शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनको सम्भावित समीकरण : कृष्णको ‘अर्जुन’ बन्लान् त निधि ?

शनिबार, १३ भदौ २०७७, ०९ : १६
शनिबार, १३ भदौ २०७७

काठमाडौँ । ‘भीमसेनजी (भीमसेनदास प्रधान)ले मलाई कहिलेकाहीँ भन्नु हुन्छ, ‘तपाईं महाभारतको सारथि’ भनेर । अर्जुन पाए त सारथि हुनु, अर्जुन कोही नहुने म कताबाट कसका लागि सारथि हुने ? समस्या यहाँ छ ।’ 
गत २९ पुसमा जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्वारा काठमाडौँको बत्तिसपुतलीमा आयोजित कार्यक्रममा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले उल्लिखित कुरा व्यक्त गरेको थिए ।

नेता प्रधानले महाभारतमा कृष्णजस्तो काँग्रेसभित्र सिटौलालाई पनि सारथि बन्न सुझाएपछि उनले यस्तो बताएका थिए । उक्त मञ्चबाटै देउवा र पौडेलको सारथि बन्न आफू तयार नरहेको सिटौलाको उद्घोष थियो । 
‘मलाई देश हाँक्ने अर्जुन चाहियो, जबसम्म देश हाँक्ने सारथि देख्दिनँ तबसम्म कसैको सारथि बन्न आवश्यक छैन,’ सिटौलाको भनाइ थियो ।

महाभारतमा कृष्ण यसरी बनेका थिए अजुर्नको सारथि

महाभारत ग्रन्थका कृष्ण अर्जुन प्रशंग उल्लेख गर्न खोजिएको छ । महाभारतको युद्ध अगावै, कृष्णले कुनै पनि हतियार नउठाउने बाचा गरेका थिए। साथै, भिष्मपितामहले पनि युद्धमा सहभागी भएर अर्जुनको बध गर्ने र कृष्णलाई बाचा तोड्न बाध्य बनाउने बाचा दुर्योधनसँग गरेका थिए। अर्जुन र भिष्मपितामहको घमासान युद्ध भयो। हुन त अर्जुन पनि महावीर योद्धा थिए, तैपनि भिष्मपितामहको अगाडि उनको कुनै सीप लागेन। भिष्मपितामहले हानेको वाणले अर्जुनको कवच तोडेर धनुष पनि भाँचिदियो। भिष्मको क्रोधको अगाडि अर्जुन सहाराविहीन भैसकेका थिए।

त्यसपछि, जब भिष्मले अर्जुनलाई वध गर्नको लागि बाँण उठाए, श्रीकृष्णले सहन नसकी आफ्नो रथबाट उत्रिई रथको पाङ्ग्रा उठाएर भिष्मलाई मार्ने ध्येयले प्रहार गर्न लागे। योदेखि अर्जुनले कृष्णलाई सम्हाल्न प्रयास गरे, तर कृष्णले आफ्नो चेलाको सुरक्षाको लागि जस्तोसुकै बाचा पनि तोड्ने कुरा गरेपछि अर्जुन स्तब्ध भएका थिए।

महाभारतको युद्धको लागि कृष्णको साथ माग्न दुर्योधन र अर्जुन दुवै द्वारिका पुगेका थिए। दुईमध्ये द्वारिका पहिला पुग्ने दुर्योधन थिए। तर, सत्याकीले कृष्ण सुतिरहेको बताएपछि, दुर्योधन र अर्जुन कृष्ण सुतेकै ठाउँ छिरे । कृष्ण सुतेको कोठामा पनि दुर्योधन नै अगाडि छिरे र कृष्णको टाउको भएतर्फ उभ्भिए। अर्जुन चाहिँ कृष्णको पाउतर्फ उभ्भिई दुई हात जोडी प्रणाम गरे।

त्यसपछि कृष्ण आफ्नो निन्द्राबाट उठ्दा आफ्नो अगाडि अर्जुनलाई दुई हात जोडेको देखे । दुर्योधनले आफू पहिला आएको भन्दै कृष्णलाई कौरवहरूको साथ दिनलाई आग्रह गरे। तर कृष्णले मुस्कुराउँदै, सुरुमा अर्जुनलाई देखेका हुनाले पाण्डव र कौरव दुवैको साथ दिनुपर्ने कुरा बताए। फेरि कृष्णले युद्धमा कुनै पनि हतियार नउठाउने वाचा गरेका थिए।

सुरुमा कान्छो व्यक्तिले पालो पाउने धर्मको नियम रहेको हुनाले, कृष्णले सुरुमा पाण्डवहरूको साथ दिने निर्णय गरे। यो निर्णय सुनी अर्जुनले आँखाभरी आँशु लिँदै कृष्णको पाउमा शरण लिन पुगे। यो निर्णय देखि दुर्योधन पनि खुसी थिए। पछि, महाभारत युद्धमा कृष्ण अर्जुनको सारथि बनेका थिए।

पार्टीको आसन्न महाधिवेशन नजिकिँदा सभापति शेबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको तीव्र ध्रुवीकरणलाई तेस्रो धारको नेतृत्वमा आसीन सिटौलाले नियालिरहेको पाइन्छ । 
१४औँ महाधिवेशनपछि पनि आफ्नै नेतृत्वलाई निरन्तरता दिने रणनीतिक योजनाका साथ सभापति देउवा अघि बढेका छन् । तर संस्थापन पक्षबाटै देउवाई चुनौती दिन उपसभापति विमलेन्द्र निधि पनि अघि सरेको अवस्था छ । यता इतरपक्षमा पनि नेतृत्व हत्याउने चर्को होडबाजी छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालाको आकाङ्क्षा पनि चुलिइसकेको छ ।
यता १३औँ महाधिवेशनमा देउवा र पौडेलको विकल्पमा खडा भएका सिटौला समूह पार्टीमा बदलिन सक्ने सम्भावित समीकरणलाई नियालिरहेको छ । त्यसमा पनि उपसभापति निधिको आगामी कदम र रणनीतिमा सिटौला समूहको विशेष चासो देखिन्छ ।


किनभने उपसभापति निधिले सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछि काँग्रेसभित्रको गुटगत समीकरण फेरिने निश्चित छ ।
यता देउवाका लामो समयका सारथि निधि आमुन्ने सामुन्ने हुने अवस्था खडा भए काँग्रेस संस्थापन समूह औपचारिक रूपमा विभाजित हुने छ ।

यता संस्थापन इतरबाट ८ जना नेताले सभापतिमा दावा पेस गरेका बेला निधिको उम्मेदवारले काँग्रेसभित्रको बहस नयाँ दिशामा मोडिएको छ । त्यो दिशामा निधिका सारथि सिटौला बन्न सक्ने सम्भावना पनि बलियो छ । 
त्यसको आधार सिटौला र निधिबीचको एजेन्डागत एकता हो । काँग्रेसमा वर्तमान राज्य व्यवस्थाप्रति निधि र सिटौला एउटै ठाउँमा उभिने गदर्छन् ।
निधिले उम्मेदवारीमा दाबी प्रस्तुत गरेपछि सिटौला समूहका नेताहरुले उनको निवास बानेश्वरमा पुगेर छलफलसमेत गरेका थिए ।
दुई सातादेखि गृहजिल्ला झापामा रहेका सिटौलासँगको सल्लाहमा नेताहरुले निधिसँग भेटवार्ता गरेका थिए ।

निधिको भेटपछि सिटौला निकट एक नेताले रातोपाटीसँग भने, ‘निधि दाइले शेरबहादुर देउवाको लिगेसी ल्याउन सकेको खण्ड वा पावर सेन्टर बन्ने सकेको खण्डमा सिटौला दाइ उहाँसँग जोडिन सक्ने अवस्था बलियो छ ।’ यसबारे थप प्रस्ट्याउँदै उनले थपे, ‘जस्तै दुईवटा कोइरालामध्ये एउटा र प्रकाशमान सिंह निधिसँग जोडिएको अवस्थामा सिटौला दाइ त्यहाँ जोडिन सक्नु हुन्छ । सिटौला दाइ शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग जाने कुरामा इच्छुक हुनुहुन्न । उहाँहरुबाहेक जोसँग पनि सिटौला दाइ पावरसेयरिङ गर्न तयार हुनुहुन्छ ।’ 


सबैलाई मिलाएर पार्टीभित्रको वर्तमान समीकरणमा उथलपुथल ल्याउन निधिका लागि सबैभन्दा बढी अनकुल परिस्थिति रहेको उनको भनाइ छ । 
‘उहाँले काँग्रेसभित्रको ३० प्रतिशत शक्ति जोड्न सकेको अवस्थामा सिटौला दाइ, शेखर र प्रकाशमान पनि जोडिन सक्नुहुन्छ । त्यस्तो अवस्थामा शेरबहादुर दाइको समर्थनमा शशांक दाइ लड्नुभयो भने बाँकी सबैको समर्थनमा निधि दाइ पनि लड्न सक्नुहुन्छ ।’

निधिलाई रामचन्द्र पौडेलले पनि साथ दिनसक्ने उनको अनुमान छ । ‘रामचन्द्र दाइको देउवासँग भएको जस्तो निधि दाइसँग इगो छैन । निधि दाइ काँग्रेसमा पहिलेदेखि निरन्तता भएको मान्छे हुनुहुन्छ । महेन्द्रनारायण निधिको छोरो हो,’ उनले भने, ‘पार्टीभित्र कहिल्यै ग्याप हुनुहुन्न । मधेसी भनेर पनि नेता भएको होइन । आफ्नै मिहिनेत र  निरन्तरताले नेता हुनुभएको हो ।’
अहिलेको अवस्था पार्टीको पक्षमा सोचेर हेर्दा सबैभन्दा राम्रो उम्मेदवार निधि भएको सिटौला पक्षको बुझाइ छ । 

‘कोइराला, देउवा अथवा खस, आर्यकै मात्र सभापति भएको पार्टीमा एउटा मधेसबाट आएको मान्छे सभापति हुनु पार्टीगत हिसाबले ठूलो फाइदा हुने कुरा हो ।’
आफू नहुने अवस्थामा नेताहरुले त्यो ढङ्गले सोच्ने उनको बुझाइ छ । उनले भने, ‘निधि दाइको रिजिटनेस शेरबहादुर दाइबाहेक कोहीसँग छैन । अब उहाँहरु मिले पनि सम्बन्ध शङ्कापूर्ण भयो ।’  
देउवा समूहबाट निधिलाई अगाडि सारेको अवस्थामा कृष्ण सिटौला ‘अर्जुन’को सारथि बन्न तयार हुने सङ्केत देखिएको छ ।


यता निधि निटक एक जना केन्द्रीय सदस्यका अनुसार पनि संस्थापन पक्षबाट दुई जना उम्मेदवार हुने कुुराको अन्दाज गर्न गाह्रो छ ।

‘उहाँले (विमलेन्द्र निधि)ले लड्छु भन्नुभएको छ । पार्टी सभापति मलाई सहयोग गर्नुपर्छ भन्नु भएको छ । महाधिवेशनको अन्तिमसम्म हाम्रो सङ्घर्ष सभापतिको सहयोग र समर्थनमा उम्मेदवारी तय गर्ने हुन्छ । त्यसका पनि उहाँले सर्वसम्मत नेतृत्व चयनका लागि छलफल पनि अगाडि बडाउनुभएको छ । अहिले त्यहीअनुसार छलफलमा हुनुहुन्छ ।’ उनका अनुसार काँग्रेस यतिबेला एभरेज लिडरसिपको अवस्थामा छ ।

उनले भने, ‘यो पपुलर छ । यसले जित्ने पक्का हो भन्ने अवस्था छैन । हामीले एभरेज नेताहरुबाट नेतृत्व छान्नुपर्ने अवस्था छ । पपुलर भनिएका गगन थापाले समेत उमाकान्त चौधरीका हाराहारीमा मत प्राप्त गरे ।’
तर निधिलाई देउवा क्याम्पबाट अलग्याउन नसकिए संस्थापन इतर सबै एक हुँदा पनि देउवालाई पराजित गर्न कठिन हुने सिटौला समूहको बुझाइ छ ।

ती नेताले भने, ‘संस्थापन इतरमा तय हुने गठबन्धन स्वार्थ मिश्रत हुन्छ । निधिजीले विद्रोह नगरेका खण्डमा संस्थापन समूहसँग च्यालेन्ज गर्ने मैले ठूलो चुनौती देख्छु ।’
देउवा निकट एक केन्द्रीय सदस्यले यसलाई सिटौला समूहको रणनीतिक चालका रूपमा अथ्र्याउँछन् । 


उनले भने, ‘देउवा र रामचन्द्रभन्दा दोस्रो जो बलियो देखिन्छ त्योसँग उहाँहरु मिल्ने सोचाइमा हुनुहुन्छ । तेस्रो प्यानलको अलग्गै विचार, संस्कार र सिस्टमका रूपमा उदय भएको होइन ।’
यद्यपि १४औँ महाधिवेशनमा व्यापक समीकरणको सम्भावना रहेको उनको बुझाइ छ । 

उनले भने, ‘जो जहाँ छन्, ती त्यहीँ रहन्छन् भन्ने हुँदैन । नयाँ खालको गठबन्धन हुन सक्छ । मूल रूपमा पुरानो समूह शक्तिशाली हुन्छ । जहाँसम्म शेरबहादुर दाइको क्याम्पको कुरा छ । शेरबहादुर देउवा लडे पनि, विमलेन्द्र निधि लडे पनि अर्को उम्मेदवार लडे पनि एउटा मात्र उम्मेदवार लड्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप