शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् पाकिस्तानी प्रदर्शनी

बुधबार, २८ भदौ २०७४, १४ : ५९
बुधबार, २८ भदौ २०७४

काठमाडौँ । पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान)को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ । 

नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने ध्येयले आयोजित सो प्रदर्शनीमा विशेषगरी छालाका सामग्री, हस्तकलालगायतका सामग्री छन् । 

यहाँस्थित पाकिस्तानी राजदूतावासले विगत केही वर्षदेखि यस किसिमका मेलाको संयोजन गर्दै आएको छ । नेपाल–पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पाकिस्तान दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापन सदस्य देश हो । 

अर्कोतर्फ यी दुईदेशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय बितिसक्दा पनि व्यापारमा क्षेत्रमा खासै ठूलो हिस्सा ओगट्न सकेका छैनन् । एक तथ्याङ्कअनुसार विगत पाँच वर्षमा दुईदेशका बीचमा वार्षिक चार करोड ८० लाख डलर बराबरको व्यापार भएको थियो । गत वर्ष नेपालले करिब ४५ लाख डलरबराबरको सामान पाकिस्तान निर्यात गरेको थियो । 

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेपालका लागि पाकिस्तानका राजदूत मज्हर जावेदले सो प्रदर्शनीको शुभारम्भ गरेका थिए । 

सो अवसरमा मन्त्री विश्वकर्माले नेपाल र पाकिस्तानबीच दौंत्य सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्न प्रदर्शनीले मद्दत मिल्ने बताए । 

नेपाल सरकारका मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले सार्कको संस्थापक सदस्य हुनाका नाताले दुई देशले व्यापार प्रवद्र्धनलाई बढाउनुपर्ने उल्लेख गरे । 

विगत आठ वर्षदेखि हरेक वर्ष हुँदै आएको सो प्रदर्शनी सात दिन जारी रहनेछ । नेपाल–पाकिस्तान मैत्री समाजका अध्यक्ष हिमालयशमशेर राणालगायतले प्रदर्शनी सफलताको कामना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप