बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको भाकल पूरा गर्न पशुपतिमा सुटुक्क पूजापाठ

शुक्रबार, ३० भदौ २०७४, १४ : ००
शुक्रबार, ३० भदौ २०७४

काठमाडौँ । भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको भाकल पूरा गर्न पशुपतिनाथमा उनका अनुयायीले पूजापाठ गरेका छन् । २ दिन अघि भारतबाट नेपाल आएका उत्तर प्रदेशको आदर्श नगर पञ्चायतका प्रमुख तथा हिन्दु यूवा वाहिनीका नगर संयोजक सतीस वर्मा र आदित्यनाथका सेवक अमित सिंह मोनुले पशुपतिनाथको मन्दिरमा १ सय ५१ नरिवल चढाएर विशेष पूजा गरेका हुन् । 

निर्वाचनका बेला हिन्दु यूवा बाहिनीका नगर संयोजक वर्माले उत्तरप्रदेशको मुख्य मन्त्रीमा आदित्यनाथ विजयी भए पशुपतिनाथको मन्दिरमा १ सय ५१ नरिवल चढाउने भाकल गरेको बताए । उक्त भाकल पूरा भएपछि पशुपतिनाथको मन्दिरमा पूजा गर्न  आएको उनले बताए । पशुपति नाथको मन्दिरमा पूजा गरेपछि उनीहरुले १ सय ५१ नरिवल दुःखी गरिबका लागि वितरण गरेका थिए । 

बुधबार बेलुका काठमाडौं आइपुगेका उनीहरु नगरकोटमा बसेका थिए । नगरकोटबाट आज बिहान पशुपतिनाथको मन्दिरमा बिशेष पूजाको टिकट काटेर पशुपति र बासुकी मन्दिरमा बिशेष पूजा गरेका हुन् । उनीहरुलाई पशुपतिनाथको मन्दिरमा राप्रपाका केन्द्रीय सदस्य निरन्जन थापा लगायतका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।  

आदित्यनाथको नेपाल सम्बन्ध  
हिन्दु कट्टरपन्थी यूवा नेता आदित्यनाथ धार्मिक प्रभावबाट उत्तरप्रदेशको सत्तामा पुगेका नेता हुन् । भारतीय जनता पार्टीबाट प्रतिनिधित्व गर्ने आदित्यनाथ प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा पनि कट्टर हिन्दुबादी नेताको रुपमा चिनिन्छन् । नेपालमा हिन्दुराष्ट्र सहितको राजा रहनुपर्नेमा वकालत गर्दै आएका योगी आदित्यनाथले अहिले पनि विचारमा कायम रहेको उनका सेवक अमित सिंह मोनु र हिन्दु यूवा वाहिनीका नगर संयोजक सतीश वर्माले बताए । 

नेपाल हिन्दु राष्ट्र बनाउन आदित्यनाथले अहिले पनि सहयोग गरिरहेको तर त्यसका लागि नेपालीहरु नै सक्रिय हुनुपर्ने उनीहरुले बताए । नेपाल राजा सहितको हिन्दु राष्ट्र भएको आदित्यनाथले देख्न चाहेको उनीहरुले बताए । उत्तर प्रदेशको मुख्यमन्त्री बन्नुअघि आदित्यनाथ नेपालमा भएका हिन्दु सभा समारोहहरुमा उपस्थित हुने गर्दथे । गएको बर्ष कार्तिकमा नेपालमा भएको विश्व हिन्दु महासंघको कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएका थिए । 

क्रिश्चियन र मुश्लिमप्रति कडा रबैया देखाउने आदित्यनाथले आफ्नै नेतृत्वमा हिन्दु यूवा बाहिनी दस्ता समेत स्थापना गरेका छन् । हिन्दु साम्प्रदायीक दस्ता निर्माण गरेको भनेर उनको आलोचना पनि हुने गरेको छ । उनले सन् २००९ मा गौहत्यामाथि कानुनी रोक लगाउन प्रस्ताव गरेका थिए । उनले भारतमा क्रिश्चियन धर्म परिवर्तन बढेको भन्दै धर्म परिवर्तनमा निषेध गर्ने कानुन बनाउन माग गरेका थिए । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मुश्लिमहरुलाई निषेध गरेको बिषयलाई स्वागत गरेका उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले उत्तरप्रदेशमा रहेका ४ करोड मुस्लिमको भावनामाथि चोट पु¥याएको आरोप समेत छ । उनले हरेक मस्जिदमा भगवानको मुर्ति स्थापना गर्ने भाषण समेत दिएका कारण उनलाई हिन्दु अतिवादी नेताको रुपमा समेत चित्रित गरिन्छ । 

नेपालमा खासगरी राजाबादी र हिन्दुवादीसँग उनको नजिकको सम्बन्ध रहेको छ । उपयुक्त समयमा उनी आफैले पनि पशुपतिनाथ मन्दिरमा पूजापाठका लागि आउने अमित सिंह मोनु र सतीस बर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप