शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आयोगलाई पर्यवेक्षकको सुझाव : प्रधानमन्त्रीले नै आचारसंहिता उलंघन गरेको पुष्टि

बुधबार, २८ भदौ २०७४, १६ : १५
बुधबार, २८ भदौ २०७४

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले निर्वाचन आचारसंहिता उलंघन गरिरहेको पुष्टि भएको छ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा खटिएका पर्यवेक्षकहरुले प्रधानमन्त्री देउवा र मन्त्रीहरु आफैैले निर्वाचन आचारसंहिता उलंघन गरिरहेको रिर्पोट निर्वाचन आयोगलाई बुझाएपछि यसको पुष्टि भएको हो  । 


बुधबार काठमाडौंस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीसँग भेटगरी उनीहरुले सरकार आफैं निर्वाचन आचारसंहिता उलंघनमा लागेकाले त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्न पनि निर्वाचन आयोगलाई सुझाव दिएका छन् । प्रधानमन्त्री र मन्त्रीहरु आफैले निर्वाचन आचारसंहिता उलंघन गरेको पाइएको आम निर्वाचन पर्यवेक्षण समिति ‘जियोक’ का सदस्यसचिव कृष्णमान प्रधानले जानकारी दिए । उनले सरकार आफै निर्वाचन आचारसंहिता उलंघनमा लागेकाले नियन्त्रणका लागि कडा कदम चाल्न निर्वाचन आयोगलाई सुझाव दिनुपरेको पनि स्पष्ट पारे । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भन्दा पनि बढि तेस्रो चरणको निर्वाचनको क्रममा आचारसंहिता उलंघन भएको निर्वाचन पर्यवेक्षकहरुको रिर्पोटमा उल्लेख छ ।


पर्यवेक्षकहरुले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन सरकारलाई अझै सचेत गराउन र आवश्यक परे कडा कानुनी कार्वाही पनि निर्वाचन आयोगसँग आग्रह गरेका छन् । उनीहरुले प्रदेश नम्बर २ को ८ वटै जिल्लाको चुनाव प्रचार–प्रचार अभियानका क्रममा राजनीतिक दलहरुले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न नसकेको पाइएकोतर्फ पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । यता, प्रमुख निर्वाचन आयुक्त यादवले भने सरकार र राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता उलंघन नगर्न आवश्यक दवाव दिन पनि निर्वाचन पर्यवेक्षकहरुको ध्यानाकर्षण गराएका थिए । निर्वाचन आचारसंहिता उलंघन नगर्न दवाव दिन पनि प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गरेको जियोकका सदस्य सचिव प्रधानले जानकारी दिए । 


निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि करिव ३ हजार पर्यवेक्षक टोली परिचालन गरेको छ । पर्यवेक्षकहरुले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा सतर्कता अपनाउन सरकारलाई सचेत गराउन पनि निर्वाचन आयोगसँग आग्रह गरेका छन् । आगामी सोमबार प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचनलाई निर्भयताका साथ सम्पन्न गर्न आवश्यक तयारीको काममा तीव्रता दिइएको निर्वाचन आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप