बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना कहरले गरिबको पेटमा लात : चिउरा खाएर सुत्न बाध्य

शुक्रबार, १९ भदौ २०७७, १३ : ४८
शुक्रबार, १९ भदौ २०७७

बुटवल अहिले लकडाउनले सुनसान जस्तै छ । राजमार्गमा अति आवश्यक सवारी साधन मात्र चलेका छन् । भित्री सडकहमा फाट्ट फुट्ट मात्र मोटरसाइकल चलेका छन् । केही अटो रिक्सा पनि चलेका छन् । नगन्य रूपमा मानिसहरू घरबाहिर निस्केका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ बसपार्क इँटाभट्टीको भित्री सडकमा रहेको खत्री मेडिकल हलको छेउमा एउटा ठूलो रूख छ । त्यो रूखको शीलत छायाँमा एक अर्धबैँसे युवा पुराना जुत्ता चप्पल मर्मत गर्न बसेका छन् ।

सडक छेउको रूखमुनि झन्डै ४ महिनादेखि गुल्मी मुसीकोटका ३८ वर्षीय बलराम नेपाली पुराना जुत्ता चप्पल सिलाउने कामका लागि बसेका हुन् ।

कोही मान्छे सडकमा हिँड्यो भने उनका आँखा खुट्टामा जान्छन् । ‘कतै मेरोमा जुत्ता चप्पल बनाउँछन् कि भन्ने आशले टाढासम्म हेर्छु’, उनले बिहीबार दिउँसो रातोपाटीसँग भने ।

उनको त्यो आशा सीधै पेटसँग जोडिएको छ । केही मान्छे जुत्ता चप्पल बनाउन आएनन् भने उनको चुलो बल्दैन ।

हाम्रो समाजमा एउटा भनाइ छ । मुखमा राम र हातमा काम हुनेले कहिल्यै भोकै बस्नुपर्दैन । तर कोरानाले धेरैको काम बन्द गर्नुपरेको छ । मुखमा राम हुने कतै अपराध गर्नेतिर जाने हुन् कि भन्ने आशङ्का छ । कोरोनाको करहले आर्थिक रूपमा धेरैलाई समस्यामा पारेको छ । मूलतः तल्लो वर्गका व्यक्तिहरूलाई पेट पाल्नसमेत समस्या परेको छ । यस्तैमध्येका एक प्रतिनिधि पात्र बुटवलमा जुत्ता मर्मत  गर्ने यी  ३८ वर्षीय बलराम नेपाली हुन् ।

उनी लकडानउभन्दा पहिले जुत्ता उद्योगमा अलराउन्ड काम गर्ने नेपालीलाई कोरोनाले रूखको फेदमा जुत्ता चप्पल मर्मत गर्ने काम गर्ने बाध्यतामा पु¥याएको छ ।

जुत्ता चप्पल बनाउन यो लकडाउनमा को आउला र ? भन्ने प्रश्नमा उनले जबाफ दिए, ‘खासै आउँदैनन्, त्यही भएर केही मान्छे यतातिर हिँडेको देखे आफैले सोध्छु, हजुरको जुत्ता चप्पल केही गर्नु छ कि ?’ भनेर तर मान्छै नै हिँड्दैनन् ।

उनले सुनाए ‘बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म यहाँ बस्दा ४, ५ जना आउँछन् । उनीहरू मेरा भगवान हुन् । उनीहरू आएनन् भने साँझ भोकै सुत्नुपर्छ,’ उनी आफ्नो दुःख पोख्छन् ।

उनको पुख्र्यौली घर बागलुङको सिसाखाल हो । पछि बसाइँ सराइ गरेर गुल्मीको मुसीकोट आए । थोरै जग्गा खान लगाउनका लागि समस्या भएपछि उनी बुटवलतिर झरे । बुटवलको एउटा जुत्ता कम्पनीमा मेसिन मर्मतदेखि जुत्ता निर्माणको सम्पूर्ण काम गरे । २ वर्ष उक्त कम्पनीमा काम गरेपछि अर्को जुत्ता कम्पनीमा अफर आयो अनि त्यहाँ काम सुरु गरे । त्यहाँ काम गर्न थालेको दुई महिनामै कोरोना भाइरसको कारणले मुलुक लकडाउन पर्यो । लकडाउनको असरले कम्पनीमा काम नभएपछि उनको जागिर गुम्यो । अनि बने सडकछाप ।

लकडानउको सुरुमै जेनतेन कमाएको पैसा गुल्मी घरमा श्रीमतीलाई पठाइदिए । गुल्मी घरमा उनकी श्रीमती, आमा, एक छोरी र एक छोरा छन् । लकडाउन भएपछि सुरुमा केही दिनमा खुल्ला नि भन्ने आसमा बुटवल नै बपछि बसेको बसै नै भए ।

कमाइ नभएपछि चिउरा खाएर सुत्न बाध्य  

बुटवलको चौराहामा रहेको लिटिल सु सेन्टरमा उनले दुई वर्ष काम गरे । त्यहाँ धेरै काम सिकेका नेपालीलाई लकडाउन हुनुभन्दा दुई महिना पहिला अर्को जुत्ता कारखानाले बोलायो । कारखानामा उनी अलराउन्डर थिए । त्यहाँ दैनिक ९ सयभन्दा बढी पैसा कमाउँथे । उनी साथीसँगै बुटवल उपमहानगरपालिका वडा नम्बर ९  भीमसेन टोलमा बस्छन् । त्यहाँ मासिक दुई हजार भाडा तिनुपर्ने थियो । उनका साथी पनि घर बनाउने लेबर काम गर्दथे । साथी र उनको आधा आधा खर्चमा खाने बस्ने ठिकै चलेको थियो । बँचेको पैसा घर पठाउँथे । घरमा उनकी छोरी ७ र छोरा ३ कक्षामा पढ्छन् । छोराछोरी र घरखर्चका लागि श्रीमती र आमालाई पनि पैसा पठाउँथे । पहिलो पटक लकडाउन भएको सुरु हुँदा १० हजार पठाएका थिए ।

लकडाउन लम्बिँदै गयो । काम पाएनन् । काम नपाएपछि पैसा आउने कुरा भएन । उनी उनलाई पनि छाक टार्न गाह्रो हुन थाल्यो । जे जानेका  थिए त्यही गर्ने हो भन्दै जुत्ता चप्पल सिलाउनका लागि उनी कोठा नजिकैको रूखमुनि आएर बस्न थालेका हुन् । उनी भन्छन्– साथी पनि बेरोजगार भएपछि कोठा भाडा पनि मैले नै दिनुपर्छ ।

जुत्ता चप्पल बनाउनका लागि मान्छे आउँदा कहिलेकाहीँ २ सयदेखि २५० रुपियाँ जति कमाइ हुन्छ । अहिले दिनको ५, ६ जना मात्रै आउँछन् । कहिलेकाहीँ त्यो पनि हँुदैछ । आज यी ४ बजिसक्यो जम्मा ७० रुपियाँको काम भएको छ । पैसा नभएको दिन २० रुपियाँको दही र चिउरा लगेर खाने अनि सुत्ने गरेका छौँ । अरू खानेकुरा हाम्रो केही छैन, पैसा पनि छैन, कि भोकै सुत्नु पर्छ । सहयोग गर्ने केही पनि छैन ।

कोरोनाले मलाई नै लगे पनि हुुन्थ्यो जस्तो लाग्छ

जताजतै कोरोना त्रास छ । विश्वको जनसङ्ख्यामध्ये आधा मान्छेहरू अहिले घरभित्र  छन् । उनीहरू सबैलाई कोरोनाको डर छ । बुटवलका पनि तेस्रो पटक लकडाउन भएको छ । बुटवल बजार सुनसान जस्तै छ । सडक पनि सुनसान छ । सडकमा केही मान्छे साइकल त कोही पैदल यात्रामा देखिन्छन् ।

उनी एउटा निलो मास्क मुख नाकमा हाइन चिउँडोमा लगाएर बसेका छन् । मलिनो अनुहार  देखाउँदै रूखको फेदमा ५, ६ जोर पुराना जुत्ता, केही जुत्ता सिलाउने धागो राखेर बस्छन् । उनलाई कोरोना सर्ला कि भन्ने डर छैन । काम गर्न पाए हुन्थ्यो भन्ने आसमा छन् । कहिले काहीँ कसैले माग्न दिए लगाउँछन् ।

उनी भन्छन्– ‘मलाई अरूको जुत्ता बनाउन पाइन्छ कि नाइँ, साँझ दाल र चालम किन्न पैसा कमान्छ कि नाइँ भन्ने चिन्ता छ । रोग लाग्नुभन्दा पेट पाल्नु ठूलो छ अरू मेरोको सुन्दा  यस्तो  अभावमा बस्नुभन्दा कोरोनाले मलाई लगे पनि हुन्थ्यो जस्तो लाग्छ कहिलेकाहीँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप