शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधान दिवसबारे जसपा नेपालमा अन्योल : कालो दिवस मनाउने कि दीपावली गर्ने ?

शुक्रबार, ०२ असोज २०७७, ११ : ४६
शुक्रबार, ०२ असोज २०७७

काठमाडौँ । असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । सरकारले संविधान दिवस मनाउनका लागि आवश्यक तयारी गरिसकेको छ । तर प्रदेश २ सरकारको नेतृत्व गर्दै आएको जसपा नेपालमा भने असोज ३ गतेलाई कसरी मनाउने हो भन्नेमा अन्योलता देखिएको छ ।

नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउँदै आएका तत्कालीन मधेसवादी दलहरुसहित विभिन्न राजनीतिक शक्ति मिलेर अहिले जसपा नेपाल नामक राजनीतिक दल बनेको छ । विभिन्न राजनीतिक शक्तिबीच एकीकरण भएर बनेको सो पार्टीका केही राजनीतिक हाँगाले विगतमा असोज ३ लाई कालो दिवसका रुपमा मनाउने गरेका थिए । केहीले तटस्थ रहने र केहीले संविधान अपुरो रहेको बताए पनि त्यसको स्वामित्व लिँदै आएका थिए । त्यसैले पनि यसपटक जसपा नेपालले संविधान दिवसलाई कसरी मनाउने हो भन्नेबारे चासो बढेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कालो दिवस मनाउने कि खुशियाली मनाउने भन्ने बारेमा पार्टीमा कुनै निर्णय नभएको बताए । उनले भने, ‘पार्टीको बैठक बसेर त्यसको बारेमा निर्णय लिनेछ, त्यसपछि मात्र केही भन्न मिल्छ ।’

नयाँ संविधानको विरोधमा आफूहरुले कहिल्यै पनि कालो दिवस नमनाएको दावी गर्दै उनले भने, ‘यसपाली पनि न कालो दिवस मनाउँछौँ, न त दीपावली नै गर्छौँ ।’ यद्यपि यस विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको उनले बताए ।

संविधान संशोधनका लागि आफूहरुले सरकारलाई दवाव दिइरहेको र आफ्ना माग पनि यथावत रहेको उनले प्रष्ट पारे । संविधान जारी भएपछि मधेस आन्दोलनमा होमिएका राजनीतिक शक्तिमात्र नभइ संविधान निर्माणमा सहभागी डा.बाबुराम भट्टराई लगायतको राजनीतिक समूह पनि जसपा नेपालमै रहेका कारण यसपाली संविधान दिवसका दिन दीपावली गर्ने या कालो दिनका रुपमा मनाउने भन्नेबारे जसपा नेपालमा अन्योल देखिएको हो ।

अध्यक्ष यादव संविधानप्रति डा.बाबुराम भट्टराईको पनि असहमति रहेको बताउँछन् । त्यसैले पनि संविधान दिवसका दिन खुशीयाली मनाउने कुरा नरहने उनको भनाइ छ ।

जसपा नेपालका वरिष्ठ नेता डा.भट्टराईले पनि असोज ३ गतेलाई कसरी मनाउने भन्ने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताए । संविधान संशोधनका लागि आफूहरुले दवाव दिने, संविधानमा देखिएको त्रुटिलाई कसरी सच्याउने भन्ने बारेमा बोल्ने तर असोज ३ लाई कालो दिवसकै रुपमा नमाउने उनले प्रष्ट पारे । ‘संविधान पूर्णरुपमा त्रुटिपूर्ण छैन,’ उनले भने, ‘धेरैजसो कुरा सकारात्मक रहेकाले कालो दिवस मनाउन हुँदैन ।’

समाजवादी पार्टीसँग एकीकरण गरेको राजपा नेपालले भने यसअघि प्रत्येक असोज ३ का दिन कालो दिवस मनाएको छ । तर यसपटक के गर्ने भन्नेमा ती दलका नेताहरु पनि अन्योलमा छन् । तत्कालीन राजपा नेपालका महासचिव एवं प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले राजपा नेपालले प्रत्येक साल कालो दिवस मनाउँदै आएको तर यसपटक समाजवादी पार्टीसँग एकीकरण भएपछि बनेको जसपा नेपालले के गर्ने भन्ने निर्णय अहिलेसम्म नआएको बताए । यद्यपि आफू व्यक्तिगत रुपमा असोज ३ का दिनलाई कालो दिवसको रुपमा मनाउने पक्षमा रहेको उनले बताए ।

तत्कालीन समाजवादी पार्टीले संविधान दिवसबारे तटस्थ बस्ने निर्णय गरे पनि प्रदेश २ मा कालो दिवस मनाउने गरेको थियो । तर यसपटक के गर्ने भन्नेमा नेताहरुमा अन्यौल देखिएको छ ।

तत्कालीन समाजवादी पार्टीका प्रदेश २ का अध्यक्षसमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव पनि पार्टी निर्णयको पर्खाइमा छन् । असोज ३ गते कालो दिवस मनाउने कि नमनाउने भन्ने विषयमा पार्टीको कुनै निर्णय नआएको उनले बताए । उनले आफूहरु पार्टीको निर्णयको पर्खाइमा रहेको पनि बताए ।

२०७६ मा पनि तत्कालीन समाजवादी पार्टीले संविधान दिवस वहिष्कार गरे पनि कालो दिवस मनाएन । पार्टीले नै कालो दिवस या संविधान दिवस, केही नमनाउने निर्णय गरेको थियो । तैपनि ती दलका केही नेता तथा कार्यकर्ताले तराई मधेशमा असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाएका थिए । तर त्यसमा केन्द्रीय तहका नेताहरु सहभागी थिएनन् । तर राजपा नेपालले मधेशभरि कालो दिवस मनाएको थियो ।

प्रदेश २ सरकारले के गर्छ ?

विगतमा संविधान दिवस उत्साहपूर्वक नमनाएको प्रदेश २ सरकारले यसपटक के गर्छ भन्नेबारेमा चासो बढेको छ । प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले कालो दिवस नमनाउने तर संघीय सरकारले गरेको निर्णय जस्तो उत्साहपूर्वक पनि संविधान दिवस नमाउने बताए ।

आफूहरुको माग अनुसार संविधान संशोधन नगरेका कारण धुमधामका साथ संविधान दिवस नमनाउने उनको भनाइ छ ।

२०७२ असोज ३ गते संविधान जारी हुँदा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल आन्दोलनमा थियो । मधेशमा आन्दोलन चलिरहेकै बीचमा संविधान जारी भयो । संविधान जारी भइसकेपछि फोरम नेपालसहित मधेशका अन्य दलले संविधान संशोधनको माग राख्दै आन्दोलन शुरु गरे । २०७३/७४ सालमा मधेशका सम्पूर्ण दलले विरोधस्वरुप असोज ३ लाई कालो दिवसको रुपमा मनाए । तर २०७५ सालमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (मधेशी जनअधिकार फोरम नेपालबाट बनेको दल संघीय समाजवादी फोरम नेपाल) सरकारमा सहभागी भयो । सरकारमा सहभागी भएका कारणले सो पार्टीले कालो दिवस नमनाउने निर्णय गर्यो ।

पार्टीले कालो दिवस नमाउने निर्णय गरे पनि प्रदेश २ कमिटीले विरोधस्वरुप असोज ३ गते कालो दिवस मनाएको थियो । त्यतिबेला फोरम नेपालका प्रदेश २ का पार्टी अध्यक्ष रेणु यादव थिइन् । उनले पार्टीको निर्णय विपरीत कालो दिवस मनाउँदा पार्टीले उनीसँग स्पष्टीकरण सोधेको थियो ।

२०७४ को निर्वाचनपछि केपी शर्मा ओली नेतृत्वको सरकारलाई तत्कालीन राजपा नेपालले पनि समर्थन गरेको थियो तर सरकारलाई समर्थन गरे पनि त्यो दलले असोज ३ लाई कालो दिवसको रुपमा मनाउने गथ्र्यो ।

२०७६ मा पनि तत्कालीन समाजवादी पार्टीले संविधान दिवस वहिष्कार गरे पनि कालो दिवस मनाएन । पार्टीले नै कालो दिवस या संविधान दिवस, केही नमनाउने निर्णय गरेको थियो । तैपनि ती दलका केही नेता तथा कार्यकर्ताले तराई मधेशमा असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाएका थिए । तर त्यसमा केन्द्रीय तहका नेताहरु सहभागी थिएनन् । तर राजपा नेपालले मधेशभरि कालो दिवस मनाएको थियो ।

अहिले जसपा नेपालमा विगतमा संविधान दिवसलाई कालो दिवस मनाउने राजनीतिक शक्तिदेखि लिएर संविधान जारी गर्न सामेल राजनीतिक शक्ति, संविधान दिवस पनि नमनाउने र कालो दिवस पनि नमनाउने राजनीतिक शक्ति समेतको समिश्रण छ । पछिल्लो समय जसपा नेपालले आफूलाई राष्ट्रिय पार्टीको रुपमा परिचय गराईसकेको छ । त्यसैले जसपा नेपालले संविधान दिवसको दिन कालो दिवस मनाउने सम्भावना धेरै कम रहेको सो पार्टीका नेता–कार्यकर्ता बताउँछन् । यद्यपी सो दलका तल्लो तहका नेता तथा कार्यकर्ताले असोज ३ गते आफ्नो हिसाबले मनाउन सक्ने जानकारहरु बताउँछन् ।

मधेश मामिलाका जानकार विजयकान्त कर्णले जसपा नेपालले असोज ३ को दिनलाई कालो दिवसको रुपमा सम्झिनु पर्ने बताए । पटक पटक सरकारलाई दबाब दिँदा पनि संविधान संशोधन नहुनु, आन्दोलनकै अवस्थामा संविधान निर्माण हुनु, आदिवासी जनजाति, मधेशी, पिछडा वर्गलगायत सीमान्तकृत समुदायको अधिकार संविधानमा सुनिश्चित नभएको कारणले असोज ३ लाई विशेष ढंगले विरोध गर्नुपर्ने उनले बताए ।

उनले नागरिक स्तरबाट असोज ३ लाई कालो दिवसको रुपमा मनाउने तयारी भइरहेको बताए ।

(प्रदेश २ बाट किरण कर्णको सहयोगमा तयार पारिएको)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप