बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परीक्षाको अन्यौलताले तनावमा त्रिविका विद्यार्थी

वार्षिक परीक्षा दसैँपछि, सेमेस्टर प्रणालीको अनलाइनबाट गर्नेबारे छलफल तीव्र
शुक्रबार, १२ भदौ २०७७, १७ : ५१
शुक्रबार, १२ भदौ २०७७

कोरोना संक्रमण तथा जारी निशेधाज्ञाकाबीच पढाई तथा परीक्षा दिनबाट बञ्चित विद्यार्थीहरु यतिबेला तनाव र चिन्तामा छन् । विश्वविद्यालय तहमा अध्ययन गरिरहेका विद्यार्थीहरु बेला बेला त्रिभुवन विश्वविद्यालले जारी गर्ने सूचनाका कारण पनि अन्यौल र तनावमा छन् ।

विद्यार्थी कर्मा ल्हामो गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भदौमा परीक्षा लिने भनेर त्रिविले सूचना निकाल्यो, विद्यार्थीहरु गाउँबाट फर्किनुप-यो । अहिले फेरी पनि दसैँअघि परीक्षा लिने भनेको छ तर अवस्था यस्तो छ ।’

अर्का विद्यार्थी विनोद ठाकुर त्रिविले परीक्षा गर्न सक्ने हो कि होइन त्यसको स्पष्ट जवाफ दिनुपर्ने बताउँछन् ।

विद्यार्थी मालती गौतमलाई पनि त्रिविका पदाधिकारीले बेला बेला सार्वजनिक गर्ने अभिव्यक्तिले तनाव सिर्जना गरेको छ । अनलाइन वा वैकल्पिक माध्यमबाट परीक्षा लिने त भनेको छ तर त्यसलाई प्रष्ट पारिएको छैन । गौतम भन्छिन्–‘कसरी परीक्षा गर्ने हो ? लिखित परीक्षा लिने हो भने हामीले त्यही अनुसार पढेर तयारी गर्ने थियौँ ।’

विद्यार्थी सुमित्रा घिमिरे भन्छिन्, ‘अब आन्तरिक मूल्याङ्कन गरे पनि हुन्छ । हामी कति स्नातकको परीक्षा छ भनेर तनाव लिएर बस्ने ?  हाम्रो लागि त्रिविले निश्चित निर्णय गर्नुप-यो ।’

विद्यार्थी शिवशंकर मेहेता नेपाली भन्छन्, ‘त्रिविका प्राध्यापक ज्यूहरु हाम्रो परीक्षा हुन्छ कि हुँदैन हामीलाई ठोस जवाफ चाहियो । यस्तो दोधार र त्रुटिपूर्ण सूचना दिएर विद्यार्थीहरुलाई हैरान र तनावमा पार्ने काम नगर्नुस् । गाउँमा वैकल्पिक शिक्षा सम्भव छैन र शहरमा जाने वातावरण छैन । योभन्दा अगाडि पनि भदौमा परीक्षा लिने भनेर सूचना आएको थियो तर त्यो कार्यान्वयन भएन । त्यो सूचना निकालेर पनि हामीलाई निकै तनावमा पार्ने काम गरियो । यदी परीक्षा हुन्छ भने तालिका सार्वजनिक गर्नुस्, हैन भने पहिले कोरोना निर्मूल पार्नुस् अनि परीक्षा देखौँला ।’

गत चैतदेखि यता विश्वविद्यालयका विभिन्न तह र शंकायका परीक्षा रोकिएको छ । परीक्षाका साथै पठनपाठनपनि बन्द छ । असारको दोश्रो साताबाट ४ महिने लामो लकडाउन खुलेपछि त्रिभूवन विश्वविद्यालयले भदौंको दाश्रो र तेश्रो साताबाट लकडाउनका कारण रोकिएका परीक्षा सञ्चालन गर्ने भनेको थियो । तर राजधानीमा कोरोना भाइरसको संक्रमण बढेसँगै गत साउन ३० गतेदेखि भदौ १५ सम्म निशेधाज्ञा जारी भएको छ । यातायात, बजार, व्यवसाय, पठनपाठन, सडकमा हिँड्डुल गर्न समेत प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा परीक्षा नहुने भएपछि त्रिविले विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराउन नसक्ने भएपछि वैकल्पिक विधि अर्थात् अनलाइन विधिबाट परीक्षा लिनेबारे छलफल थालेको छ । केही राजनीतिक विद्यार्थी संगठनहरुले पनि वैकल्पिक विधिबाट पठनपाठन र परीक्षा लिन दबाब दिएका छन् ।

सेमेस्टर प्रणालीको अनलाइनबाट परीक्षा लिनेबारे छलफल

त्रिभूवन विश्वविद्यालयका पदाधिकारीहरु यतिबेला अनलाइन माध्यमबाट कसरी परीक्षा लिन सकिन्छ भनेर छलफलमा जुटेका छन् । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले डिन कार्यालयसँग केही परीक्षा लिन बाँकी छ भने वैकल्पिक माध्यमबाट लिने भन्ने बारेमा छलफल भएको बताए ।

सेमेस्टर प्रणालीको परीक्षा कसरी गर्ने भन्ने कार्ययोजना बनाउने जिम्मा विषय अनुसारको डिन कार्यालयलाई दिइएको उनले रातोपाटीलाई बताए ।

यता मानविकी तथा समाजशास्त्र संकायका पूर्व डिन तथा त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले  लकडाउन खुलेपछि भौतिक रुपमा परीक्षा लिन सकिन्छ कि भनेर निर्णय गरेपनि पछि निशेधाज्ञा लागू भएपनि त्यो सम्भव नभएको बताए । भौतिक रुपमा परीक्षा लिने अवस्था नभएपछि वैकल्पिक विधिबाट कसरी सम्भव हुन्छ भनेर खोजिरहेको भुसालले बताए ।

उनले भने–‘गत चैतयता रोकिएका परीक्षाहरु अन्र्तगत दोश्रो समेस्टरका विद्यार्थीलाई तेस्रो सेमेस्टर पढ्दै गर्नु अहिले परीक्षालाई नहतारिनु भनेका छौँ । उनीहरु पढ्दै गर्छन् । अनलाइन अध्ययनसँगपनि नजिक हुन्छन् । प्रविधिसँग नजिक भएपछि भौतिक रुपमा परीक्षा लिन सकिएन भनेपनि अनलाइनबाट लिन सकिन्छ भनेर अहिले अनलाइन कक्षाहरु सुरु भइरहेको छ । चौथो सेमेस्टरलाई अरु वैकिल्पक उपाय के हुन सक्छ हामी छलफलमै छौँ । मानविकीका ३५ जना विभागीय प्रमुखसँग यही बारेमा छलफलमै छु । हामी केन्द्रले सकेनौँ भनेपनि उहाँहरुलाई अधिकार दिएर सकिन्छ कि वा के गरेर हुन्छ त्यो बारेमा कसरी निकास दिने भनेर छलफल भइरहेको छ ।’

परीक्षा नियन्त्रक जोशीले वैकल्पिक विधि खोज्नुस् भनेर डिन कार्यालयलाई जिम्मेवारी दिइएको बताउदै उपाय खोजेर ल्याएपछि त्यसलाई स्वीकृति दिएपछि मात्रै परीक्षा अगाडि बढ्ने जानकारी दिए ।

अहिले त्रिभुवन विश्वविद्यालयमा झन्डै ४ लाख विद्यार्थी छन् भने स्नातक र स्नात्तकोत्तर गरी सेमेस्टर प्रणालीमा झन्डै १ लाख जति विद्यार्थी छन् । सेमेस्टर प्रणालीबाट अध्ययन गरिरहेका कतिपय क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्न खोजेपनि त्यसमा सबै विद्यार्थी सम्पर्कमा आउन सकेका छैनन् ।

दसैँअघि सबै नभएपनि केही परीक्षाहरु हुनेगरी छलफल अघि बढेको डिन भुसालले बताए । उनले भने–‘सबै एकैचोटी, एकैचरणमा भन्ने जुन मोडालिटी हुन्थ्यो त्यो मोडालिटी परिवर्तन गरेर जहाँ जसरी सम्भव हुन्छ त्यसरी विकेन्द्रिकरण गर्नुपर्छ कि भन्नेबारेमा पनि छलफल भएको छ ।

चार मोडालिटीमा छलफल

कोरोना संकटका बेला कसरी परीक्षा लिन सकिन्छ भनेर विश्वविद्यालयले एउटा टास्क फोर्स बनाएको थियो । जसले ४ वटा विकल्प प्रस्तुत गरेको छ ।

पहिलो : भौतिक रुपमा उपस्थित भई दुरी कायम गरेर परीक्षा लिने । परीक्षा सेन्टरहरु धेरै मात्रामा थप गर्ने ।

दोश्रो : विद्यार्थीहरु जहाँ जहाँ छन् त्यही शिक्षकलाई पठाएर परीक्षा लिने

तेश्रो : अनलाइन माध्यमबाट कसरी सकिन्छ त्यसरी परीक्षा लिने

चौथो : सेमेस्टर प्रणालीमा क्याम्पसहरुले लिएको आन्तरिक परीक्षाको आधारमा मूल्याङ्न गरेर नम्बर दिने

कोरोना संक्रमण बढेपछि भएको निशेधाज्ञापछि गाडी चल्ने अवस्था नभएकोले पहिलो, दोश्रो विकल्प सम्भव नभएकोले अनलाइन विधिबाट पनि कसरी परीक्षा लिने भन्ने बारेमा छलफल भइरहेको उनले बताए ।

शिक्षाध्यक्ष भुसालले भने, ‘कतिपय क्याम्पसमा आन्तरिक परीक्षा भएकोले त्यसलाई औपचारिक दिऊँ भन्ने बारेमा पनि छलफल भएको छ । कतिपय अनलाइनबाटै परीक्षा लिऊँ भन्ने बारेमा पनि छलफल भएको छ । यसरी परीक्षा लिन शिक्षक, विद्यार्थीको संख्या र उनीहरुको सीप हेरेर हुने भयो । सबै विद्यार्थीले अनलाइनमा बसेर छिट्टै टाइप गरेर लेखेर दिन सक्दैनन् । मोबाइल चलाएर सबै प्रश्नको जवाफ दिन सक्ने अवस्था पनि हुँदैन । कसरी जान सकिन्छ भनेर अहिले म मानविकी विभागको ३५ वटा विभागीय प्रमुखहरुसँग छलफलमा छु । सबै डिन कार्यालयलाई कसरी परीक्षा लिने छलफल गरेर प्रस्ताव ल्याउनुहोला, त्यसलाई स्वीकृत गरेर जाँच लिनुपर्छ भन्ने पक्षमा छौँ ।’

तर विषय अनुसार कतिपय विषयको अनलाइन माध्यमबाट परीक्षा लिन सम्भव नभएको भुसाल बताउँछन् । अनलाइनबाट प्रयोगात्क प्रकारका परीक्षा कसरी लिने भन्ने अर्को चुनौती पनि छ ।

उनले भने–‘अनलाइन माध्यमबाट परीक्षा गर्दा सबै विधि एकै ठाउँमा लागू हुँदैन । कुनै विषय मुर्ति कोर्नुपर्ने हुन्छ । कसैको चित्र कोर्ने, कसैको नाँच देखाउनुपर्ने, कतिपयको ल्यावमा जानुपर्ने, फिल्डमा जानुपर्ने हुनसक्छ । कतिपयको रिर्पोट लेख्नुपर्ने हुन्छ । त्यसलाई कसरी सम्भावना हुन्छ अलि लचिलो तरिकाले जाँउ भनेर अहिले हामी त्यो गृहकार्य गरिरहेका छौँ ।’ 

‘सेमेस्टर बाहेकका वार्षिक परीक्षाहरु दसैँ अगाडि हुँदैन’

मानविकी तथा समाजशास्त्र विभागका पूर्व डिन तथा त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले लकडाउनका कारण रोकिएका त्रिवि अन्र्तगतका वार्षिक परीक्षाहरु दसैँअघि सुरु हुन गाह्रो रहेको बताए ।

नियन्त्रक पुष्पराज जोशी पनि त्रिविका अन्य वार्षिक प्रणालीमा हुने परीक्षा दसैँअघि नखुल्ने बताउँछन् । उनले भने–‘सेमेस्टर प्रणालीबाहेक अन्य रोकिएका वार्षिक परीक्षा अहिले सुरु हुने सम्भावना छैन । यसमा ढुक्क हुनुस्, दसैँअघि यी परीक्षा सुरु हुँदैन ।’

भुसालका अनुसार पहिलो प्राथमिकता सेमेस्टर प्रणालीलाई दिने त्रिविको तयारी छ । वार्षिक परीक्षा प्रणालीमा धेरै नोक्सान हुने अवस्था नरहेकोले अर्को वर्षको शैक्षिक सत्र घटाएर पनि मिलाउन सकिने सम्भावना रहेको उनले बताए ।

उनले भने–‘वार्षिक परीक्षा दिने विद्यार्थी अहिले कहाँ छन् ट्रेसिङ गर्न नै सकिएको छैन । कहाँ छन् विद्यार्थी सम्पर्कमा नै आएका छैनन् । सेमेस्टर प्रणालीका विद्यार्थी शिक्षकसँग नजिक हुने भएकोले उनीहरु कहाँ छन् थाहा हुन्छ । तर यो वार्षिक परीक्षा प्रणालीमा त हजारौँ विद्यार्थी भर्ना भएका छन्, क्याम्पसमा पनि उनीहरुको रेर्कड छैन, न फोन गरेर नै भेटिन्छन् । हामीले परीक्षा लिऔँला तर एउटा विद्यार्थी छुट्यो भने अर्को विभेद होला भन्ने डर छ । सबैभन्दा पहिला सेमेस्टरलाई पार लगाउन पाए छुटेका वार्षिक परीक्षा दसैँपछि गर्दा पनि केही बिग्रिदैन । क्षति त केही हुन्छ तर त्यसलाई पूर्ति गर्न सकिन्छ कि भन्नेमा छौँ  ।’

नेकपा निकटको विद्यार्थी संगठनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयहरुमा यस वर्षको शैक्षिक सत्र कायम हुने गरी वैकल्पिक पढाइ र परीक्षा प्रणालीको तयारी सुरु गर्न, अनलाइन तथा वैकल्पिक माधयमबाट कक्षा र परीक्षा प्रणालीको तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित डिन कार्यालय र विभागलाई दिन माग गरेको छ ।

सेमेस्टर प्रणालीको परीक्षा अनलाइन विधिबाट गर्नेबारे छलफल भएपनि कसरी गर्ने भन्नेबारेमा त्रिवि पदाधिकारी निष्कर्षमा पुग्न सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप