चित हुन्छ । 

निष्कर्षमा, अब एमाले गुटले कम्युनिस्ट पार्टी लेख्न पाउँदैन । माक्र्सवाद–लेनिनवाद भन्न पाउँदैन र हसिया–हथौडाको झण्डा बोक्न पाउँदैन । तर, माओवादी केन्द्रको यो सकारात्मक आग्रहलाई नजरअन्दाज गरेर प्रतिक्रियावादी चरित्रमा कम्युनिस्ट पार्टीको बदनाम गर्छ भने एमाले गुटविरुद्ध क्रान्तिकारी जनसमुदाय भौतिक आक्रमणमा उत्रने छन् । त्यसबाट उत्पन्न परिणामको जिम्मेवार संशोधनवादी र अवसरवादी एमाले गुट नै हुनेछ ।

अतः जसरी त्यसको हजुरबा निकिता ख्रुस्चेभ, पिताद्वय केशरजङ्ग रायमाझी र ज्योति बशुको पतन भयो, एमाले गुटको राजनीतिक पतन त्योभन्दा खराब हुनेछ । खाँचो माओवादीको सर्वहाराकरणमा जोड तथा संशोधनवाद र अवसरवादको निर्णायक भण्डाफोरको मात्र हो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ